Logo

प्रमुख समाचार

अभियन्ताको ‘जिरो ग्राउण्ड’



सन २०११ मा भारतका मुर्धन्य अभियन्ता अन्ना हजारेले भ्रष्टाचारविरुद्ध अभियान छेडे । हजारेको अभियानले भ्रष्ट नेता र कर्मचारीको नीदहराम गरिदियो । उनकै मागलाई ध्यानमा राखेर भ्रष्टाचार छानबिन गर्न सजिलो हुने लोकपाल र लोकायुक्त कानून बन्यो । हजारे यो कानून निर्माण गर्न करिव दुई महिना लामो सत्याग्रह वसेका थिए । उनको यो अभियानलाई भारतभर समर्थन भयो । त्यतिबेला हजारे ७३ वर्षका थिए । किसन वापट बाबुराव हजारे अर्थात अन्ना हजारेको नक्कल विश्वभरका अभियन्ताले शुरु गरे । नेपालमा पनि यहि वर्ष डा. गोविन्द केसीले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अभियान थालेका थिए ।

दिल्लीमा भएको हजारेलाई साथ दिन समर्थकको यो भीडमा एक जोशिला युवा सामेल भए । उनले हजारेलाई पुरापुर साथ दिए । ति युवा थिए, अरविन्द केजरिवाल । केजरिवाल राजनीतिशास्त्रका विद्यार्थी हुन् । उनले सुचनाको हकको लागि आन्दोलन गर्दे आएका थिए । रमन म्यागासेसे पुरस्कारबाट पुरस्कृत केजरिवाल मेकानिकल इन्जिनियर पनि हुन् । त्यो बेला हजारे र केजरिवालको प्रयासले दिल्लीका भ्रष्ट नेताहरु, ठेकेदारहरु, उच्च कर्मचारीहरु भागाभाग गर्न थाले । हजारेकै साथबाट केजरिवाल राजनीतिमा हाम फाले । उनले आमआदमी पार्टी खोले । सन २०१३ को विधानसभा चुनावमा उनले चर्चित नेतृ शिला दीक्षितलाई हराए ।

अहिले ५१ वर्ष पुगेका केजरिवाल सन् २०१५ देखि दिल्लीको मुख्यमन्त्री बनेका छन् । उनले २०२० सम्म मुख्यमन्त्रीको शासन गरिरहनेछन् । दिल्लीका शताब्दीऔंदेखिका समस्यालाई उनले हल गर्ने प्रयास गरे । खानेपानी सुविधा, कर, शिक्षा, स्वास्थ्यमा उनले आमुल परिवर्तन ल्याए । दिल्ली राजधानी भएकोले यहि राज्यबाट भारतको शासन चल्ने भएकोले केन्द्रका धेरै नेतालाई उनले भ्रष्टाचार अभियोगमा मुद्दा चलाउन थाले । केजरिवालको पहलमा सत्तारुढ दल भाजपाका नेताहरुविरुद्ध मुद्दा चल्न थाल्यो । प्रधानमन्त्री नरेन्द्र मोदीलाई केजरिवालले घुस्याहा र पागलको संज्ञा दिएपछि बिश्वभर यसले चर्चा पायो ।

दिल्लीका केजरिवाललाई प्रवुद्ध पाका उमेरका देखि तन्नेरी सबैले नेता मान्न तयार भएकै हुनाले आमआदमी पार्टी राज्य सञ्चालक बन्न सकेको हो । इमरान खानको पार्टी निर्माण भएको पनि पुराना र खारिएका नेताहरुकै सहयोगबाट हो । युवाहरुको साथ र अनुभवीको सल्लाहले हरेक अभियान होस वा पार्टीले उचाई प्राप्त गरेका छन् । नेपालमा पछिल्लोपटक अभियानमा लागेका ब्यक्तिहरुले एकको अर्काको अस्तित्व र महत्वलाई स्वीकार गर्न नसक्दा टुटफुटमा छरिएको हो ।

अभियन्ताबाटै देश हाँक्न सफल अर्का ब्यक्ति हुन्, युक्रेनका चर्चित हास्यकलाकार वोल्डामिर जेलेन्स्की । जेलेन्स्की ४१ वर्षीय युवा कलाकार हुन् । यहि वर्ष २०१९ मा युक्रेनको राष्ट्रपति चुनावमा उनले भारी मत ल्याएर चुनाव जिते । उनी कुनै राजनीति पृष्ठभूमिका ब्यक्ति होइनन् । उनले धेरै वर्षदेखि टेलिभिजन शो कार्यक्रम चलाउँथे । यहि कार्यक्रमबाट उनका लाखौं समर्थक भए । समर्थकहरुले उनलाई राजनीतिमा आउन अनुरोध गरे । उनको टेलिभिजन कार्यक्रम २ सय शोभन्दा बढी पटक प्रशारित भएपछि उनी राजनीतिमा हामफाले । कमेडियन जेलेन्स्की फिल्म निर्माता र निर्देशक पनि हुन् । उनको यहि स्वभावका कारण लाखौं युक्रेनी युवायुवतीहरु उनका समर्थक भए । उनले राजनीतिलाई पेशा नबनाई स्वयंसेवा गर्ने घोषणा गरेपछि अन्य दलका वरिष्ठ नेताहरुले पनि उनलाई साथ दिए । पेशाले कलाकार रहेका जेलेन्स्कीको एक स्वंयसेवा अभियान अहिले युक्रेनको राष्ट्रपति पदमा विराजमान हुन पुगेको छ ।

पछिल्लोपटक युक्रेन राजनीति खिचातानी, आन्तरिक द्वन्द्व, बाह्य हस्तक्षेप र सशस्त्र समूहको अपराधले थिलोथिलो परेको छ । २०१६ मा युक्रेनको क्रिमिया राज्य जनमत संग्रहको आधार देखाएर रुसले आफ्नो देशमा गाभेपछि चर्किएको छिमेकी द्धन्द्ध अझै सेलाएको छैन । विविध कारणले युक्रेनमा राजनीति ब्यबस्था अस्थिर हुन पुग्यो । यहि विकल्पमा उदाए जेलेन्स्की । जेलेन्स्की राजनीति नेता थिएनन् । कलाकार थिए । अभियन्ता वनेर काम गरे । अहिले युक्रेनको राष्ट्रपति बने ।

पाकिस्तानी क्रिकेट इमरान खान चर्चित क्रिकेटर थिए । सन् १९९२ मा उनी पाकिस्तानी क्रिकेट टिमको कप्तान वने । यहि वर्ष पाकिस्तानले क्रिकेटमा विश्वकप जित्यो । इमारानको वाहीवाही विश्वभर फैलियो । पाकिस्तानी जनता घृणा, अपराध र संकुचन सामाजिक चरित्रका कारण दिक्क थिए । शिक्षित र स्वतन्त्र युवायुवतीहरु सामूदायिक र साम्प्रदायिक अपराधबाट टाढा हुन चाहन्थे । उदारताका हिमायती बनेका युवा क्रिकेटर इमारानले त्यतिबेला स्वास्थ्य क्षेत्रको सुधारका लागि अभियान चलाए । उनि क्रिकेट र सामाजिक अभियानमा एक साथ लागे । सन् १९९९ मा उनले लाहोरमा पहिलो अस्पताल स्थापना गरे । उनको अस्पतालमा गरिब बिपन्नलाई निशुल्क उपचारको व्यवस्था गरियो ।
आफू जन्मेको शहर लाहौरका युवाहरुले सन् १९९५ मा इमरानलाई राजनीतिमा आउन आग्रह गरे । अपराध र आतंकले देश तहसनहस हुन लागेको लाखौं युवाले इमरान समक्ष जाहेर गरे । सरकार चलाउने नेताहरुको भ्रष्टाचार र सरकार बाहिर भएका नेताहरुको आतंकले देश सकिन लागेको देखेर इमरान खान राजनीति क्षेत्रमा पाइला चाल्ने निधो गरे । देशका उदार, प्रजातन्त्रप्रेमी र शिक्षित जमात भेला गरेर इमरानले सन १९९६ मा पाकिस्तान तहरिक–ए–इन्साफ नामक पार्टी खोले । यो पार्टीले देशका विभिन्न सामाजिक क्षेत्रमा काम गर्दे गयो ।

पछि सन् २०१५ मा इमरानले पाकिस्तानको पेशावर शहरमा दोस्रो अस्पताल खोले । लाखौं पाकिस्तानका गरिब जनतालाई उनले स्वास्थ्य उपचारको सुविधा दिलाए । इमरानले आफ्नै खर्चमा आतंकबाट पिल्सिएका ग्रामिण क्षेत्रका दुई हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृतिमा पढाउने घोषणा गरे । उनले यो अभियानमा छात्रभन्दा छात्रालाई ठुलो प्राथमिकता राखे । देशभरका छोरीलाई कम्तीमा पनि अनिवार्य स्नातक तह पढाउने अभियान थाले । यस्तै उदारताका कामले गर्दा इमरानलाई पाकिस्तानी लाखौं युवायुवतीको साथ मिल्दै गयो । कट्टर जड्ता, अन्धविश्वास, अपराध, आतंक र भ्रष्टाचारले खोक्रिएको पाकिस्तानमा इमरानको उदयलाई त्यहाँका जनताले भविस्यदाताको रुपमा चित्रण गर्न थाले । सन् २००२ मा उनी राष्ट्रियसभा सदस्यमा चुनाव लडे । २०१३ मा उनि संसदमा निर्वाचित भए । यहि वर्ष उनको दलले पाकिस्तानमा दोस्रो स्थान पायो । उनको दलले उत्तर–पश्चिम केहि राज्यमा शासन गर्न थाल्यो । विस्तारै उनको पार्टी पिटिआईले पाकिस्तानमा बलियो पकड राख्न थाल्यो । सन् २०१८ को आम निर्वाचनमा उनको दल शक्तिशाली बन्यो । यहि वर्ष अगष्ट १८ मा इमरान पाकिस्तानको २२औं प्रधानमन्त्रीमा निर्वाचित हुन पुगे ।

इमरानले प्रधानमन्बी भए लगत्तै सरकारी सेवा सुविधा कटौती गरे । दुई तिहाई भन्दा बढी सरकारी सुरक्षाकर्मी हटाए । भ्रष्टाचारविरुद्ध कानुनी कारवाहीलाई तीव्रता दिए । आतंक र सामाजिक घृणामा लागेका ब्यक्तिलाई पक्राउ गर्न थाले । उनि अहिले जनतामा लोकप्रिय छन् । तर, उनका बिरोधी समूहले इमरानलाई वदनाम गराउन अनेक हथ्कण्डा अपनाउन थालेका बिषय सार्बजनिक भएका छन् । उनको लोकप्रियतालाई ध्वस्त वनाउन पाकिस्तानका विभिन्न दलहरु र आतंकवादी समूहहरु सक्रिय वनेका बिभिन्न घटना बाहिर आएका छन् ।

नेपालमा चलेका अभियान

माथि उल्लेख गरिएका अभियन्ता पात्रबाट हाम्रा लागि पनि केहि पाठ बन्न सक्छ । जुन ब्यक्तिहरु माथि त्यहाँका जनताको पुरा भरोसा थियो र अझै विश्वास छ । नेपालले राजनीति परिवर्तनका धारहरु वदल्दै गर्दा धेरै दलहरु जन्मिए । दलहरुले देशको नेतृत्व पनि गरे । दलकै नेतृत्वले देश यहाँसम्म आएको हो । पछिल्लोपटक हाम्रो राजनीति छाँयामा पनि अभियन्ताहरु जन्मिरहेका छन् । जब देश दरिद्रको चपेटा पर्छ, अनि जनताले विकल्प खोज्छन् । चाहे भारतका केजरिवाल होस, वा युक्रेनका जेलेन्स्की वा पाकिस्तानका इमरान हुन् । उनिहरुले के कति राम्रो काम गर्न सके त्यो अर्को पाटो हो । तर, जनताले भरोसा राखेका ब्यक्तिलाई सफल बनाई छाड्छन् भन्ने यी केहि उदाहरण हुन् ।

हाल चलेका अभियानका नेतृत्वले आफ्नो धरातल भेउ पाउन सकेका छैनन् । यहि वास्तविकता नबुझ्दा छोटो अवधिमै फुट्ने क्रम बढेको छ । राजनीति दल निर्माण हुन केहि समय लाग्छ । दल भित्र नेतृत्वको प्रणाली हुन्छ । पदीय मर्यादा कायम हुन्छ । हामी नेताहरुलाई जति आलोचना गर्न सिपालु छौं, आँफै उदाहरणीय बन्न सकेनौं । संगठन निर्माण गर्न र संचालन गर्न कति कठिन हुने रहेछ भन्ने पाठ नसिकेसम्म यस्ता अभियान पानीका फोका बनेर विलाएर जाने निश्चित छ ।

जनताका लागि काम गर्ने गतिशिल गतिविधि नै अभियान हो । यो पूर्णत जनता केन्द्रित हुनुपर्छ । नेपालमा २०६३ सालपछि एउटा लहर आयो । नागरिक अगुवाका नाममा धेरै व्यक्ति वाहिर आए । सुन्दरमणि दीक्षितदेखि देवेन्द्रराज पाण्डेहरुका समूह नागरिक अगुवाका रुपमा निकै चर्चामा आएका थिए । विस्तारै अभियन्ताका रुपमा बिभिन्न ब्यक्तिहरु मैदानमा देखिए । पछिल्लोपटक नेपालमा चर्चित अभियान डा. गोविन्द केसीले गरिरहेका छन् । २०७० सालपछि सामाजिक अभियानलाई अगाडी बोकेर उज्वल थापाको नेतृत्वमा विवेकशील पार्टी जन्मियो । पछि बीबीसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्र पनि सामाजिक अभियानमा सक्रिय बने । दुवैको अभियान मिलेर विवेकशिल साझा पार्टी वन्यो । तर, छोटो समयमै टुक्रिएर अहिले अलग भइसकेका छन् ।

नेपालमा एक दर्जन बढी अभियानका नाममा विभिन्न समूह सक्रिय छन् । वकिल, चिकित्सक, प्राध्यापक, पत्रकार, उद्यमी, व्यापारी र सर्वसाधारणहरु अभियन्ता बनेका छन् । केहि दिनअघि एउटा अभियान समूहले आफ्ना एक सदस्य अभियन्तालाई निस्काशनको घोषणा गर्यो । निस्कासन गर्नेहरु वकिल थिए । निस्किएका जोसिला युवा थिए । तिनै युवाको पछि हजारौंको भीड थियो । वकिलहरुका पछाडी जनता थिएनन् । यो समूह पछिल्लोपटक केहि चर्चामा पनि आयो । अर्को एउटा अभियान ‘जरो किलो’ले निर्वाचन आयोगमा दल दर्ता गरिसकेको छ । यसरी अभियान सञ्चालनदेखि दल दर्ताको प्रक्रियामा नेपालका अभियन्ता खटिएका छन् ।

हाल चलेका अभियानका नेतृत्वले आफ्नो धरातल भेउ पाउन सकेका छैनन् । यहि वास्तविकता नबुझ्दा छोटो अवधिमै फुट्ने क्रम बढेको छ । राजनीति दल निर्माण हुन केहि समय लाग्छ । दलभित्र नेतृत्वको प्रणाली हुन्छ । पदीय मर्यादा कायम हुन्छ । हामी नेताहरुलाई जति आलोचना गर्न सिपालु छौं, आँफै उदाहरणीय बन्न सकेनौं । संगठन निर्माण गर्न र संचालन गर्न कति कठिन हुने रहेछ भन्ने पाठ नसिकेसम्म यस्ता अभियान पानीका फोका बनेर विलाएर जाने निश्चित छ । जनताले अझै पनि प्रश्न गर्छन्, ‘पद नपाईन्जेल हो, भ्रष्टाचारको विरोध गर्ने अरुको आलोचना गर्ने । जब पद र पैसा मिल्छ, अनि सबै उस्तै त हुन् नि ।’ यो जनताको आरोपलाई वर्तमानका अभियानकर्ताले चिर्न सकेनन् ।

यसका खास केहि कारण छन् । एकले अर्कोको नेतृत्व स्वीकार गर्न नसक्नु, क्षमताका आधारमा पद बाँडफाँड नगर्नु र कुनै न कुनै शक्तिवाट संचालित हुनु । अभियान छिन्नभिन्न हुनुमा यिनै मुख्य कारण हु्न् । दिल्लीका केजरिवाललाई प्रवुद्ध पाका उमेरका देखि तन्नेरी सबैले नेता मान्न तयार भएकै हुनाले आमआदमी पार्टी राज्य सञ्चालक बन्न सकेको हो । इमरान खानको पार्टी निर्माण भएको पनि पुराना र खारिएका नेताहरुकै सहयोगबाट हो । युवाहरुको साथ र अनुभवीको सल्लाहले हरेक अभियान होस वा पार्टीले उचाई प्राप्त गरेका छन् । नेपालमा पछिल्लोपटक अभियानमा लागेका ब्यक्तिहरुले एकको अर्काको अस्तित्व र महत्वलाई स्वीकार गर्न नसक्दा टुटफुटमा छरिएको हो । प्रायः सबै अभियानका एउटै मुद्धा छन् । देश भित्रको भ्रष्टाचार, विसंगति, ढिलासुस्ती र कामचोर प्रवृत्तिविरुद्धकै अभियानमा लागेका छन् । तर, जब नेतृत्व लिने समय आउँछ अनि एक अभियानकर्ताले अर्काको नेतृत्व स्वीकार गर्न सक्ने क्षमता राख्दैनन् । त्याग र समर्पण नभएसम्म कुनै संगठन चल्न सक्दैन । यो यथार्थलाई अहिलेसम्म कुनै अभियानकर्ताले बुझ्न सकेको देखिंदैन ।

यदि जनता र देशका लागि काम गर्ने हो भने नेपालमा अहिले चलेका सम्पूर्ण अभियान समूहहरु एकिकरण हुन आवस्यक छ । सबै अभियानकर्ता एक ठाउँमा गोलवद्ध हुन जरुरी छ । क्षमता र जनताले विश्वास गरेकालाई नेता बनाउनुपर्छ । अरु सबै सदस्यहरु समर्थक र सहयोगी वन्नुपर्छ । दलहरुले देश खतम गरे भन्नेहरु पहिला आँफैभित्र सहनशीलताको उदाहरण बन्नुपर्छ ।

जब ‘जिरो ग्राउण्ड’बाट माथि उक्लने प्रयास हुँदैन, चुचुरोमा पुग्न पुरै असंभव हुन्छ । नेतृत्व जसले लिंदा पनि हुन्छ भन्ने भावना हरेक अभियन्तामा आउन जरुरी छ । क्षमता ठुलो कुरा हो । जनसमर्थन महत्वपुर्ण कुरा हो । उमेर वा अनुभव यसमा खासै मतलव हुँदैन । हजुरवुवा अन्ना हजारेले नाती केजरिवाललाई नेता मान्न तयार भए । उनि कुनै पदमा बसेनन् । समर्थन गरिदिए । अनि पो केजरिवालले नेतृत्व लिन सफल भए । जे भएपनि दिल्ली जस्तो भ्रष्टाचार र अन्धविश्वासमा चुर्लुम्म डुबेको राज्यमा केजरिवालहरुले केहि न केहि परिवर्तन ल्याउन सफल भए ।

जब धेरै अभियानहरु अलग अलग वनेर काम गर्छन्, अनि अभियन्ताप्रति जनताको विश्वास टुट्दै जानेछ । एउटा अभियान समूह नै अर्को समूहका लागि शत्रु बन्नेछ । सरकारले यस्ता अभियान रोक्न कुनै वल प्रयोग गर्ने पर्दैन । अभियन्ता आँफै बिच लडेर सकिनेछन् । त्यतिबेला न अभियान रहन्छ न अभियन्ता । न रहे बाँस, न रहे मुरली । किनकि अभियान र राजनीति दल खोल्ने काम पौने शताब्दीदेखिको हाम्रो रोग हो । यो शिलशिलाले न नेपाल बन्यो न नेपाली समाज बन्यो । केवल अभियान र राजनीतिमै तमाम नेपालीको जीवन खेर मात्र गयो । यो वास्तविकतालाई अब बुझ्ने कि बुझ पचाउने ? यसको जिम्मा अभियन्ताहरुकै हो । धन्यवाद ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार ०८:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।