केही मान्छे सोद्धछन्‘ यी विष्ट, जो तपाईंकहाँ बराबर आइराख्दछन् , उनको आउनुको के रहस्य छ ? म एउटा कुराको उदाहरण दिन्छु, अनि त्यसलाई हेर्छु । मैले दशैंको उपलक्ष्यमा विशुद्ध सामाजिक मेलजोलको दृष्टिले पार्टी दिँदाखेरि, त्यस पार्टीलाई चारजनाले बायकाट गरेका छन् । टंकप्रसाद आचार्य, सूर्यप्रसाद उपाध्याय, डा. केशरजंग रायमाझी र डिल्लीरमण रेग्मी । दुई वर्ष मैले आफैंले टेलिफोन गरें । उनीहरु आएनन् । एकापट्टि त्यो व्यवहार छ ।
अर्कोपट्टि, यिनी कीर्तिनिधि विष्ट छन्, बेहान डुल्ने बानी छ उनको, यतातिर डुल्दै आएका छन् भने म कहाँ आइपुग्दछन् । उनको राजनीति र मेरो राजनीतिमा मेल छैन । उनी पञ्चायतवादी हुन र यस पञ्चायतमा अहिले प्रधानमन्त्रीको खिलाफमा प्रमुख मानिस हुन् । उनी मसंग के गुनासो गर्दछन् भने प्रधानमन्त्रीले यति बद्मासी गरिसक्यो, तपाईं भने चुप लागेर बसिरहनु भएको छ । उनको राजनीतिमा शत्रु पक्ष भन्नुपर्यो भने अहिलेको प्रधानमन्त्री छ । मेरो राजनीतिमा पनि विरोधी पक्ष छ, त्यो यो व्यवस्था हो । उनी व्यवस्थावादी हुन् । म उनलाई भन्दछु– अहिलेका प्रधानमन्त्री त यस व्यवस्थाको उपज हो । त्यसो हुनाले त्यस उपजसंग मेरो झगडा छैन् । म यो व्यवस्था नै खतम होस् भन्ने चाहन्छु । त्यसमा मलाई साथ दिन तैयार छैनन् । तर, मैले उनलाई कुनै कुरामा बोलाएँ भने उनी आउँछन् । दशैंमा बोलाउँदा उनी आउँछन् ।
सामाजिक सम्बन्धमा मसंग राम्रो व्यवहार गर्छन् । म सबैसंग सामाजिक सम्बन्ध बढाउन चाहन्छु । तर मलाई नै कसैले बायकाट गर्छ भने म के गरुँ ? कसैले मलाई दम्भि भने र मैले बोलाएको निमन्त्रण स्वीकारेनन् भने के गरुँ ? टंकप्रसादजीले भने– पहिले उनी मकहाँ आउनुपर्छ, अनि म जान्छु उनीकहाँ । त्यो सुन्ने वित्तिकै टैक्सीमा गएँ उनीकहाँ । र, टंकप्रसादजीसंग मेरो सम्बन्ध राम्रो छ । म अहिले पनि उनी कहाँ जान्छु , उनकी दुलहीले मलाई टिका लगाइदिन्छिन् । मलाई फलहरु दिन्छिन् , मलाई राम्रो गर्दछिन् ।
मैले के भन्न खोजेको भने एउटा राजनैतिक सम्बन्ध हुन्छ , अर्को सामाजिक । विष्टसंग मेरो राम्रो सामाजिक सम्बन्ध छ र, उनको परिवारसंग पनि राम्रो छ । कुनै समारोहमा उनकी दुलहीले देखिन् भने पनि आएर मसंग कुरा गर्छिन । त्यसमा कुनै राजनीतिक अर्थ छैन् । राजनीतिमा उनी पञ्चायतवादी हुन् र म कट्टर पञ्चायत विरोधी । हाम्रो एउटा सामान्य नीति छ– हामी प्रजातन्त्रका पक्षधर छौं र यस लाइनलाई मान्न जो तयार छन् , तिनलाई लिन तयार छौं । हामीहरुका दुईवटा समस्या छन् । विश्वबन्धुकै उदाहरण लिऊँ । अब विश्वबन्धुले हाम्रो पार्टीमा आफ्नो स्थान पाउनको निम्ति मेरो आशीर्वादले मात्र पुग्दैन । हाम्रा जो कार्यकर्ताहरु छन् , तिनको पनि सहानुभूति उनले पाउनुपर्छ । हामीहरुले जुन बेलामा व्यवस्थाको विरोध गर्यौं, विरोध गर्दा बन्दुक पनि उठायौं, त्यसबेला विश्वबन्धु व्यवस्थाको पक्षमा लागे । गृहमन्त्री भएका छन् । एउटा नराम्रो पृष्ठभूमि छ । त्यस्तो नराम्रो पृष्ठभूमि भएतापनि एउटा गल्ति काम गरेको रहेछु भनेर उनी आउन चाहन्छन् भने हामी उनलाई लिन सक्छौं । यो मैले सिद्धान्तको कुरा भनेको ।
व्यवहारमा के हुन्छ भने विश्वबन्धु हाम्रो पार्टीमा कति स्वीकार्य हुन सक्छन् भन्ने कुरा किसुनजी वा मैले निर्णय गर्ने होइन । त्यो त हाम्रा कार्यकर्ताहरुले स्वीकार गर्न सक्नुपर्छ । उनीहरुको बीचमा उनले कुन स्थान पाउने हो, त्यो त पार्टी, पार्टी कार्यकर्ता र विश्वबन्धुका बीचमा हुने कुरा हो । मैले नयाँ समीकरण भनेको के भने पञ्चायत पक्षमा पनि त्यस्ता तत्व छन् , जसलाई म राजावादी राष्ट्रवादी भन्छु । यद्यपि त्यसको सञ्चालन प्रक्रिया भने त्यस्ता तत्वको हातमा छैन । त्यो अरुहरुको हातमा गइसकेको छ । त्यसो हुनाले नयाँ समीकरण भयो भने, जसको सम्भावना छ, त्यस्ता तत्वहरु जो अहिलेसम्म हामीसंग रिसाएका छन् भनेर, राजाको हित पनि उनले बुझेका छन् भने शायद हामीहरुसंग आउन सक्छन् , तर हामीहरुसंग आउने एउटै उद्देश्य हुन सक्दछ राष्ट्रवादी भएर । प्रजातन्त्रवादी भएर होइन । जुनदिन विष्ट प्रजातन्त्रवादी होलान् , हाम्रो पक्षमा आउन सक्लान् , तर अहिले उनी पञ्चायतवादी छन् ।
यो प्रक्रिया पनि पञ्चायतभित्र छ– हामीहरु अहिलेसम्म त गलत बाटोमा हिँडिरहेका रहेछौं । त्यसमा उनी पर्छन् , पर्दैनन भन्न म अहिले सक्दिन । जति पञ्चायतमा लागेका मान्छेहरु हाम्रो साथमा छन् सक्रिय भएर उनीहरु बहुदलमा पनि लागे । त्यो पनि एक प्रकारको नयाँ समीकरण भयो नि । यो माथिल्लो स्तरभन्दा पनि बेसी जिल्लास्तरमा सम्भव छ जस्तो मलाई लाग्छ । एडितको सम्पूर्ण स्ट्रेटेजी चाइनाले बनाएको थियो– समीक्षाले भन्दछ । राष्ट्रिय मेलमिलापको नीति भनेको अमेरिकाको षड्यन्त्र हो । मैले विदूषकको एउटा टोपी बनाएँ रे । कसैको टाउको त्यो फिट हुन्छ भने मैले के गर्ने ? मैले जान्नु परेको छ– रुसी पक्षका अखबारको नाम म बताइदिन सक्छु , नेताहरुको नाउँ पनि गनाइदिन सक्छु । राजनैतिक नेता, जो मेरो आमने सामने आएका हुन् को छ चाइनिज एजेण्ट मलाई देखाइदिनुस् न । मैले पहिले पनि भनेको छु । ती होलान । आफ्नो काम पनि गर्दा होलान् , तर जुन क्षेत्रमा म कार्यरत छु , त्यहाँ मेरो तिनीहरुसंग मुकाबिला हुँदैन । त्यस क्षेत्रमा म न कुनै अमेरिकन एजेण्ट न कुनै चाइनिज एजेण्ट भेट्छु । बरु इण्डियन एजेण्टहरुलाई भेट्दछु । रसियन एजेण्टहरुलाई भेट्दछु । तिनीहरु शायद दरबारमा होलान, अन्त कतै होलान् तर मसंग भेट हुन्न । जस्तो विद्यार्थीहरुको क्षेत्रमा छ ।
मैले आफ्ना विद्यार्थीहरुलाई सोधें– ‘यी अनेरास्ववियू के हुन ?’ उनीहरुले भने– ‘पाँचौं छैठौं हुन् ।’ अब सातौं पनि हुन थाले । मैले सोधें– ‘यी कसबाट सञ्चालित छन् ?’ ‘छ्यासमिस छ ।’ उनीहरुले भने । ‘त्यसमा चिनिया पनि छन् ?’ ‘छन’ त्यसमा राजाविरोधी पनि छन् ?’ ‘छन’ ‘अहिले चिनियाहरुको नीति राजाविरोधी छ ?’ ‘छैन’ मलाई ती विद्यार्थीहरुले भनेका छन् । चिनियाँको लाइन राजा समर्थक र उनका एजेण्टहरुको कार्य राजा विरोधी छ रे । यो त मिलेन नि । ममैले धेरै नक्सलाइटलाई इण्डियाको स्ट्रेटेजीमा काम गरेको देखेको छु ।
उदाहरण दिउँ । मोहनविक्रमको हेडअफिस बनारसमा थियो, हाम्रो पनि बनारसमा थियो र पुष्पलालको पनि । म र गिरिजा बाहेक हाम्रा पार्टीका कुनै पनि मान्छे थिएनन, जसलाई पुलिस र जेलको यातना सहन परोस् । एउटा पनि मानिस थिएनन, जसले दुख नपाएका हुन तर यी बाँकी दुईवटा ग्रुपका मानिसलाई कहीं पनि पुलिसले दुख दिएको थिएन । नामबाट यिनीहरु प्रो. चाइनिज थिए । हिन्दुस्तानलाई यिनीहरु विस्तारवादी भन्थे । यिनीहरुलाई छूट थियो । हामीहरुलाई छूट थिएन, जबकि हामीहरु हिन्दुस्तानको त्यत्रो विरोधी थिएनौं, केवल राजाका विरोधी थियौं । हाम्रा प्रत्येक मानिसहरु जेलमा परे र अझसम्म हाम्रा मानिसहरुमाथि मुद्दाहरु चलिरहेका छन् । यहाँ माफी भइसकेको छ, तर त्यहाँ मुद्दा चल्दैछ । यहाँ धेरै नक्सलाइटहरु छन् , तिनीहरुको मुकुण्डो उतार्नुपरेको छ र, हेर्नुपरेको छ प्रो चाइनिज हुन् कि प्रो रसियन हुन् ।
अहिले अनेरास्ववियूमा भएका माओवादीहरु आफूलाई च्याङ्ग चिङ्ग ग्रुपको भन्छ भने त्यसले आफूलाई धोका दिएको मात्र हो । चाइनमा रुसको कोही एजेण्ट भएर काम गर्छ भने त्यसले च्याङ्गचिङगलाई नै मद्दत गर्छ । त्यसका अनुयायी यहाँ चाइनिज त भएनन, ती त रसियन नै भए । संगठित चाइनिज समूह म देखिरहेको छैन् । आफूहरुलाई माओवादी भन्नेहरु रुसी समूहद्वारा नै सञ्चालित भइरहेको म देख्दैछु । चाइनिजहरु काम गरिरहेका होलान तर कहाँ काम गरिरहेका छन ? त्यो काम गर्ने क्षेत्रमा उनीहरुलाई म पाउँदिन । मसंग एकदिन सुब्रमण्यम स्वामीले सोधे– ‘कम्युनिष्टोंका क्या हाल हे ?’ मैले भनें– ‘कौन से कम्युनिष्टकी बात आप करते हैं ? राजावादी, चीनवादी, रुसवादी या इण्डियावादी ?’ ‘इण्डियन ?’ कौन, जो भारतीय कम्युनिष्ट पार्टीसे सम्बन्धित है ?’ ‘नहीँ, भारत सरकारद्वारा सञ्चालित कम्युनिष्ट भी है ।’ मैले भनें ।
चीनका प्रधानमन्त्री आए, गए । के त्यस्तो कुरा गरे । देखिएन । उनले भने, हामीलाई नेपालको राष्ट्रिय स्वतन्त्रतामा अभिरुचि छ ।’ त्यो भन्नका लागि यहाँ आउनुपर्ने नै थिएन । मैले के अर्थ लगाएँ भने उनीहरुले इण्डियासंग राम्रो सम्बन्ध पार्न लागेता पनि नेपालजस्ता देशहरुले घबडाउनु पर्दैन भन्न आए होलान । जे होस् उनले जनतालाई विश्वासमा लिने काम गरेनन । म जेलमा छँदा सुनेको थिएँ । चाइनिज एम्बेसडरले प्रदर्शनी काण्डको कुरालाई लिएर राजाको टेबुल ठटाएर कुरा गरेको थियो ।
मैले गोरखपुरमा चीनको खतरा देखाएको सन्दर्भ अर्कै छ । त्यसबेला माओत्सेतुङ थिए । ‘चिनका पाँचवटा औंलाहरुमा एउटा नेपाल हो’ भन्दथे । अब चिन बदलिसक्यो । माओलाई चिनले फ्याँकिसक्यो । प्रजातान्त्रिक शक्ति र राजाको शक्तिका बीचमा मेल भइदियो भने यस देशलाई कसैले हल्लाउन सक्दैन । प्रजातन्त्र भनेको त्यसको बुद्धिसंग सम्बन्ध छैन, जीवनसंग सम्बन्ध छ । एउटा व्यक्तिलाई थुनेर राखेर मीठो खान, राम्रो लाउन दिन्छु भनेपनि ऊ आफ्नो स्वतन्त्रता छोड्न तयार हुँदैन ।
यसको बुद्धिसंग सम्बन्ध छैन । जीवनको सबभन्दा मूलभूत प्रवृत्ति हो स्वतन्त्रता । बाँच्नुपर्छ भन्ने भावना संगसंगै स्वतन्त्रताको अन्तरनिहित भावना छ । कम्युनिष्टहरुको धोकाको तर्क दिन्छन् । रोटी चाहिन्छ कि स्वतन्त्रता ? भन्दछन् । अर्थात रोटी र स्वतन्त्रता उनीहरु परस्पर विरोधी कुराको रुपमा प्रस्तुत गर्दछन् । स्वतन्त्रता मूलभूत प्रवृत्ति होइन, भोक नै मूलभूत भन्ने हो भने जति पनि ठूला क्रान्तिहरु भएका छन, पेटको निम्ति भएका छैनन् । कुनै पनि क्रान्ति ‘पेटमा खानेकुरा भएन’ भनेर भएको छैन् । ४० लाख भोका मानिसहरु बंगालमा मरेर गए । क्रान्ति गरेनन् । त्यो पनि मिठाई पसलका अगाडि रासका रास मानिस मरे । क्रान्ति गरेनन । फ्रान्समा भएको क्रान्ति त्यसको नारा थियो समानता, स्वतन्त्रता र बन्धुत्व । अहिले पनि जहाँसुकै क्रान्तिको कुरा हुन्छ, त्यहाँ स्वतन्त्रताको भावना छ । पशुपतिमा सद्बिउ छर्न आएका लाखौं स्वास्नी मानिसहरु रोटीको निम्ति आएका होइनन् । कुनै भावनाले आएका हुन् । यो भन्नु झूठो कुरा हो, गरिब जनतालाई स्वतन्त्रताको महत्व छैन् । उनीहरुलाई झन् महत्व छ । आर्थिक कारणहरुले मात्र कहीँ पनि क्रान्ति भएको छैन् । त्यसमा जोर्नैपर्छ ठूला भावनाहरुलाई । जति ठूला लडाईं भए, नरसंहारहरु भए दुनियाँमा, आर्थिक कारणले भएका छैनन् ।
मलाई अमेरिकामा के भने भनेदेखि खान नपाएका, अशिक्षामा रहेका तिमीहरुलाई प्रजातन्त्र किन चाहियो ? त्यसो भए प्रजातन्त्र त त्यस्तो विलास रहेछ जो खान, लाउन र पढ्न सक्नेलाई मात्र हुँदोरहेछ, हामीजस्ता मानिसहरुलाई त चाहिँदो रहेनछ । म त यसलाई नभई नहुने भन्दछु , विलास मान्दिन । २०१७ सालमा राजाले यहाँ जुन काण्ड गरे, के यहाँ प्रजातन्त्र छैन भनेर काण्ड गरेको छ । त्यो धेरै राम्रोसंग सफल हुन थाल्यो भनेर आत्तिएर काण्ड गरे राजाले । प्रजातन्त्र थिएन भनेर होइन, त्यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याति बढ्न थाल्यो भनेर काण्ड गरे । पञ्चायतवादीहरुले पनि राजासंग मेलमिलाप गरिरहेका छन् । जस्तो विष्ट– उनी राजावादी हुन् ।
आज मसंग विहान एकजनाले भने– तपाईंले हिन्दुस्तानसंग मेल गर्नुपर्यो, तपाईंको एकोहोरो कुरा भयो । मैले भने– हिन्दुस्तानसंग सबभन्दा बेसी मिलेको सुवर्णजी होइन ? र, हिन्दुस्तानले पनि अत्यधिक मद्दत गरेको थियो , उहाँलाई । त्यसभन्दा बेसी त हामी मिल्यौं भने पनि मद्दत गर्न ऊ सक्दैन । अहिले हाम्रो स्थिति र सुवर्णजीलाई हिन्दुस्तानले अत्यधिक मद्दत गरेको बेलाको स्थितिमा दाँज्ने हो भने के हामी घटिया स्थितिमा छौं आज ? के यो भावनात्मक कुरा मात्रै भयो राजनीतिमा ? अहिले हामीले यो लाइन छोड्नवित्तिक्कै कसै न कसैको पोल्टामा जान्छौं । यो राजनीतिलाई व्यावहारिक भएन भनेर जो मलाई भन्दछन् , म तिनीहरुलाई यो भन्दछु । व्यावहारिक राजनीति भनेको यात राजासंग त्वं शरणम् भनेर जानुपर्यो, आफ्नो कुनै भूमिका रहने भएन । या हिन्दुस्तान जानुपर्यो, उनीहरुको पोल्टामा पर्नुपर्यो र उनीहरुकै मानिस भएर बस्नु पर्यो । हाम्रो आफ्नो कुनै भूमिका लिएर यहाँ बसेर राजनीति गर्ने हो भने यो लाइन बाहेक अरु कुनै अर्को लाइन छैन । यो जुन भूमिमा हामी काम गर्दैछौं, त्यस भूमिलाई छोड्ने वित्तिक्कै हामीहरु कुनै अरुको निर्भर शक्ति हुन पुग्ने छौं । जबसम्म हामी यस भूमिमा बसौंला, हाम्रो राजनीतिमा प्रमुख भूमिका रहिरहनेछ ।
यस लाइनको औजार पार्टी बनोस् यो त अर्कै प्रश्न छ । हाम्रो अस्तित्वको निर्वाह लाइन बाहेक अरु कुनै लाइनबाट छैन । अरु लाइनमा जाने वित्तिक्कै हामीहरु सानो कदका हुनेछौं । अहिले हामी कम्ति भएपनि प्रमुख शक्ति छौं । यो लाइन छाड्ने वित्तिक्कै हामी कसै न कसैको मातहतमा हुने छौं । हिन्दुस्तानमा सबैभन्दा मिलेर बसेको सुवर्णजीले हो । त्यसबखतको नेपाली कांग्रेस र अहिलेका नेपाली कांग्रेसमा कसको प्रतिष्ठा बढी छ ? मलाई लाग्छ, अहिले हामीले कुनै संघर्ष नगरेता पनि अहिले नेपाली कांग्रेसको प्रतिष्ठा उच्च शिखरमा छ । किनभने हामीले यो धरातल समाएका छौं ।
मलाई एकपटक माओत्सेतुङले के भन्यो भने जुन बेलासम्म हामीहरु रुसबाट निर्देशित थियौं, मलाई लाग्यो रुसबाट ठीक हुने काम हामी गर्दा रहेछौं । त्यसपछि हामीलाई लाग्यो, यो त गर्न भएन । त्यसपछि हामीले स्वतन्त्र लाइन लियौं । त्यसको ५, ६ वर्षपछि त हामीहरु सत्तामा आयौं । किनभने, ऊ अघि आफ्नो धरातलमा उभिएको थिएन , रुसको धरातलबाट काम गर्दोरहेछ । उसले आफ्नो धरातलमा उभिएर राजनीति गर्नासाथ ५,६ वर्षमा त ऊ सत्तामा आइहाल्यो । यो कुरो मलाई माओत्सेतुङले भनेको छ ।
अहिले हामीले जुन धरातल पाएका छौं मेलमिलापद्वारा, जसमा प्रजातन्त्र र राष्ट्रियताको धरातल छ, यसलाई छाड्यौं भने हाम्रो भूमिका सिद्धिएर जान्छ । संघर्ष भनेको सुवर्णजीले गरेको संघर्ष वा मैले गरेको संघर्ष भन्दा यसमा ज्यादा शक्ति छ । हामीहरु भन्दछौं– राजासंग हामी संघर्ष गर्दैनौं र व्यवस्थाका समक्ष समर्पण गर्दैनौं । मैले संघर्ष नै नगर भनेको छैन । मैले भनेको छु आफ्ना बूँताबाट हुनसक्दछ भने संघर्ष गरे हुन्छ , तर कुनै अर्काको हतियार भएर संघर्ष नगर ।
(विश्वेश्वरप्रसाद कोइरालाको राजा, राष्ट्रियता र राजनीति पुस्तकबाट साभार ।)




















प्रतिक्रिया