Logo

कर्पोरेट फोकस

मध्यपुर्वको तनावले अशान्त विश्व



मध्यपुर्वका मुस्लिम कट्टरपन्थी शक्ति राष्ट्रका कारण फेरि विश्व अशान्त वन्न पुगेको छ । विश्वले पछिल्लो आधा दशक यिनै मुलुकको तनाववाट गुज्रिनु परेको अवस्था छ । खासगरि, पश्चिमा राष्ट्र, अमेरिकी शक्तिहरु र खाडी मुलुकको टकरावले विश्वकै शान्ति खल्वलाइदियो । शुक्रवार इरानी सैनिक अधिकारी मेजर जनरल कासिम सुलेमानीको अमेरिकी आक्रमणवाट मृत्यु भएपछि यो अशान्तले सिंगो विश्वलाई प्रभाव पार्ने संकेत देखिएको हो ।

अमेरिकाको शक्ति विश्व माझ अझै उचाइमा छ । विश्वका आधा देशहरुमा अमेरिकी सैनिक कुनै न कुनै रुपमा उपस्थित छन् । झन आतंकवादले जरा गाडेका देशहरुमा अमेरिकाले आफ्नो उपस्थित बलियो वनाउँदै लगेको अवस्था छ । अफगानीस्तान, इरान, इराक, अरब, कुवेत, कतार, वहराइन, सिरिया, साउदी अरेविया र टर्कीका विभिन्न क्षेत्रमा अमेरिकी सैनिकका अखडा बलियो रुपमा छन् । यी सवै मुलुकमा इस्लाम अतिवाद तथा विभिन्न आतंकवादी समुहले जरा गाडेका छन् । पछिल्लो पटक टर्की आतंकवाद विरुद्ध कडा रुपमा आउन थालेपछि विभिन्न आतंकवाद समुहले मुस्लिम कट्टरपन्थी देशहरुलाई आफ्नो किल्ला वनाउँदै लगे । जस्ले गर्दा यी देश भित्रको अमनचयन र स्वतन्त्रता झन खुम्चिन गयो । शान्ति कायम गर्ने र पेट्रोलियम पदार्थमा पहुँच राख्ने उद्धेस्यले अमेरिका आफ्नो शक्ति यी देशहरुमा कायम राख्न चाहन्छ । यी खाडी मुलुकहरु विश्वमै तेल उत्पादनमा निकै शक्तिशाली मानिन्छन् ।

पछिल्लो पटक उत्पन्न अमेरिका–इरानको तनाव भने अलि भिन्नै छ । पहिलो विश्व युद्धकै बेला इरानमा तेल खानी पत्ता लागेसँगै तत्कालीन सोभियत संघ र ब्रिटेनबीच इरानको तेलमाथिको अधिकारलाई लिएर खिचातानी भएको थियो । ब्रिटेनले इरानको तेलमाथि मात्र नियन्त्रण गरेन सन् १९२१ मा त्यहाँका सेना प्रमुख रेजा खानलाई लिएर ‘कू’ मार्फत सत्ता नै बदलिदियो । उनै खानले आफैलाई सन् १९२५ मा राजा या ‘शाह’ घोषणा गरे । ब्रिटिसकै इसारामा विभिन्न नीतिहरु बनाए पनि दोस्रो विश्वयुद्धको बेला रुससँग नजिकिएको ब्रिटेनले आरोप लगाउँदै राजीनामा दिन बाध्य पार्यो । आफ्नो २२ वर्षे छोरा मोहम्मद रेजालाई सत्ता बुझाए । नयाँ राजाले पहिलोपटक सन् १९५१ मा चुनाव गराए पनि ब्रिटेन विरोधी मोहम्मद मोसादेक प्रधानमन्त्री भए । उनले ब्रिटेनको नियन्त्रणमा रहेको इरानको तेल तथा ग्यास खानीहरुलाई राष्ट्रियकरण गरिदिए ।
ब्रिटेनले मोसादीकको कदमलाई आफ्नो अपमान गरेको भन्दै अमेरिकाको सहायतामा मोसादीकलाई नै पदच्यूत गराउने योजना बनायो । सन् १९५२ मा अमेरिका र ब्रिटेनको संयुक्त विशेष गुप्तचरी कारबाहीमार्फत मोसादीक पदच्यूत भए । रेजा पहलवीलाई शक्तिशाली बनाउँदै लगियो । अमेरिकासँग घनिष्ठ सम्बन्धसँगै इरानको सेना पनि आधुनिकीकरण भयो । इरान मध्यपूर्वकै अमेरिकाको विशेष हतियार र तालिम दिने देश भयो । इरानभित्रै भने राजा बिरोधी आन्दोलनहरु हुन थाले ।

इरानमा बिस्तारै अमेरिकी प्रभाव बढ्दै गयो । तत्कालीन शितयुद्धका बेला इरान अमेरिकाको मध्यपूर्वको महत्वपूर्ण साझेदार हुन पुग्यो । इरानमा आर्थिक उदारीकरणसँगै धार्मिक स्वतन्त्रता लगायत महिला अधिकारहरु बढाउँदै लगियो । धार्मिक कट्टरपन्थीहरुलाई पाखा लगाउँदै सरकारले जग्गा दिने तथा धार्मिक प्रचारलाई समेत नियन्त्रण गर्दै गयो ।

अमेरिकासँग घनिष्ठ सम्बन्धसँगै इरानको सेना पनि आधुनिकीकरण भयो । इरान मध्यपूर्वकै अमेरिकाको विशेष हतियार र तालिम दिने देश भयो । इरानभित्रै भने राजा बिरोधी आन्दोलनहरु हुन थाले । कम्युनिस्ट, विद्यार्थी तथा कट्टरपन्थीहरुसँगै विभिन्न देशमा विभिन्न खालको प्रदर्शन चर्कंदै जाँदा राजाले १९७५ मा आफ्नोबाहेक सबै राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाइदिए ।

पश्चिमा देशहरुलाई आश्चर्यमा पार्दै सन् १९७९ जनवरी १६ मा अमेरिका समर्थक राजासंस्था समाप्त पारी इस्लामिक क्रान्ति सम्पन्न भएदेखि नै अमेरिका र इरानबीच तित्ततापूर्ण सम्बन्ध शुरु भयो ।

इरान र अमेरिकाबीचको सम्बन्ध असहज हुँदै आएको छ । मध्यपूर्वमा आफ्नो महत्वपूर्ण साझेदार र विदेश नीतिको केन्द्रमा इरानले अस्थिरता फैलाइरहेको अमेरिकी बुझाई छ । इरानमा सन् १९७९ मा भएको इस्लामिक क्रान्तिपछि अमेरिकासँग इरानको औपचारिक कुटनीतिक सम्बन्ध छैन ।

सन् १९८० सेप्टेम्बर २२ मा इराकी हवाई सेनाले कुनै चेतावनी बेगर आकस्मिक रुपमा इरानमाथि हमला गर्दा ८ वर्षे भयाभह क्षतिपछि सन् १९८८ अगष्ट २० मा मात्र टुंगिएको थियो । इरान–इराक युद्ध रोकिए पनि इरानसँगको अमेरिकी सम्बन्ध भने रोकिएन । बाराक ओवामाको पालामा भने अमेरिकाले इरानसँग तनाव घटाउन सन् २०१५ मा ‘आणविक सम्झौता’ गरेको थियो । यसमा अमेरिका, यूरोपेली संघ, ब्रिटेन, फ्रान्स, रुस, चीन र जर्मनीले इरानसँग सम्झौता गरेका थिए । सम्झौतापछि इरानको अधिकांश अन्तर्रा्ष्ट्रिय नाकाबन्दी हटाइदिएको थियो भने अमेरिका र इरान दुबैले इस्लामिक स्टेटविरुद्ध अप्रत्यक्ष अविश्वसनीय गठबन्धन गरेका थिए ।

विश्वकै चौथो ठूलो तेल भण्डार र मध्यपूर्वको रणनीतिक भौगोलिक अवस्थितिको कारण इरानलाई आफ्नो अधिनमा राख्न अमेरिका चाहन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्झौताले अमेरिकी चाहना पूरा नगरेको भन्दै त्यसबाट बाहिरिएर थप नाकाबन्दी थाले । ट्रम्पले इरानलाई आणविकका अलावा क्षेत्रीय शान्ति, क्षेप्यास्त्र लगायत सबैमा प्याकेजमा सम्झौता गर्नुपर्ने अडान राखे पनि इरानले मानेन ।

अमेरिकाले आफ्ना सैनिक अखडालाई अझै विस्तार गर्न चाहन्छ । अब के हुन्छ भन्ने विश्वभरि प्रश्न उत्पन्न भएको छ । यो क्षेत्रमा अमेरिकाका समर्थक इजरायल र साउदी अरेबियालाई अमेरिकाको शक्ति अझ पनि बाँकी छ भन्ने लाग्नेछ । तर तत्काल नभए पनि इरानले बलियो प्रतिक्रिया दिँदैन कि भनेर सोच्नै सकिँदैन । इराकमा तैनाथ ५,००० अमेरिकी सैनिक सम्भावित निशाना हुन् । विगतमा पनि इरान र उसका समर्थकहरूले त्यस्तै गरेका थिए । खाडीमा तनाव बढ्नेछ । त्यसको प्रारम्भिक प्रभाव तेलको मूल्य बढाएकोमा देखिनेछ । अमेरिकाले बगदादस्थित आफ्नो दूतावास सुरक्षाका लागि केही सैनिकहरू थपिसकेको छ । आवश्यक परे यो क्षेत्रमा अरू सैनिक पनि थप्ने उसको योजना हुनेछ । यो तनावले विश्वलाइ अझै सताउने निश्चित छ । तेल उत्पादक राष्ट्रहरुले अन्य क्षेत्रमा महंगीको मार पुर्याउने छन् । मध्यपुर्वमा देखिएको यो अशान्त र आतंकवादको चपेटा अझै केहि बर्ष विश्वले झेलिरहनेछ ।

प्रकाशित मिति : २३ पुष २०७६, बुधबार ०६:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।