Logo

राजनीति

मैले नबिर्सने फागुन २३



संसदमा माईक फोडेको, कुर्सी भाँचेको दृश्य बाहिर बसेर हेरेको सुनेको थिएँ । दानहरुमा सर्वाधिक महत्वको दान मतदान मानिन्छ ।  जनताको मन, मुटु र मस्तिष्क लिएर त्यो थलोमा जम्मा भएका जनप्रतिनिधिहरु संसदमै किन रेस्लिङ खेल्छन् ? एकातिर संसदका बैठक चलिरहेकै हुन्छ, अर्कातिर सांसद तन्द्रामा देखिन्छन् । विकासका उपासक मानिने सांसद किन विनासका कारक बन्छन ? सियो चोर्ने त कानुनी कठघरामा उभिनुपर्छ भने संसदजस्तो संवेदनशील ठाउँमा उपद्रो मच्चाउनेप्रति नियम कानुन किन मौन हुन्छ ? के सांसद भनेका हिन्दी सिनेमाका ‘हिरो’ हुन ? पत्रकारितामा नलाग्दा यस्ता प्रश्नले मलाई घोच्थे । कस्तो होला त्यो ठाउँ ? कसरी हुन्छ संसदीय रिपोर्टिङ ? त्यहाँ जाने बाटो कसरी तय होला रु यी मेरा तर्कनाहरुको उत्तर स्वयं मैले फागुन २३ गते पाएँ । 

‘अनलाइन पाना’ डटकम मेरो पत्रकारिता यात्राको पहिलो पाठशाला हो । औपचारिक हिसावले म पत्रकारिताको विद्यार्थी होइन । हुन त विश्वमै पत्रकारिता गर्ने मध्ये ८० प्रतिशत पत्रकारिता नपढेका हुने रहेछन् । इच्छाशक्ति र आत्मविश्वास ठूलो योग्यता हो भन्ने यो तथ्यले पुष्टि गर्छ । म लेखन, क्यामेरा र सम्पादन तीनैतर्फ चासो राख्ने पत्रकारिताको विद्यार्थी हुँ ।

अझ अचम्म त के भयो भने जुन म संसद टेक्दै थिएँ, त्यसैदिन सूचना विभाग र संसदको पास हात परेको थियो । संसदीय मर्यादा के हुन्छ ? कुन गेटबाट पस्ने होला रु पसेर कता जाने होला ? कतै पत्रकारका नाममा जोक्कर बन्ने त होइन ? बाहिर हिम्मतिलो देखिए पनि भित्र त्रासले घर गरेको थियो । अझ राम्रो दृश्य खिच्ने र समाचार लेख्ने दुवै दायित्व थियो । कलम, कापी र क्यामेरा बोकेर संसदतिर हानिएँ ।

त्यहाँ पुगेपछि थाहा भयो– संसदमा सबैको समान हैसियत हुँदो रहेछ । सभामुखले ‘माननीय सांसद’ भनेर सम्बोधन गर्दा रहेछन । संसद हातामा चाहिँ पदीय मर्यादा हेरेर पत्रकारले ‘रेस्पोन्स’ गर्दा रहेछन् । दलका शीर्ष नेता भित्रिंदा मर्यादापालकदेखि पत्रकारहरुको सचेतता बढ्दो रहेछ । कतिपय सांसद मर्यादापालकलाई सन्चो बिसन्चो सोधेर भित्र पसेका देखिन्थे । संसद पुनस्र्थापनापछि पहिलो बैठक भएकाले सवैको अधैर्य प्रतिक्षा थियो । फोटो पत्रकारको ठूलो भीड थियो । अधिकांश टीभी, अनलाइन पत्रिकाले प्रत्यक्ष प्रसारण गरिरहेका थिए । नेताहरु अन्तर्वार्ता दिइरहेका थिए । पत्रकारका नजरमा चलेका नेता पर्दा रहेछन् । 

संसद् भवन बाहिरको दृश्य हेर्दा लाग्थ्यो– शक्तिको प्रभाव त्यहाँ पनि पर्ने गर्छ । प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष आउँदा पत्रकार मात्र हैन, ट्राफिक पुलिस, मर्यादा पालक समेत विशेष सतर्क हुँदा रहेछन् । यसैलाई शक्ति र सत्ताको प्रताप भन्छन क्यारे । मेरो दृष्टिमा संसद महासागर हो । जनताको समस्याबारे एउटा सांसदलाई जति चासो हुन्छ, त्यहाँको रिर्पोटिङमा जाने पत्रकार पनि उतिक्कै संवेदनशील हुनुपर्छ ।

संसदीय प्रणालीको इतिहास जान्नुपर्छ । संसदको विषयमा नेपालको अभ्यास बुझ्नुपर्छ । संसदको सही सत्य समाचार ऐना भएर प्रस्तुत गर्नुपर्छ । यात्रा सजिलो छैन, यसको मतलव असम्भव पनि छैन् । रिर्पोटिङका विषयमा अफिसमा सरहरुले दिएको मार्गदर्शन उतिक्कै स्मरणीय ठानेको छु । थोरै समयमा पाएको यो चुनौतीलाई अवसरका रुपमा ग्रहण गर्ने संकल्प लिएको छु ।

भागवत गीताले भनेको याद आउँछ– जे हुन्छ , राम्रैका लागि हुन्छ । अदालतले संसद पुनस्र्थापना गरिदिएपछि मैले संसदमा रिर्पोटिङको जिम्मेवारी पाएको छु । कामबाटै मेरो परिचय स्थापित हुने हो । परिणाम जे आओस तर कर्मप्रति इमान्दार हुनुपर्छ भन्ने दिव्यज्ञानबाट कहिल्यै चुक्ने छैन् ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आईतवार १४:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।