विराटनगर । प्रदेश नं. १ मा छोटो अवधि सरकार चलाउँदा ठूलो संख्यामा राजनीतिक नियुक्ति दिएका निवर्तमान मुख्यमन्त्री भीम आचार्य नेतृत्व सरकारले गरेका निर्णयहरु वर्तमान सरकारले खारेज गर्ने भएको छ । ६८ दिन सरकारमा रहँदा आचार्य नेतृत्वको सरकारले गरेका ७५ नियुक्तिलाई अवैधानिक भन्दै वर्तमान गठबन्धनको सरकारले नियुक्ति बदर गर्न लागेको हो ।
अघिल्लो सरकारले गरेका सबै राजनीतिक नियुक्तिहरु बदर गरी ७५ जनालाई नै पदमुक्त गर्न लागेको जानकारी प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्बो ‘मौसम’ ले दिए । केही प्रकृयागत अल्झनले अलिकति समय लागेको बताउँदै मन्त्री आङ्बोले निजहरुलाई पदमुक्त गर्ने प्रकृया सुरु गरिसकिएको बताए ।
अनलाइनपानाले पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्तिका सम्बन्धमा राखेको जिज्ञासामा मन्त्री आङ्वोले ती नियुक्तिहरु अवैधानिक भएकोले मन्त्रिपरिषद्ले त्यसलाई खारेज गर्ने बताए । आचार्य मुख्यमन्त्री हुँदा विभिन्न निकायमा नियुक्त गरिएका राजनीतिक पदमा रहेका व्यक्तिहरु पदमुक्त हुनेछन् । यस्ता ७५ पदमा रहेका सबै व्यक्तिहरुलाई मंसिर महिनाभित्रै विदाइ गर्न लागिएको मन्त्री आङ्बोको भनाइ रहेको छ ।
‘अघिल्लो सरकारले गरेका नियुक्तिहरु बिना प्रकृया गरिएका हुन् । सबै साथीहरुलाई हामी मंसिर महिनाभित्र विदा गर्छौं ।’- मन्त्री आङ्बोले भने ।
गठबन्धनको नेतृत्व गर्दै प्रदेशको मुख्यमन्त्री बनेका नेकपा (एकिकृत समाजवादी)का प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिलाई स्वीकार गर्न नसकिने बताएका थिए । प्रदेश सरकारको यो निर्णय कार्यान्वयन भएसँगै ठूलो संख्यामा एमाले कार्यकर्ताहरु बेरोजगार हुने भएका छन् ।
यी हुन् प्रदेश नं. १ मा पदमुक्त हुन लागेका एमाले कार्यकर्ताहरु
निवर्तमान मुख्यमन्त्री भीम प्रसाद आचार्यले प्रदेश खेलकुद विकास वोर्डको सदस्य सचिवमा नियुक्त गरेका परशुराम बस्नेत सबैभन्दा विवादित व्यक्ति हुन् । उनी विराटनगर क्षेत्रमा डनका रुपमा चिनिएका गुण्डानाइके हुन् । गुण्डागर्दीमा संलग्न हुँदै गर्दा महेश बस्नेतको आशिर्वाद पाएका परशुराम सम्पत्ति शुद्धीकरणको मुद्धामा जेल समेत बसेका व्यक्ति हुन् ।
पूर्वमुख्यमन्त्री शेरधन राइकै पालामा बस्नेतलाई गतिलो पदमा नियुक्ति दिने तयारी गरिएको भएतापनि आचार्यको पालामा वोर्डको सदस्य सचिवमा नियुक्ति पाउन बस्नेत सफल भएका हुन् । राई नेतृत्वको सरकारले उनलाई पदमुक्त गर्ने तयारी गरेको छ ।
त्यसैगरी पाँचथरकी एमाले कार्यकर्ता बाबा मेन्याङबोले समेत वोर्डको उपाध्यक्षबाट हात धुनु पर्ने भएको छ । मेन्याङ्बो भने लामो समयदेखि खेलकुद क्षेत्रमै सक्रिय खेलाडी हुन् । उनीसँगै वोर्ड सदस्यमा नियुक्त भएका भेषराज कार्की, विप्लव घोष र थलु राजभण्डारीको पनि पद जाने भएको छ ।
उनीहरुकासँगै प्रदेश बोर्डले नियुक्त गरेका १४ वटा जिल्लाका अध्यक्ष र उपाध्यक्ष गरी २८ जना एमाले कार्यकर्ताहरुले पनि पद गुमाउने भएका छन् ।
आचार्य नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश पर्यटन बोर्डका उपाध्यक्ष फणिन्द्र अधिकारी तथा सदस्यहरु देवी गौतम, भीमराज राई, उमेश घिमिरे, प्रेरणा थापा र इन्दिरा श्रेष्ठ तथा प्रदेश श्रम सल्लाहकार समितिका उपाध्यक्षमा राजीव घिमिरे पनि राई नेतृत्वको सरकारको निशानामा रहेकाले उनीहरुको पद समेत जोगिने छैन ।
समितिका सदस्यहरू भीम घिमिरे, सरोज श्रेष्ठ, सीता उपाध्याय, रज्जु सिग्देल, किशोर धमला, अरुण थापा, नारायणबाबु कार्की, सुनिता घिमिरे, टीका प्रसाईँ र निलम साह सुनारको मात्र नभइ प्रदेशको बाल अधिकार परिषद्मा ४ जना, अपांग समन्वय समितिका उपाध्यक्षसहित १५ जनाले पनि पद गुमाउने भएका छन् ।
पत्रकारहरूले नै विरोध गर्दै आएका सञ्चार प्रतिष्ठानमा नियुक्त चार सदस्यका रुपमा रहेका कार्यकर्ताले पनि हात धुनु पर्ने भएको छ । उनीहरुको विदाइसँगै गठबन्धनको तर्फबाट नयाँ योग्य व्यक्तिहरु छनोट गरी जिम्मेवारी दिने तयारी भइरहेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्बो ‘मौसम’ ले बताए ।




















प्रतिक्रिया