Logo

स्वास्थ्य

शिक्षक सेवा आयोगमा एकरुपता ल्याउनु पर्छ: मन्त्री श्रेष्ठ



शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले सेवा आयोगलाई एकरुपता ल्याउनुपर्ने बताएका छन् । उनले शिक्षक सेवा आयोगको स्थापना दिवसको अवसरमा आयोग कार्यालयमा आयोजित कार्यक्रममा सो धारणा व्यक्त गरेका हुन् । सो अवसरमा उनले गुणस्तरीय शिक्षक उत्पादन गर्ने मुल दायित्व रहेको आयोगमा सक्षम कर्मचारी आवश्यक रहेको बताए । उनले  शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न शिक्षकको गुणस्तरमा परिवर्तन गर्नु आवश्यक छ । 

उनले परम्परागत शिक्षा नीति, यहाँको अस्थिरता, अराजकता, अन्यौल र भ्रमको बादलभित्र सबै मडारिएको आफूले पाएको बताए । उनले भने, “अहिलेको अवस्थामा शिक्षा क्षेत्रको सुधार गर्नु महत्वपुर्ण रहेको छ, त्यसको लागि आयोगले मुख्य भुमिका खेल्नुपर्छ ।” काँही शिक्षकभन्दा विद्यार्थी बढी र काँही शिक्षक नै नपुग्ने असमानतालाई चिर्दै यसलाई आमूल परिवर्तन गर्ने बिधि पहिल्याउनु आवश्यक रहेको बताए । मन्त्री श्रेष्ठले भने, “मन्त्रालयमा अस्थायी, करार, उमेर नाघेका, राहत, इसिडी, स्वयंसेवक शिक्षकको समस्या त छदैछ, फेरी अहिले द्धन्द्ध पीडित शिक्षकको समस्या थपिएको छ, यी सबै समस्याको एक मुष्ठ हल खोज्नु पर्छ । उनले आयोगलाई प्रविधिमैत्री बनाउन जोड दिनुपर्ने, आफ्नो भवन निर्माण गरिनुपर्ने र आयोगलाई थप प्रविधिमैत्री बनाउनुपर्ने बताएका छन् । 

शिक्षक जिउँदो भगवाण हुन् भन्दै मन्त्री श्रेष्ठले भने, “एउटा शिक्षक जीवनभर शिक्षण पेशामा लाग्छ, उसका विद्यार्थी धेरै माथिल्लो पद र प्रतिष्ठामा पुग्छन्, तर शिक्षक जहाँको त्यहीँ रहन्छ, कतिपय शिक्षकसंग मर्ने बेलामा कात्रो किन्ने पैसा पनि नहुदो रैछ, शिक्षकको पीडालाई मैले बुझेको छु ।”
 

कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली शिक्षण पेशालाई जीवनको पहिलो रोजाइ बनाउनु पर्नेमा जोड दिएका छन् । आयोगले लिने लिखित परीक्षाले मात्रै नपुग्ने भन्दै उनले कक्षामा दिने प्रस्तुती महत्वपूर्ण हु्ने औल्याए । शिक्षक परीक्षाको पाठ्यक्रम र प्रयोगात्मक परीक्षण प्रणाली परिवर्तन गर्नु आवश्यक रहेको बताए । शिक्षकको तालिम, सेवा, बृद्धि विकास आवश्यक रहेको भन्दै आयोगको ऐन परिवर्तन गर्दै स्वायत्तता दिनु पर्ने मैनालीले बताए । उनले आयोगका कर्मचारीहरु प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए । उनले शिक्षकलाई सक्षम बनाउन वृति विकास आवश्यक रहेको औल्याउदै त्यसको लागि अवसरको ढोका खोल्नुपर्ने उल्लेख गरे । उनले आयोगमा पाठ्यक्रम र दरबन्दीको तालमेल आवश्यक रहेको उल्लेख गरे । 

शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले आयोगलाई स्वतन्त्र निकायको रुपमा स्वायत्तता प्रदान गर्नुपर्ने बताउदै ४० जना जनशक्तिका भरमा ५८ हजारभन्दा बढी शिक्षकलाई स्थायी गरेको बताए । उनले आयोगमा जनशक्ति थप गर्नुपर्ने, आफ्नै भवन बनाउनु पर्ने आवश्यकता रहेको चर्चा गर्दै शिक्षक सेवा आयोगको परीक्षामा उतीर्ण संख्या कम हु्नु चिन्ताको विषय रहेको बताए ।

 

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार ०८:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।