Logo

प्रमुख समाचार

कोरोना संक्रमितको संख्या थपिदैं, लकडाउन खुकुलो बन्दै



नेपालमा कोरोना संक्रमितको संख्या २ जना हुँदा सुरु गरिएको लकडाउनको ६७ दिन हुँदासम्म संक्रमितको संख्या हजार कटेको छ । कोरोना बढ्दै जाँदा लकडाउनमा कडाइ हुनुपर्नेमा थप खुकुलो हुँदै गएको छ ।

राजधानीका मुख्य चोकहरूमा प्रहरीको उपस्तिथि बाक्लै रहेपनि सवारी साधनको चेकिङ घटेको छ वा नगन्य मात्रै बाँकी छ । सुरक्षाकर्मी आफैं थाकेजस्ता देखिन्छन् । अहिले काठमाडौ उपत्यकाका सडकलाई हेर्ने हो भने लकडाउनको अनुभूति नै छैन । राजधानीका सडकमा निजी सवारी साधन र मोटरसाइकल मात्रै होइनन् सरकारी र संस्थानका सवारी साधन पनि बाक्लै गुडिरहेका छन् ।

लकडाउनमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरिएपनि सर्वसाधारणहरूको धैर्यताको बाँध टुट्न लागेको अनुभूति हुन्छ । लकडाउन उल्लंघन गरेको भन्दै पक्राउ परेका नागरिकहरू पनि आफूसँग अन्य विकल्प नहुँदा निस्कनै परेको बाध्यता सुनाउँछन् ।

लकडाउन कार्यान्वयनमा आएको अर्को ठूलो समस्या भनेको सवारी पासको दुरुपयोग पनि हो । अहिलेसम्म करिब ३४ हजार सवारी पास गरेको ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछ । प्रहरीले अत्यावश्यक काम बाहेक को अवस्थामा सवारी चलाइएको पाइए चालकलाई फर्काएर बेलुका मात्रै सवारी साधन फिर्ता गर्ने गरेको छ ।

लामो समयसम्म लकडाउन कायम रहँदा र सरकारले भरपर्दो अन्य विकल्पमा ध्यान नदिंदा नागरिकहरू कोरोना भन्दा अर्को ठूलो संकटमा फसेको अनुभव गर्दै छन् । त्यसले एक खाले विद्रोहको सिर्जना हुनसक्ने एकथरीको मत छ । यदाकदा सामाजिक सञ्जालमा यस्ता खाले बिचारहरू पनि धेरैले व्यक्त गर्न थालेका छन् ।

सरकारले पहिलो पटक चैत ११ देखि १८ सम्म लकडाउन गरेको थियो । दोस्रो चरणमा चैत २५ सम्म थप गरियो । तेस्रो चरण वैशाख ३ गतेसम्म लम्ब्याइएको लकडाउनको अवधि चौथो चरणमा वैशाख १५, पाँचौ चरण वैशाख २५ छैटौं चरणमा जेठ ५ र सातौं चरणमा जेठ २० गतेसम्म लकडाउनको अवधि बढाइएको छ ।

एकातिर लकडाउन अनिश्चितकाल बढ्दै जानु, नागरिकसँग सिमित विकल्प रहनु, सरकारले लकडाउनको भरपर्दो विकल्प नखोज्दा कोरोना संक्रमणको त्रास भने बढ्दै गएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार १२:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।