भर्जिनिया । अमेरिकाको भर्जिनिया राज्यमा पत्नीको शव टुक्राटुक्रा पारेको स्वीकार गरेका नरेश भट्टलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरिएको छ। पत्नीको मृत्यु आत्महत्याका कारण भएको दाबी गर्दै आएका भट्टको भनाइलाई अस्वीकार गर्दै मङ्गलबार जुरी (न्यायिक समितिका सदस्य) ले उनलाई दोषी ठहर गरेको हो।
गत साता अदालतमा दिएको बयानका क्रममा भट्टले आफूले पत्नीलाई अचेत अवस्थामा फेला पारेको र उनलाई होसमा ल्याउन नसकेपछि आत्तिएर शव टुक्राटुक्रा पारेको तथा त्यसलाई विभिन्न ठाउँमा फालिदिएको बताएका थिए। तर, उनले पत्नी ममता काफ्ले भट्टको हत्या गरेको कुरा भने अस्वीकार गरेका थिए। ममताको शव भने अहिलेसम्म फेला परेको छैन।
३९ वर्षीय भट्टलाई पत्नीको शव लुकाएको र शवलाई टुक्राटुक्रा बनाएको अभियोगमा पनि दोषी ठहर गरिएको छ। यससँगै केही महिनाअघि ममता अचानक बेपत्ता भएपछि सुरु भएको यो घटनासम्बन्धी मुद्दाले नयाँ मोड लिएको छ।
प्रथम श्रेणीको हत्याको अभियोगमा भट्टलाई आजीवन कारावाससम्मको सजाय हुन सक्छ। त्यस्तै, शवसँग छेडछाड तथा विकृत बनाएको दुई अभियोगमध्ये प्रत्येकमा थप पाँच वर्षसम्म कैद सजाय हुन सक्नेछ। अदालतमा फैसला सुनाइँदा भट्टको अनुहारमा कुनै भाव देखिएको थिएन। उनले केही समय आफ्ना वकिलसँग कुराकानी गरेका थिए।
फैसला सुनिएपछि ममताको परिवारका सदस्यहरूले एकअर्कालाई अँगालो हालेर खुसी व्यक्त गरेका थिए। परिवारका एक सदस्यले सरकारी वकिललाई धन्यवादसमेत दिएका थिए।
भट्टलाई आगामी मार्च १२ मा सजाय सुनाउने अपेक्षा गरिएको छ। अदालतले उनको धरौटीमा रिहा हुने सुविधा पनि खारेज गरेको छ।
प्रिन्स विलियम काउन्टी तथा मानासस र मानासस पार्क सहरकी सरकारी वकिल एमी एशवर्थले विज्ञप्ति जारी गर्दै भनिन्, ‘यो फैसला ममता काफ्ले भट्टका लागि न्याय सुनिश्चित गर्ने दिशामा एउटा महत्त्वपूर्ण कदम हो। उनको जीवन दुःखद रूपमा समाप्त पारियो र उनको परिवारले लामो समयसम्म कल्पनाभन्दा बाहिरको पीडा र अनिश्चितता भोग्नुपर्यो ।’
उनले थपिन्, ‘आजको फैसलाले परिवारलाई केही हदसम्म न्यायको अनुभूति गराउने र अगाडि बढ्न सहयोग गर्ने आशा गरेकी छु। ममताको जीवन महत्त्वपूर्ण थियो, उनको कथा सुनिएको छ र यस घटनाका लागि जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाइएको छ भन्ने कुरा परिवारले थाहा पाउन सकोस्।’
भट्टका वकिलले मुद्दाको प्रक्रिया पूरा नभएसम्म यसबारे टिप्पणी गर्न नसक्ने बताएका छन्।
अचानक बेपत्ता भएकी थिइन् ममता
प्रहरीका अनुसार ममता काफ्ले भट्टलाई अन्तिमपटक सन् २०२४ जुलाई २७ मा भर्जिनियाको मानाससस्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको थियो। २८ वर्षीया ममता त्यहीँ दर्तावाला नर्सका रूपमा कार्यरत थिइन्।
अर्को दिन उनकी एक साथीले फोनमा ममतासँग कुराकानी गरेकी थिइन्। त्यसै दिन ममताले आफ्नी शिशु छोरीसँगको एउटा भिडियो टिकटकमा पोस्ट गरेको सीएनएनसँग सम्बद्ध सञ्चारमाध्यम डब्लुजेएलएले जनाएको छ।
ममता बेपत्ता भएपछि उनका पति नरेशले आफूलाई उनको अवस्थाबारे केही थाहा नभएको बताएका थिए। उनले प्रहरी र सञ्चारमाध्यमसँगको कुराकानीमा आफूले ममतालाई उनी बेपत्ता भएको खबर प्रहरीलाई दिनुभन्दा केही दिनअघि घरमा सँगै खाना खाने क्रममा अन्तिमपटक देखेको बताएका थिए।
ममताको अचानक बेपत्ता हुनुलाई परिवारले निकै चिन्ताजनक रूपमा लिएको थियो। उनकी छोरीको पहिलो जन्मदिन आउन केही साता मात्रै बाँकी थियो। त्यसपछि उनको खोजीका लागि व्यापक अभियान सञ्चालन गरिएको थियो।
मङ्गलबारको फैसला आएपछि ममताकी निकट साथी तथा पूर्वसहकर्मी होली विर्थले मुद्दाको अनुसन्धान र न्यायिक प्रक्रियामा संलग्न सरकारी वकिल तथा प्रहरीलाई धन्यवाद दिइन्।
उनले आफ्ना दुई निकट साथीहरूको विशेष प्रशंसा गर्दै भनिन्, ‘हामी तीनै जनाले ममतासँग केही नराम्रो भएको छ भनेर निरन्तर आवाज उठायौँ। प्रहरीले हाम्रो कुरा सुनेन, त्यसपछि हामी झन् ठूलो स्वरमा बोल्यौँ।’
अदालतबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्, ‘सत्य बाहिर आएको छ। उसले उनको हत्या गर्यो , उनको शरीरलाई विकृत बनायो र फोहोर फालेजस्तै फालिदियो। तर, म एउटा कुरा भन्न चाहन्छु, उनी फोहोर होइनन्। उनी त्यतिबेला पनि फोहोर थिइनन् र आज पनि होइनन्।’
उनले ममताकी छोरीलाई आमाले कति माया गर्थिन् भन्ने कुरा सधैँ सम्झाउने प्रतिबद्धता व्यक्त गर्दै भनिन्, ‘ममता, हामी तिम्री छोरीले तिमीलाई कति माया गरिन्थ्यो भन्ने कुरा थाहा पाओस् भनेर सक्दो प्रयास गर्नेछौँ। हामी उनलाई सम्भव भएसम्म राम्रो जीवन दिनेछौँ।’
ममताकी अर्की निकट साथी तथा सहकर्मी सुनिता बस्नेतले मङ्गलबारको दिनलाई ‘महत्त्वपूर्ण दिन’ भन्दै फैसलाप्रति खुसी व्यक्त गरिन्। तर, उनले घरेलु हिंसासम्बन्धी विषयमा समुदायमा अझै धेरै काम गर्न आवश्यक रहेको बताइन्।
उनले भनिन्, ‘यस्ता घटना भइरहँदा पनि धेरै युवती, हाम्रा दिदीबहिनी, छोरीहरू र आमाहरू ममताजस्तै मारिने धम्कीको सामना गरिरहेका छन्।’ उनले प्रत्येक छोरी, पत्नी र हरेक मानिसलाई सुरक्षित राख्नुपर्ने तथा उनीहरूलाई मानवीय व्यवहार गर्नुपर्नेमा जोड दिइन्।
छ हप्तासम्म चलेको सुनुवाइमा अप्रत्याशित बयान
यस मुद्दाको सुनुवाइ छ हप्तासम्म चलेको थियो। यस अवधिमा जुरीका सदस्यहरूले ममताकी आमा गीता र उनका भाइ महेशसहित विभिन्न व्यक्तिको बयान सुनेका थिए। उनीहरूले दोभासेमार्फत अदालतमा बयान दिएका थिए।
ममताकी साथी सुनिता बस्नेतले पनि अदालतमा बयान दिएकी थिइन्। फैसला सुनिएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले घटनासँग सम्बन्धित सबै ‘खतराका सङ्केत’ आफूले पहिले नै देखेको बताइन्।
तर, मुद्दाको सबैभन्दा चकित पार्ने बयान नरेश भट्टले अदालतमा दोस्रो दिन बयान दिने क्रममा दिएका थिए। उनले पहिलोपटक पत्नीको शव टुक्राटुक्रा पारेको र त्यसलाई फालिदिएको स्वीकार गरेका थिए।
तर, उनले आफूले हत्या नगरेको दाबी दोहोर्यावएका थिए। राति निद्राबाट ब्युँझिँदा पत्नी ममता शयनकक्षमा अचेत अवस्थामा लडिरहेको, वरिपरि बान्ता र रगत देखिएको तथा नजिकै विषाक्त कीटनाशक औषधि रहेको देखेपछि आफू आत्तिएको उनको भनाइ थियो।
यसअघि भने उनले सार्वजनिक रूपमा पत्नीलाई के भयो भन्नेबारे आफूलाई केही थाहा नभएको बताउँदै आएका थिए। ममता ढाडको बलमा पल्टिरहेकी थिइन्। उनको वरिपरि चक्की मिसिएको बान्ता र रगत थियो। नजिकै अत्यन्त विषालु कीटनाशक औषधि ‘सेल्फोस’ को खुला प्याकेट पनि रहेको थियो।
डब्लुयुएसएले जनाएअनुसार भट्टले करिब एक घण्टासम्म पत्नीलाई कृत्रिम श्वासप्रश्वास दिएर बचाउने प्रयास गरेको बताएका थिए। त्यसपछि उनलाई बाथरुममा लगेका थिए। तर, अदालतमा बयान दिने क्रममा उनले त्यतिबेला आपत्कालीन सेवा ९११ मा फोन किन नगरेको भन्ने कुरा आफूलाई थाहा नभएको बताए।
‘मैले किन फोन गरिनँ, मलाई थाहा छैन। मैले फोन गर्ने प्रयास गरेको थिएँ। म निकै डराएको थिएँ। किन त्यस्तो भयो, मलाई थाहा छैन। कुनै कुराले मलाई नियन्त्रणमा लिएजस्तो भयो। म असाध्यै आत्तिएको थिएँ। मलाई केही थाहा छैन,’ उनले अदालतमा भनेका थिए।
त्यसपछि उनले पत्नीको शव लुकाउने निर्णय गरेको बताएका थिए। सुरुमा शवलाई पोटोम्याक नदीमा फाल्ने विचार गरेको र पछि फोहोर फाल्ने भाँडोमा राखेर फाल्ने प्रयास गरेको उनले बयान दिएका थिए।
तर, शव फोहोर फाल्ने भाँडोमा नअटाएपछि उनले त्यसलाई टुक्राटुक्रा पार्न थालेको बताएका थिए। भट्टका अनुसार उनले ममताको क्षतविक्षत शवलाई धेरैवटा फोहोर राख्ने प्लास्टिकका झोलामा राखेका थिए। त्यसपछि आफू पहिले बस्ने गरेको अपार्टमेन्ट परिसरमा रहेको फोहोर थिच्ने मेसिन (ट्र्यास कम्प्याक्टर) मा ती झोलाहरू फालेको उनले स्वीकार गरेका थिए।
त्यस क्रममा उनले त्यतिबेला ११ महिनाकी रहेकी आफ्नी छोरीलाई समेत केही पटक आफूसँगै लगेको स्वीकार गरेका थिए।





















प्रतिक्रिया