लुम्बिनीमा प्रदेशमा मन्त्रिपरिषद विस्तार हुन नसक्दा मुख्यमन्त्री कुलप्रसाद केसीलाई मन्त्रालयहरुको भारी परेको छ । सरकार गठन भएको एक महिना पुग्न लाग्दा पनि अझै मन्त्रीपरिषद विस्तार हुन सकेको छैन ।
मुख्यमन्त्री केसीले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, वन वातावरण तथा भू-संरक्षण मन्त्रालय, शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गरी ९ वटा मन्त्रालयको भारी बोकीरहेका छन् ।
गठबन्धनभित्र मन्त्रीका थुप्रै आकांक्षी भएका कारण र राजनीतिक समिकरण मिलाउनुपर्ने भएकाले मुख्यमन्त्री केसीले मन्त्रीपरिषद विस्तार गर्न नसकेको स्रोतले बतायो । स्रोतका अनुसार मुख्यमन्त्रीले मन्त्रीपरिषद विस्तार गर्न नसकेपनि गठबन्धनलाई भाग पुग्ने गरी मन्त्रालयको संख्या भने बढाएका छन् । उनले मन्त्रालयको संख्या १३ पुर्याएका छन् भने नाम समेत हेरफेर गरेका छन् ।
मुख्यमन्त्री केसीले सरकार गठन भएकै समयमा नियुक्त भएका कुनै मन्त्रीलाई पूर्ण जिम्मेवारी दिन सकेका छैनन् भने कुनैलाई थप मन्त्रालयको जिम्मेवारी बोकाएका छन् ।
मुख्यमन्त्री केसीको सिफारिसमा साउन २८ मा गठित मन्त्रिपरिषद्मा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार हेरफेर र कार्य विभाजन गरेको सूचना जारी गरेका छन् ।
प्रदेश प्रमुख कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै यसअघि ग्रामीण तथा सहरी विकास मन्त्री रहेका डिल्लीबहादुर चौधरीलाई पर्यटन समेत थपेर पर्यटन, ग्रामीण मन्त्रालयको जिम्मेवारी दिएको जनाएको छ । सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्कालाई सहकारी मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ ।
यस्तै यसअघि विना विभागीय मन्त्री बनेका अजयबहादुर शाहीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएको छ । जसपाका दुई मन्त्री पुरमति ढेंगा र सुमन शर्मा रायमाझी विना विभागीय नै छन् ।




















प्रतिक्रिया