नेकपा (एमाले) विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एककिृत समाजवादी) निर्वाचन आयोगमा दर्ता भएपछि विभाजनको असर देशब्यापी रुपमा परेको छ । जसले गर्दा वागमती र प्रदेश नं. १ का दुई सरकार गठन भएर मुख्यमन्त्रीले विश्वासको मत लिन नपाउँदै ढल्ने अवस्थामा पुगेका छन् ।
दुइ प्रदेशका मुख्यमन्त्रीहरु स्पष्ट अल्पमतमा परेका छन् । प्रदेश नं. १ मा नेपाल नेतृत्वको दलमा १० जना सांसद खुल्ने देखिएको छ । शनिबार विराटनगरमा बसेको १० सांसदहरुको बैठकपछि प्रदेशसभामा हस्ताक्षर बुझाउने निर्णय गरेको एक सांसदले बताए ।
ती सांसदले बताए अनुसार आइतबार हस्ताक्षर संकलन गर्ने र मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा सनाखत गरिनेछ । हाललाई १० जना मात्र खुलेको भएपनि सनाखत हुने बेलासम्म १० जना सांसदहरु समाजवादीमा हुने बताईएको छ ।
बैठकमा सहभागी सांसदले दिएको जानकारी अनुसार भीम आचार्य नेतृत्वको सरकार ढल्ने र गठबन्धनको सरकार एक महिनाभित्र बन्ने निष्कर्ष निकालेका छन् ।
‘यो सरकार एक महिनाभित्र ढल्छ र अर्को सरकार बनाउने निर्णय भयो,’ ती सांसदले भने, ‘अहिले बनेको सरकार संविधान विपरीत छ, दल विभाजन भएर अर्को दल बनिसकेको सांसदहरूको अवस्था क्लियर हुनै बाँकी रहेको अवस्थामा अर्को पक्षका सांसदको समेत टाउको गनेर हतारमा बनाएको सरकार हामी विस्थापित गर्छौँ।’
समाजवादी पार्तीमा आजसम्म राजेन्द्र राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, कृष्णकुमारी राई, राजन राई, गणेशकुमार काम्बाङ, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे र पदमकुमारी गुरुङ खुलेका छन् ।
९२ सदस्यीय प्रदेशसभामा एमालेमा ५१, काँग्रेसमा २१, माओवादी केन्द्रमा १५, जनता समाजवादीमा ३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपामा १/१ जना सांसदहरु छन् । प्रदेशको सरकार टिकाउन सामान्य बहुमतको लागि मात्र पनि ४७ जना सांसदहरुको समर्थन आवश्यक पर्छ । १० जना सांसदहरु समाजवादीमा खुले भने एमालेसँग ४१ जना मात्र सांसद रहन्छन्, यदि १४ जना नै खुले भने ३७ जनामात्र सांसद एमालेका रहन्छन् ।




















प्रतिक्रिया