प्रदेश नं. १ का १० जना सांसदहरु माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा स्पष्ट रुपमा खुलेपछि नेकपा एमाले नेतृत्वको सरकार ढल्ने पक्का भएको छ । ५१ जना सांसद रहेको प्रदेश १ को एमाले विभाजनपछि ४१ जना सांसदमा खुम्चिएसँगै पार्टी सचिव भीम प्रसाद आचार्य नेतृत्वको सरकार ढल्ने पक्का भएको हो ।
उसअघि ‘तटस्थ’ देखिएका सांसदहरुले आफ्नो लाइन क्लियर गरेसँगै केपी शर्मा ओली नेतृत्वको एमाले र नेपाल नेतृत्वको एकिकृत समाजवादीका सांसदहरुको संख्या एकिन भएको छ । भावी मुख्यमन्त्रीको रुपमा हेरिएका सांसद राजेन्द्र राईले १४ जना सांसद आफूहरुसँग रहेको भनिए पनि १० जनामात्र उनकामे समूहमा खुलेका हुन् ।
एकीकृत समाजवादीमा राई सहित खिनु लङ्बा लिम्बू, सावित्रीकुमारी रेग्मी, कृष्णकुमारी राई, राजन राई, गणेशकुमार काम्बाङ्, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे, पदमकुमारी गुरुङ खुलेका छन् ।
संविधानको धारा १८८ को उपधारा २ मा ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नु पर्नेछ भनिएकोले मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनु पर्ने संबैधानिक बाध्यता छ । हाल प्रदेशको बिपक्षी गठबन्धन एकातिर र सत्तारुढ एमाले एकातिर भएकोले प्रदेशसभामा आचार्यको बहुमत पुग्दैन ।
९२ सदस्यीय प्रदेशसभामा बहुमत सावित गर्न ४७ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा हाल नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५ र जनता समाजवादी पार्टीका ३ सांसद छन् । यी तीनै दल प्रदेश १ को विपक्षी गठबन्धनमा छन् । यी तीन दलको कुल सांसद संख्या ३९ पुग्छ भने एमालेबाट फुटेर आएका १० सांसद थपिँदा गठबन्धनसँग कुल ४९ सांसद हुन्छन्, जो पूर्ण बहुमत हो । यही बहुमतले नयाँ सरकार गठन गर्न सक्ने भएकाले आचार्य नेतृत्वको सरकार विश्वासको मत नपाउँदै ढल्ने भएको हो ।




















प्रतिक्रिया