सुनसरी। कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिएसँगै कोरोना विरुद्धको खोप लगाउनेहरूको भीड बढेको छ । पहिले खोप आएका बेला जिल्लाका विभिन्न पालिकाले तोकेको खोप केन्द्रमा खोप लगाउन सर्वसाधरणको संख्या कमी भए पनि पछिल्ले समय खोप केन्द्रहरुमा भिड बढेको हो ।
पछिल्लो एकसातायता ओमिक्रोन भेरियन्ट फैलिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको र यसैबेला सरकारले खोप अभियानलाई पनि तीव्रता दिएको छ । खोप अभियान चलाउनु सकारात्मक भए पनि भीड व्यवस्थापन गर्न नसक्दा उक्त भीड नै कोरोना सङ्क्रमणस्थल बन्न सक्ने सङ्क्रामक रोगविज्ञ चिकित्सकहरूले बताएका छन् । सुनसरीको धरान, बर्जु, देवानगञ्ज, कोसी, भोक्राहा, इनरुवा र इटहरीमा खोप अभियान चलिरहेको छ । तर, खोप केन्द्रमा भीड जमेकाले ओमिक्रोन भेरियन्ट र कोरोनाकै अन्य भेरियन्ट फैलिन सक्ने चिकित्सकहरूले बताएका छन् ।
डब्ल्युएचओ र सरकारले भीडभाड नगर्न बारम्बार चेतावनी दिँदै आएको छ । निश्चित मापदण्ड अपनाउन सुझाव दिए पनि न स्थानीय तहले ख्याल गरेको देखिएको छ, न त सर्वसाधारणले नै पालना गरेका छन् । धरान उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवका अनुसार पहिले खोप आउँदा खोप लगाउन डराउने, खोपको विरुद्ध उल्टो लाग्नेहरूनै अहिले खाेप लगाउन आउने गरेका छन् । अहिले ओमिक्रोनको त्रासले सबै ओइरिँदा भीड बढेको र सरकारले पनि खोप कार्ड अनिवार्य गरेकाले खोप लगाउन चाहनेको भीड बढेको उनले बताए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभागका प्रमुख प्रा डा सञ्जीव शर्माले पनि पहिले खोप आएको बेला सर्वसाधारण मात्र नभएर स्वास्थ्यकर्मी चिकित्सकहरू नै खोप लगाउन हिच्किचाएको बताए । उनले कोरोनाविरुद्धको खोपबारे केही अराजक समूहले सामाजिक सञ्जाल प्रयोग गरी गलत सूचना प्रवाह गर्दा भ्रमित भएर खोपमाथि शङ्का गर्नेहरूले खोप लगाउन हिच्किचाएका बताए ।
सरकारले काठमाडौं उपत्यकाका ८ अस्पताललाई खोप लगाउने ठाउँ बनाएको छ । ती अस्पतालले कार्यालय समयमा आएका जो कोहीलाई स्वास्थ्य मापदण्ड अपनाएर खोप लगाइदिइरहेका छन्, तर अधिकाँश स्थानमा खोप लगाउनेहरुको भिड बढी रहेका कारण संक्रमणको जोखिम पनि उत्तिकै रहेको छ । हामारीमा पालिकाहरूले भीड व्यवस्थापन गर्न नसक्दा खोपकेन्द्र नै संक्रमणसथल बन्न सक्ने अधिकाँशको बुझाइ रहेको छ ।




















प्रतिक्रिया