Logo

प्रदेश

कांग्रेसको ६१ जिल्लामा अधिवेशन सम्पन्न : देउवा, पौडेल र सिटौलामध्ये को बलियो ?

बाँकी १६ जिल्लामा केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन हुने



काठमाडौैं । नेपाली कांग्रेसले हालसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ । दसैंअगाडि नै १४ हिमाली जिल्लामा अधिवेशन सकिसकेको कांग्रेसले एक मात्र प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा मंसिर ६ र एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन भएका जिल्लामा मंसिर १० मा जिल्ला अधिवेशन गरेको थियो। जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लामा भने अब केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन हुनेछ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार, प्रदेश २ का रौतहट, सर्लाही, सप्तरी, सिरहा, बारा, पर्सा, धनुषा र महोत्तरी जिल्लामा जिल्ला अधिवेशन भएको छैन।

साथै बाँके, नवलपुर, सिन्धुपाल्चोक,कैलाली, अछाम, मकवानपुर, चितवन र सिन्धुलीमा पनि जिल्ला अधिवेशन हुन सकेको छैन। ‘यी जिल्लामा केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन हुने सचिव श्रेष्ठले बताए । जिल्ला अधिवेशन सकिएका ६१ जिल्लामा भने वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्रको अधिवेशन पनि सकिएका छन्।

६१ जिल्लाका प्रतिनिधिसभा क्षेत्रबाट कांग्रेसले २६ जनाका दरले महाधिवेशन प्रतिनिधि पनि चयन गरिसकेको छ। ६१ जिल्लामा अधिवेशन हुँदा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कडा प्रतिस्पर्धा भएका थिए। केही ठाउँमा भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत निकटहरू पनि प्यानलसहित नै प्रतिस्पर्धामा उत्रिएका थिए।

काठमाडौंमा भने यसपटक पनि पूर्वमहामन्त्री प्रकाशमान सिंहले पकड कायमै राखेका छन्। सिंहलाई साथ दिन केन्द्रीय सदस्य गगन थापा पनि आउँदा यो समूहले अधिकांश स्थान जितेको छ। १ सय ३८ वडामध्ये अधिकांशमा सिंह-थापा पक्षले जितेका छन्। ११ पालिकामध्ये ९ मा सिंह-थापानिकट जितेका थिए ।

२० प्रदेश सभा क्षेत्रमा १८ स्थानमा सिंह-थापाले जिते भने १० प्रतिनिधि सभा क्षेत्रमध्ये ८ क्षेत्रमा यो जोडीले निर्वाचन जितेका थिए।

झापामा भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मानिकट प्रतिस्पर्धामा उत्रिएका थिए। शर्माले पहिलेभन्दा यसपालि आफ्नो पक्षमा महाधिवेशन प्रतिनिधिलगायत पार्टी अधिवेशनमा पनि प्रभाव जमाएका छन् । तर जिल्ला सभापति भने सिटौला पक्षले नै जितेको थियो। यसपटककाे कांग्रेस नेताहरूले केन्द्रमा भन्दा पनि जिल्लाहरूमा स्थानीय आवश्यकता भन्दै भिन्नभिन्न गुटसँग सहकार्य पनि गरेका थिए। नवलपरासीमा सभापति देउवा र महामन्त्री शशांक कोइराला वरिष्ठ नेता पौडेल पक्षधरसँग चुनावी प्रतिस्पर्धामै उत्रिएका थिए।

काठमाडौंमा पनि सिंह-थापा निकटका प्यानलविरूद्ध सभापति देउवा, पूर्वमहामन्त्री सिटौला र नेता भीमसेनदास प्रधानले संयुक्त प्यानल नै बनाएका थिए। देउवा र सिटौला पक्षले काठमाडौं, काभ्रेलगायत क्षेत्रमा संयुक्त प्यानल बनाएको थियो। काभ्रेमा यो प्यानलले जिल्ला सभापति नै जितेको छ।

जिल्ला सभापति जित्नेमा सभापति देउवा अगाडि छन्। उनलाई नेता पौडेलले पछ्याइरहेका छन् । पौडेल पक्ष लुम्बिनी प्रदेशमा बलियो देखिएको छ भने अन्यत्र देउवा नै बलिया देखिएका छन्। अहिलेसम्म आएका महाधिवेशन प्रतिनिधिमा आफूहरू पक्षको धेरै आएको देउवा पक्षको दाबी छ। तर संस्थापनइतर समूहबाट पनि हाराहारीमै महाधिवेशन प्रतिनिधि आएका छन्।

केही जिल्ला सभापतिहरू भने आफूहरू कुनै पक्षमा पनि नलागेको दाबी गर्छन् । सर्वसम्मत चयन भएका कतिपय जिल्लाका सभापतिहरू भने आफूनिकट रहेको दाबी देउवा, पौडेल र सिटौला पक्षकै रहने गर्छ।

कुन जिल्लामा कसको जित ?

देउवा पक्षले जितेका सभापति र जिल्लाहरु :


सभापति युवराज जोशी – पर्वत
सभापति डम्बरबहादुर खड्का -इलाम
सभापति खड्ग पोखरेल – सुर्खेत,
रूपन्देही, सभापति रामकृष्ण खाण
सभापति किशोरदत्त बराल-कास्की
सभापति तीर्थ लामा -काभ्रे
सभापति जितप्रकाश आले -तनहुँ
सभापति जितेन्द्रकुमार श्रेष्ठ -ललितपुर
सभापति पदम बोगटी- कञ्चनपुर
सभापति हिमाल कार्की -उदयपुर
सभापति दुर्लभ थापा -भक्तपुर
सभापति अरूणप्रकाश सिंह राठौर -बर्दिया
सभापति नाम्गेल जाङ्बु शेर्पा – सोलुखुम्बु,
सभापति पेम्वाछिरिङ तामाङ -रसुवा
सभापति दिनेश राई- धनकुटा

सभापति टकराज गुरूङ – लमजुङ,
सभापति केशवबहादुर विष्ट – सल्यान
सभापति दीपेन्द्रबहादुर शाही – डोल्पा
सभापति भीमबहादुर साउद – डडेल्धुरा
सभापति खमबहादुर गर्बुजा – म्याग्दी
सभापति गजेन्द्रप्रसाद तुम्याहाङ -ताप्लेजुङ
सभापति ऐनबहादुर शाही – मुगु
सभापति रूपनारायण जवेगु – पाँचथर
सभापति शंकर गुरूङ देउवा – मनाङ
सभापति मोहनविक्रम सिंह – हुम्ला
सभापति खड्क बोहरा – बझाङ
सभापति पूर्णबहादुर (कान्छाराम) तामाङ – रामेछाप
सभापति कर्णबहादुर शाही – जुम्ला
सभापति बेदराज सिंह – जाजरकोट
सभापति नरेन्द्रबहादुर सिंह – डोटी
सभापति प्रेमप्रकाश वली – रूकुम पश्चिम
सभापति तेजेन्द्र खनाल – ओखलढुंगा

वरिष्ठ नेता पौडेल पक्षले जितेका सभापति र जिल्लाहरु

सभापति विष्णुकुमार गिरी – प्युठान
सभापति केशव श्रेष्ठ – अर्घाखाँची
सभापति किशोर आचार्य – रोल्पा
सभापति चतुरबहादुर चन्द – बैतडी
सभापति बर्मा लामा – दोलखा
सभापति नन्दप्रसाद न्यौपाने – गोरखा
सभापति अम्बबहादुर शाही – कालिकोट
सभापति दीपक खड्का – संखुवासभा
सभापति केशरमान रोका – रूकुमपूर्व
सभापति रोमीगौचन थकाली – मुस्ताङ
सभापति विनोद वान्तवा – भोजपुर
सभापति रामसिंह रावल – बाजुरा
सभापति अर्जुन तुम्बाहाम्फे – तेह्रथुम
सभापति अर्जुनकुमार पोखरेल, नवलपरासी पश्चिम
सभापति हिमालदत्त श्रेष्ठ – पाल्पा
सभापति राजु थापा – स्याङ्जा
सभापति विष्णुकुमार राई – खोटाङ
सभापति ललितसिंह बोहरा – दार्चुला
सभापति रमेश महत – नुवाकोट
सभापति शंकरप्रसाद डाँगी – दाङ
सभापति मणिराम रेग्मी – दैलेख
सभापति खिलध्वज पन्थी – गुल्मी
सभापति कृष्णसबुज बानियाँ – काठमाडौं
सभापति रामनाथ अधिकारी – धादिङ
सभापति केदार भण्डारी – सुनसरी
सभापति अब्दुल कलाम खाँ- कपिलबस्तु

सभापति डिगबहादुर लिम्बू – मोरङ


पूर्वमहामन्त्री सिटौला पक्षले जितेका सभापति र जिल्लाहरु :

सभापति देउमान थेवे – झापा
सभापति जित शेरचन – बागलुङ

प्रकाशित मिति : १९ मंसिर २०७८, आईतवार ०९:५२   :  बजे

777
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।