Logo

कोशी प्रदेश

प्रदेश १ मा मुख्यमन्त्री आचार्य विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी, कस्तो छ अंक गणित ?



पदभार ग्रहण गर्दाताकादेखि नै अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ । हाल विपक्षी गठबन्धनमा रहेका दलहरुले आचायै विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका हुन् ।

गत भदौ २ गते माधवकुमा नेपालको नेतृत्वमा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै एमाले नेतृत्वको सरकारलाई निरन्तरता दिन प्रदेशका मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो । नेपालको समूहमा रहेका आचार्य मुख्यमन्त्री बन्न पाउने भएपछि एमालेमै रहेका थिए ।

नवगठित एकिकृत समाजवादीका नेताहरुले एमाले त्याग गरेमा मुख्यमन्त्री पद जोगाई दिने बताएका थिए । तर विभाजित दल रोज्न निर्वाचन आयोगले जनप्रतिनिधिहरुलाई दिएको समयसीमा भदौ २२ गते नै सकिएको छ । जसले गर्दा एमालेको सचिव रहेको मुख्यमन्त्री आचार्य विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारीमा गठबन्धन रहेको छ ।

निर्वाचन आयोगले नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई प्रदेशमा प्रमाणपत्र दिएलगत्तै संसदीय दलको नेता चुन्ने र त्यसपछि सरकार परिवर्तनको औपचारिक प्रक्रिया सुरु हुने गठबन्धनभित्रका नेताहरुले बताएका छन् ।

मुख्यमन्त्री आचार्यले राजीनामा नदिने अडान राखेका कारण आफूहरुले अविश्वासको प्रस्ताव ल्याएर भए पनि विकल्प खोज्न बाध्य हुनुपरेको गठबन्धनका नेताहरुको भनाइ छ । प्रदेश सरकारको नेतृत्वका लागि नेपाली कांग्रेस र एकिकृत समाजवादीले चासो राखेको भएता पनि समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने बढी सम्भावना रहेको छ ।

प्रदेशसभामा एमालेको कुल ५१ सांसद रहेकोमा १० जना नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् । प्रदेशसभामा कुल ९३ सांसद छन् । जसका आधारमा बहुमतका लागि कम्तीमा ४६ सांसद आवश्यक पर्छ ।

प्रदेशसभामा काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादी पार्टीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना गरी जम्मा ५० सांसद हुन्छन् । यसरी हेर्दा हालको विपक्षी गठबन्धनले स्पष्ट बहुमतका साथ सरकार बनाउन सक्छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार ११:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।