Logo

गण्डकी प्रदेश

एमाले पुन: फूटको संघारमा, जेठ २ मा नफर्किने ओलीको घोषणा



प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) पुन: फूटको संघारमा पुग्ने देखिएको छ । संस्थापन पक्ष पार्टीमा तेश्रो धार निर्माण गरेर एमालेमै विलिन भएका नेताहरुले भने भनेझैं २०७५ जेठ २ को अवस्थामा फर्किन तयार नभएपछि तेश्रो धारबाट विलीन भएका नेताहरुलाई नैतीक संकटमा पुर्‍याएकाले पार्टी फूटको संघारमा पुग्ने देखिएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार एमाले जेठ २ मा नफर्किने स्पष्ट पार्दै तेश्रो धारका नेताहरु १० बुँदे सहमति अनुरुप पार्टीमा फर्किएको बताए । पोखरामा एमालेको कास्की कमिटिले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जेठ २ सराद्धेमा बिरालो बाँधेको वाध्यता नभएको बताएका हुन् ।

१० बुँदे सहमति तत्कालीन अवस्थामा पार्टीको समस्या समाधानका लागि भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यही १० बुँदेको माध्यमबाट हिजो माधव नेपालतर्फ लाग्नेहरू हामी झुक्किएका रहेछौँ भन्दै आएको र आफूहरू एकै कित्तामा रहेको दाबी गरे । माधव नेपालको पार्टी फुटाएर प्रतिक्रियावादीहरूलाई फाइदा पुर्‍याउने नियत रहेछ भन्ने बुझेकाहरू एक ठाउँमा आएको समेत ओलीले बताए ।

देशकै ठूलो पार्टी प्रतिपक्षमा पुग्यो भनेर निराश नहुन पार्टीका कार्यकर्ताहरुलाई आग्रह गर्दै परमादेशको सरकारले जनताको समस्यामा ध्यान नदिएकाले देशले दुख पाउन थालेको आरोप लगाए । पार्टीको संकल्प देश बनाउने रहेकोले पार्टीका नेता–कार्यकर्ताहरु धनुषबाट वाँड छुटे जस्तो सन्सनाएर अगाडि बढ्नु पर्ने भनाई ओलीको थियो ।

तत्कालीन बरिष्ठ नेता माधवकुमार नेपालको समूहमा रहेर नेपालले पार्टी विभाजन गर्ने बेलामा तेश्रो धार निर्माण गरेर एमालेमा विलिन भएका नेताहरुले पार्टी जेठ २ मा फर्किएको बताई रहेका बेला अध्यक्ष ओलीले भने त्यसको उल्टो व्याख्या गरेका छन् । १० बुँदे सहमतिको जगमा पार्टी जेठ २ मा फर्किएको तेश्रो धारको भनाइ रहेका बेला ओलीले जेठ २ मा फर्किन नसकिने बताएसँग पार्टीमा पुन: दुइलाइन संघर्ष चल्ने स्पष्ट देखिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलवार १९:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।