ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकाले विकास निर्माणका काममा स्थानीय श्रमशक्तिको परिचालनलाई प्राथमिकतामा राखेर योजना अगाडि बढाएको छ ।
कोरोना महामारीबाट प्रभावित तथा दैनिक श्रम गरेर जीविकोपार्जन गर्ने वर्गको आयआर्जनमा सहयोग पुर्याउन श्रम शक्तिको परिचालनलाई प्राथमिकतामा राखेको हो ।
गाउँपालिकाले स्थानीय श्रम शक्तिको प्रयोग विकास निर्माणका आयोजनामा अत्यावश्यक ठाउँमा मात्रै यन्त्र अर्थात् मेसिन प्रयोग गर्र्नेगरेको छ । विकासका योजनामा ७० प्रतिशत श्रमशक्ति र ३० प्रतिशत यन्त्र प्रयोग गर्ने अवधारणा गाउँपालिकाले ल्याइएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले बताए । सडक मर्मत तथा निर्माण र अन्य पूर्वाधार विकासका काममा पनि स्थानीय श्रमशक्तिको अत्याधिक प्रयोग गर्ने र विकल्पका रूपमा मात्र यन्त्र प्रयोग गर्ने गरी काम सुरु भएको अध्यक्ष रोकाको भनाइ छ ।
गाउँपालिकाका वडा तहमा सञ्चालित सडक मर्मत तथा निर्माणका योजनामा स्थानीय श्रमशक्रतिलाई नै प्रयोगमा ल्याइएको छ । बिग्रे भत्केका सडक मर्मत तथा मेसिन आवश्यक नहुने ठाउँको सडक चौडा पार्ने, ट्र्याक खोल्नेलगायतका काममा गाउँपालिकामा श्रम शक्ति नै प्रयोगमा ल्याइएको उनले बतताए ।
अहिले पनि गाउँपालिकाका विभिन्न वडामा सडक मर्मत तथा अन्य विकासका योजनामा स्थानीय जनश्रम नै प्रयोग भइरहेका छन् । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमबाटै यस्तो नीति ल्याएकाले वडा तहमा श्रमशक्ति ७० र यन्त्र तथा उपकरण ३० प्रतिशतको अवधारणामा काम भइरहेको उनको दावी छ । यसरी भइरहेका कार्यक्रम अनुगमन गरेको र त्यसरी भएका काम सन्तोषजनक पाईएको उनले बताए ।
गाउँपालिकाभित्रका सामान्य मर्मत तथा विकास निर्माणका काममा श्रमशक्तिको उच्चतम प्रयोग हुनु सकारात्मक सुरुवात भएको सरोकारवाला बताउँछन् । यसले रोजगारी सिर्जना गर्न योगदान पुग्ने भएकाले स्थानीयको आयस्रोत बढ्ने र जीवनस्तर माथि उठाउन योगदान पुग्ने गाउँपालिकाका स्थानीइ तथा बिद्यार्थी नेता रोशन महतराले बताए । श्रम शक्तिको प्रयोगले सडक निर्माण तथा मर्मतका काम दिगो हुने र पहिरोको जोखिम कम हुने हुँदा यसले दिगो विकासमा टेवा पुग्ने उनले बताए ।
कोरोना संक्रमणको जटिल अवस्थामा धेरै युवा शहरबाट गाउँ फर्किएका, कतिले रोजगारी गुमाएका र आर्थिक मन्दीले समस्या परेकाहरूका लागि खिजीदेम्बाको यो कार्य अनुकरणीय हुने सरोकारवाला बताउँछन् । विकास निर्माणका कामबाट रोजगारी सिर्जना गर्ने र कार्यप्रगति अनुगमन गरेर प्रभावकारी बनाउन सके स्थानीय सरकारले नै समृद्धिको लक्ष्य पूरा गर्न सक्ने देखिन्छ ।




















प्रतिक्रिया