Logo

धर्म / संस्कृति

विजयादशमीको दोश्रो दिनमै काठमाडौंमा बढ्यो चहलपहल



काठमाडौं । बडादशैँमा सुनसानप्रायः बनेको काठमाडौँमा दशैँको टीकासँगै चहलपहल बढेको छ। दशैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी रहेको छ । विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउने चलन छ ।

काठमाडौँ उपत्यकामा पनि दशैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लो रूपमा देखिएको छ । योपटकको दशैँमा विगतका वर्षभन्दा केही बढी सङ्ख्यामा सवारीसाधन सञ्चालन भएकाले पनि सर्वसाधारणलाई राहत भएको छ ।

उपत्यकामा पातलो सङ्ख्यामा भए पनि खाद्यान्न, दूध तथा तरकारीका पसल खुलेका छन् । तुलनात्मक रूपमा आज सडकमा गाडी बाक्लो सङ्ख्यामा चलेका देखिन्छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज पनि काठमाडौँ उपत्यकामा दशैँको टीका र आशीर्वाद थाप्न जानेको चहलपहल बाक्लै छ । टीकाको पहिलो दिनभन्दा आज केही बढी गाडी चलेका छन् । सवारीको चहलपहल बढे पनि सडकमा जामको चाप भने नरहेको ट्राफिक प्रहरीको भनाइ छ ।

उपत्यकामा आज अपराह्नसम्म कुनै अप्रिय घटना नभएको र सडकमा सवारीसाधन निर्बाध रूपमा सञ्चालन भइरहेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार १५:०८   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।