Logo

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, च्यासल बैठकमा पौडेल र पोखरेलले दिए यस्तो निर्देशन



काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र पारेको छ। आगामी मंसिर २ र ३ गते आयोजना हुने भेलाका लागि आज सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो।

बैठकमा पार्टी उपाध्यक्षद्वय विष्णु पौडेल र रघुजी पन्त, महासचिव शंकर पोखरेल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाललगायत नेताहरूको उपस्थिति रहेको थियो।

बैठकमा संगठन विभाग प्रमुख भानुभक्त ढकालले राष्ट्रिय कार्यकर्ता भेलाको तयारीसम्बन्धी योजना प्रस्तुत गरे। भेलालाई व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउन आवश्यक तयारीका विषयमा छलफल भएको थियो।

बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनजीविकाका सवालमा पार्टी पङ्क्तिमा एउटै बुझाइ र लय विकास गर्नु राष्ट्रिय भेलाको मुख्य उद्देश्य रहेको बताए।
पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकले सिङ्गो पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने निर्णय गरेको बताए।

उनले भने, ‘केन्द्रीय कमिटीको तेस्रो बैठकका निर्णयको आलोकमा पार्टी पङ्क्तिलाई उत्साहित बनाउँदै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुटाउन पनि राष्ट्रिय भेला सफल बनाउँछौँ। स्थानीय तहको निर्वाचनमा एमालेले आफ्नो प्रभाव र सामर्थ्य प्रदर्शन गर्नुपर्छ।’

२०८२ सालको निर्वाचनको परिणाम क्षणिक र अस्थायी धक्का भएको पार्टीको बुझाइलाई व्यवहारबाट प्रमाणित गर्दै एमालेलाई पुरानै राजनीतिक धारमा फर्काउनुपर्ने बताए।

राष्ट्रिय भेलामार्फत पार्टी पङ्क्तिलाई उत्साहित र सक्रिय बनाउँदै आगामी राजनीतिक चुनौतीको सामना गर्न तयार पारिने उनले बताए।

उनले भने, ‘सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ।’

बैठकमा पार्टी महासचिव शंकर पोखरेलले राष्ट्रिय भेलालाई सफल बनाउन सबै नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक परिचालित हुन आग्रह गरे। भेलाको सन्देश पार्टी पङ्क्ति र जनस्तरसम्म पुर्‍याउन व्यापक प्रचारप्रसारमा जुट्न पनि नेता तथा कार्यकर्तालाई आग्रह गरे।

संगठन विभाग प्रमुख भानुभक्त ढकालले राष्ट्रिय भेलाको तयारीका क्रममा अहिलेसम्म भएका कामबारे जानकारी गराए। राष्ट्रिय भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसङ्गठन तथा विभिन्न तहका जनप्रतिनिधिसहित कुल ३ हजार १६४ जनाको सहभागिता रहने जानकारी गराए।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलवार १५:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।