नेपाली कांग्रेसको ६ वटा प्रदेशमा अधिवेशन सकिएको छ । प्रदेश नं. २ मा भने कतिपय जिल्ला अधिवेशन नहुँदा र मतदाता नामावली नै नआइपुग्दा अधिवेशन स्थगित भएको छ । कांग्रेसको प्रथम प्रदेश नं १ अधिवेशनबाट सभापति पदमा उद्धव थापा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट उनले ८४४ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४० मत प्राप्त गरे ।
यसैगरी, उपसभापतिमा टंकप्रसाद राई र रमेशजंग रायमाझी, महामन्त्रीद्वय उमेश थापा र भूपेन्द्र राई, सहमहामन्त्रीमा प्रमिलाकुमारी गच्छदार, खड्ग फागो र विनोदकुमार बस्नेत विजयी भएका छन् । बागमती प्रदेश अधिवेशनबाट सभापति पदमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न निर्वाचनबाट उनले एक हजार ८५ मत प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी जगदिश्वरनरसिंह केसीले ९२७ मत प्राप्त गरे । १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचनमा उनी ६१२ मत ल्याई प्रदेशको पहिलो सभापति बन्न सफल भएका हुन् । उनका प्रत्यासी अर्जुनप्रसाद जोशीले ५२८ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलले जानकारी दिए ।निर्वाचनमा उपसभापतिद्वयमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ तथा महामन्त्रीद्वयमा किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने निर्वाचित भएका छन् ।
यसैगरी सहमहामन्त्रीमा कोपिला रानाभाट, सहमहामन्त्री खुलामा रमेशकुमार पाण्डे र रामचन्द्र जोशी विजयी भएको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति पदमा अमरसिंह पुन निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट उनले ८६७ मत प्राप्त गरे ।
उनका प्रतिद्वन्द्वी भरतकुमार शाहले ७६७ मत प्राप्त गरे । उपसभापतिद्वयमा राजु खनाल र भुवनप्रसाद श्रेष्ठ, महामन्त्रीद्वयमा विक्रम खनाल र सुरेन्द्र आचार्य, सहमहामन्त्री त्रयमा विष्णु मुस्कान, खगराज पाण्डे र निमा गिरी विजयी भए ।
कांग्रेसको कर्णाली प्रदेशको सभापति पदमा ललितजङ्ग शाही निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट उनले प्रतिद्वन्द्वी भूपेन्द्रजङ्ग शाहीलाई १०५ मतान्तरले हराउँदै प्रदेशको पहिलो सभापति बन्न सफल भएका हुन् । निर्वाचन समितिका अनुसार सभापति पदमा विजयी ललितजङ्गले ४२२, उनका प्रतिद्वन्द्वी भूपेन्द्रजङ्गले ३१७ र मोतीराज बमले सात मत प्राप्त गरेका थिए ।
सभापतिमा निर्वाचित जुम्ला निवासी ललितजङ्ग दोस्रो संविधानसभामा सदस्य थिए । कूल ७७१ मतदाता रहेको प्रदेश अधिवेशनमा ७५४ मत खसेको थियो भने आठ मत बदर भएको थियो सुदूरपश्चिम प्रदेशको प्रदेश सभापतिमा वीरबहादुर बलायर विजयी भएका छन् । पार्टीको संस्थापन पक्षका बलायर ४०८ मतान्तरले विजयी भएका हुन् । उनले एक हजार तीनमध्ये ६८८ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २८० मत प्राप्त गरे ।
अन्य सबै पदाधिकारीमा पनि बलायर प्यानल नै विजयी भएको छ । उपसभापतिमा जनकराज चौधरी ६१० मत र लोकराज अवस्थी ५२३ मतसहित विजयी भएको निर्वाचन समितिले जनाएको छ । महामन्त्रीमा नरनारायण शाह ‘मनु’ ६४८ मत र मेघराज खड्का ६३५ मतसहित विजयी भए । यस्तै सहमहामन्त्रीमा गोपालदत्त भट्ट ५२९ मत, चिन्तामणि भट्ट ५३३ मत र अम्बिकाकुमारी चलाउने ६८६ मतका साथ निर्वाचित भएका छन् ।




















प्रतिक्रिया