विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि सरकारले वैशाख महिनाभर लकडाउन गर्ने तयारी गरेको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको मोडलिटीको मस्यौदा तयार गर्ने काम मुख्यसचिवलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
उपप्रधान एंव रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा शनिबार बसेको बैठकले लकडाउन लम्ब्याउने निष्कर्ष निकालेपनि आइतबार बस्ने मन्त्रीपरिषदको बैठकबाट मोडालिटी सहित पारित गर्ने तयारी गरिएको हो । वैशाखभर लकडाउन गर्ने गरि मोडालिटी तयार गरि मन्त्रीपरिषदमा प्रस्ताव लगिने मुख्यसचिव निकट स्रोतले जानकारी दिएको छ ।
बजार र अत्यावश्यक निजि सवारी सहितका अन्य जरुरी सेवाहरू सञ्चालन गर्न दिने गरि लकडाउन खुकुलो बनाउने तर पूर्ण नहटाउने गरि प्रस्ताव तयार गर्न लागिएको बताइएको छ । अत्यावश्यक र जरुरी सेवाहरू स्वास्थ सेवा, निर्माण, कृषि र अत्यावश्यक सामाग्री उत्पादन गर्ने उद्योहरूलाई स्पष्ट कार्ययोजना सहित खुल्ला गर्ने तयारी गरिएको छ भने ढुवानीका साधन पूर्ववत् रूपमै निर्वाध सञ्चालन हुने छन् ।
विभिन्न जिल्ला, गाउँपालिका र नगरपालिकाको जोखिमको अवस्थालाई हेरेर लकडाउन कडा र खुकुलो पारिने तयारी गरिएको छ । यसका लागि प्रदेश र जिल्ला प्रशासन कार्यलयलाई विशेष जिम्मेवारी दिने तयारी भएको हो ।
आन्तरिक र बाह्य उडान २ जेठसम्म सञ्चालन गर्न प्रतिबन्ध लगाउने निर्णय भइसकेको छ । सार्वजनिक यातायात पनि वैशाखभर चल्न प्रतिबन्ध लगाउने तयारी छ । अत्यावश्यक सेवाका पसलहरू सामाजिक दूरी कायम गरि खोल्न दिने सरकारको तयारी छ ।
लकडाउन लम्ब्याउने तयारीसँगै शैक्षिक संस्थाहरू वैशाखभर नखुल्ने भएका छन् । शैक्षिक संस्था, सार्वजनिक यातायात, होटल, सिनेमा हल, खेल स्थल लगायत बडी भिडभाड हुने स्थान आउँदो एक महिनासम्म खुल्ने सम्भावना न्यून छ । एसईई र विभिन्न विश्वविद्यालयका परीक्षाहरु कम्तीमा एक महिना पछाडि धकेलिने देखिएको छ ।




















प्रतिक्रिया