सरकारले लकडाउन लम्ब्याउने तयारी गरेको छ । ५ जेठबाट पुनः कम्तिमा १० दिन लकडाउन थप्ने गरी तयारी भएको हो । जेठ महिना निकै जोखिमले भरिएको रिपोर्टहरु आएपछि सरकारले लकडाउन कडाईका साथ थप्न लागेको हो ।
लकडाउन लम्ब्याउने र मोडालिटीबारे संयन्त्रले सुझावहरु संकलन गरिसकेको छ । चारवटै सुरक्षा निकायका प्रमुख देखि स्वास्थ्य मन्त्रालय, आपूर्ति मन्त्रालयलगायतका अधिकारीहरुको राय संकलन गरेर अबको योजनाबारे थप निर्णय लिन लागिएको बुझिएको छ ।
विश्वस्त स्रोतका अनुसार अब काठमाडौं उपत्यका छिर्ने मुख्य नाकाहरुमा नेपाली सेनालाई समेत समावेश गरी कडाई गरिने तयारी भएको छ । चारवटै सुरक्षा निकायलाई स्वास्थ्यकर्मी र स्थानीय निकायका जनप्रतिनिधिसँग समन्वय गरी खटाइने योजना बनाइएको स्रोतले बतायो ।
कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि सरकारले झन् कडा नीति लिन लागेको हो । यसपटक कम्तिमा १५ जेठसम्म लकडाउन थपिने तयारी भएको छ । संयन्त्रको बैठक आज बसेर सिफारिश गर्ने र आइतबार मन्त्रिपरिषद बैठक बसेर निर्णय लिने बुझिएको छ ।
लकडाउन कडाई गर्न यसअघि वितरित सबै पास रद्द भइसकको । निश्चित क्षेत्र तोकी आधिकारिक परिचयपत्र विना सवारी साधन गुड्न निषेध गरिएको छ ।
संक्रमण समुदायसम्म फैलिएपछि गृह मन्त्रालय कडा रुपमा प्रस्तुत भइसकेको छ । अत्यावश्यक सेवाका सवारीलाई पास चाहिंदैन । तर, ती सवारीमा यात्रा गर्ने सबैले अनिवार्य आधिकारिक परिचयपत्र लिनुपर्नेछ ।




















प्रतिक्रिया