Logo

विचार / ब्लग

कांग्रेसको किचलो : सधैं यस्तै



२००७ सालअघि नै विभिन्न कांग्रेसी मोर्चाहरु तयार भइसकेका थिए । जुन मोर्चाहरु तत्कालिन राणा शासनका बिरुद्ध तयार गरिएका थिए । यिनैका केहि मोर्चा सम्मिलित नेपाली कांग्रेस गठन भयो । बिपी कोइराला, मातृका प्रसाद कोइराला, सुवर्ण शमशेर राणा, टंकप्रसाद आचार्य, डिल्लीरमण रेग्मी, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई लगायतबाट प्रजातन्त्रका लागि विगुल फुकियो । सबै एकिकृत वनेर निर्माण भएको कांग्रेस २०१६ सालमा देशको प्रमुख पार्टी वनेर सरकार चलाउने अवसर पायो । कांग्रेसका संस्थापक बिश्वेश्वर प्रसाद कोइराला २२औं प्रधानमन्त्री वनेर १८ महिना सरकार चलाएका थिए । यसपछि राजा महेन्द्रले सवै शासन आफ्नो हातमा लिएपछि विपीलाई प्रधानमन्त्री पदवाट सत्ताच्युत गरियो । त्यसपछि नेपालमा चलेको ३० वर्षे पञ्चायती शासनमा नेपाली कांग्रेस आन्दोलनमा होमियो ।

०४६ सालमा पञ्चायत बिरुद्ध आन्दोलनको कांग्रेसले नेतृत्व लियो । आन्दोलनमा बामपन्थी दल सहभागी भए । त्यसपछि बहुदल आएपछि कांग्रेसले पटक–पटक सरकार चलाउने अवसर पाइरह्यो । सरकार संचालनमा कांग्रेस औसत शासक भन्दा माथि उठ्न सकेन । जनताको पक्षमा काम गर्ने बाचा मात्र खायो । तर, कांग्रेसलाई पनि भ्रष्टाचारको भान्छाले खर्लप्प खाइदियो । यसले पार्टीको आन्तरिक जिवनमा पनि नराम्रोसंग असर पार्यो । यहि शिलशिलाका कारण कांग्रेसको स्थापनाकालदेखिको किचलो १३ औं महाधिवेशनसम्म साम्य हुन सकेको छैन ।

किन आन्तरिक किचलोमा अल्झिन्छ कांग्रेस ?

नेपाली कांग्रेसको विधानका हरफ–हरफमा प्रजातान्त्रिक अभ्यासका शब्दहरु पाइन्छ । यो यस्तो पद्दति हो जहाँ स्वतन्त्रताको हिमायतीलाई पक्षपोषण गरिन्छ । यहि जगमा टेकेर कांग्रेसलाई मास वेस (जनतामा आधारित ) पार्टी बनाइयो । कम्युनिष्टहरुका पार्टी कार्यकर्तामा आधारित हुन्छन् । हुन त पछिल्ला दिनहरुमा कम्युनिष्ट पनि मास वेस पार्टीजस्तै असरल्ल पार्टी बनेका छनक देख्न सकिन्छ । तर, कांग्रेसको प्रजातान्त्रिक लचिलोपन कम्युनिष्टको भन्दा धेरै फराकिलो छ ।

कांग्रेसको पार्टी संचालन प्रक्रियामा अधिक लचकताले पार्टी पद्धतिको ‘चेन अफ कमाण्ड’ भत्किन थाल्यो । कसैले कसैलाई नटेर्ने र आदेश स्वीकार नगर्ने प्रणाली विकास भयो । विरोध र आलोचनालाई कांग्रेसले सहज रुपमा लियो । नेताहरु एक आपसमै समुहहरु निर्माण गर्न थाले । यसले नेतृत्वलाई खवरदारी गर्ने भन्दा चुनौती दिन थाल्यो । जुन परिणाम पछिल्लोपटक पार्टी सभापति वनेका शेरबहादुर देउवाले भोगिरहेका छन् ।

अहिले कांग्रेसमा विभिन्न बिषयमा बहस चलिरहेको छ । कांग्रेसभित्र १४औं महाधिवेशनको कार्यतालिका सहित सबै विषयमा प्याकेजमै सहमति गर्ने प्रयास थालिएको संस्थापन पक्षले दावी गरेको छ । हिजो मंसिर २८ गते शनिवार दिनभरि नै १४औं महधिवेशनको कार्यतालिकालाई केन्द्रीय समिति बैठकको एजेन्डा नबनाएसम्म असन्तुष्ट पक्षले बैठकमा सहभागी नहुने अडान राखेपछि शनिबार संस्थापन पक्षले सहमतिको प्रयासलाई तीव्र बनाउन थालेको छ । तर साँझसम्म विवाद समाधानका लागि ठोस खाका तयार नभए पनि संस्थापन र इतर समूह सहमतिबाटै निकासमा पुग्न लचिलो बनेका विवरणहरु वाहिर आएका छन् । रामचन्द्र पौडेल पक्षले १४औं महाधिवेशनको कार्यतालिका आउनुपर्ने भन्दै केन्द्रीय समिति वैठक बहिष्कार गरेका थिए । संस्थापन इतरबाट बैठक बहिष्कार भएपछि सहमतिका लागि सभापति शेरबहादुर देउवा उपसभापति विमलेन्द्र निधिलाई लिएर शनिबार बिहान पौडेल निवास बोहोराटार पुगेका थिए ।

कांग्रेसको पार्टी संचालन प्रक्रियामा अधिक लचकताले पार्टी पद्धतिको ‘चेन अफ कमाण्ड’ भत्किन थाल्यो । कसैले कसैलाई नटेर्ने र आदेश स्वीकार नगर्ने प्रणाली विकास भयो । विरोध र आलोचनालाई कांग्रेसले सहज रुपमा लियो । नेताहरु एक आपसमै समुहहरु निर्माण गर्न थाले । यसले नेतृत्वलाई खवरदारी गर्ने भन्दा चुनौती दिन थाल्यो । जुन परिणाम पछिल्लो पटक पार्टी सभापति वनेका शेरवहादुर देउवाले भोगिरहेका छन् ।

कांग्रेसमा यो फकाउने र सताउने खेल बिपीदेखिका नेताहरु सबैले ब्यहोरे । पार्टीको आन्तरिक प्रणालीमा पनि प्रजातान्त्रिक अभ्यासको उदाहरण वनेको पार्टी कहिले बिभागहरु गठन नसकिंदै अर्को महाधिवेशन आउँछ त कहिले केन्द्रीय कार्यसमिति विस्तार हुँदै महाधिवेशन चलेका इतिहास छन् । पछिल्लो पटक देउवाले विभाग गठनको काम गर्दै गर्दा अर्कोतिर १४ औं महाधिवेशनको तयारी पनि चल्न थालेको छ । यो प्रक्रिया नै कांग्रेसका लागि सधैं चुनौती वन्यो । झन ०४६ सालपछि त कांग्रेस भित्र अनेक पार्टी जन्मे झैं शक्तिशाली गुटहरुको ठक्करले संस्थापन पक्ष कमजोर वन्दै गएका छन् ।

गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शुशिल कोइराला र शेरवहादुर देउवा सभापति भएका वेलाका संस्थापन शक्तिहरु गुटगत चिराहरुले कमजोर वन्न पुगेको नजिरहरु स्थापित छन् । नेताहरुको इच्छा अनुसार मात्र कार्यकर्ताहरु संचालन हुने हुँदा संस्थापन पक्षको गर्विलो अडान र नेताहरुको सच्चाई राजनीति कांग्रेसमा हुन सकेन । सरकार चलाउन पाएपनि नपाएपनि कांग्रेस भित्रको किचलो कहिल्यै समाधान भएन । कांग्रेसको समय शक्ति मुलुक र जनताका लागि खर्च गर्नुपर्ने ठाउँमा वोहोराटार र बुढानिलकण्ठ धाउँदैमा खर्च भएको छ । यो कांग्रेसका लागि लाजमर्दो बिषय हो ।

काग्रेसमा आन्तरिक झगडा चर्किनुमा केहि अन्य कारण छन् । समदुरीका धेरै नेताहरु सक्रिय रहिरहनु, एकअर्काका क्षमता र लोकप्रियतालाई स्वीकार गर्न नसक्नु, जनताबाट तिरस्कृत वा पुरस्कृत को नेता भयो भेउ नपाउनु, गुटगत संरचना खडा गर्नु, युवा जमातको पकड कमजोर हुनु, युवाहरु नै नेताहरुको पछि लाग्नु, ‘अग्रजको सम्मान युवालाई प्रोत्साहन’ नाराको बिपरित काम गर्नु, दाग लागेका नेताहरुको पकड बढ्नु, निष्कलंक नेताहरु ओझेलमा पर्नु र पार्टीको आन्तरिक समस्या वाहिर लानु आदि कारणहरु देखिएका छन् ।

कांग्रेस बलियो पार्टी भएर पनि आन्तरिक झगडाले कहिलेकाँही निर्वल बनिरहेको छ । शासन संचालनदेखि पार्टी चलाउने काम कांग्रेसका लागि आफ्ना पक्षको पोषण गर्ने थलो वनेको छ । यी यावत बिषय बेलैमा कांग्रेसले चिर्न सक्नुपर्छ ।

हो कांग्रेसले युद्ध वा झगडा गरेर विनास गरेको छैन । तर, कांग्रेसले मुलुक पनि वनाउन सकेन । जनताको लागि काम पनि गर्न सकेन । यी बिषयका वहस अर्को लेखमा गरौंला । अहिले देखिएको आन्तरिक समस्या नेतृत्वको भन्दा तल्लो तहसम्मका कार्यकर्ताहरु सवैको दोष हो भन्नेमा कसैको दुइमत नहोला । कार्यकर्ताहरुको खबरदारी नेताहरुको गतिलो गोरेटो बन्न सक्छ । कांग्रेसका कार्यकर्ताले कहिल्यै गतिलो खवरदारी गर्न सकेनन् । अव युवा कार्यकर्ताको निष्पक्ष खवरदारी आवस्यक छ । सही खवरदारी हुने हो भने संवभत आउँदो १४औं महाधिवेशनसम्म कांग्रेसको आन्तरिक पाटोमा केहि सुधार आउन सक्थ्यो कि ! यदि अब पनि खबरदारी र जिम्मेवारीवोध कार्यकर्ता र नेताले गरेनन् भने कांग्रेस सधैं यस्तै हो भन्नु वाहेक केहि हुने छैन ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आईतवार ०९:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।