Logo

प्रदेश

स्थानीय तहको निर्वाचन बैशाखमै सम्पन्न गर्ने गठबन्धनको सहमति



काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरु आउँदो वैशाखमा स्थानीय तह निर्वाचन गर्न सहमत भएका छन् । स्थानीय तह निर्वाचनलाई लिएर गठबन्धनभित्र मतभिन्नता बढेको चर्चा भइरहेका बेला नेताहरुले वैशाखमा निर्वाचन गर्न सहमती गरेका हुन्

मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा उच्चस्तरीय समन्वय समितिका संयोजक काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको उक्त बैेठकमा दलहरुबीच सो सहमति जुटेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । यस विषयमा थप छलफल गर्न बिहीबार फेरि गठबन्धनको बैठक बस्ने जानकारी उनले दिए । बिहीबार मन्त्रिपरिषद् बैठकसमेत बस्दैछ।

स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि आगामी जेठ पहिलो साता सकिँदैछ। त्यसअघि नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप आजको बैठकमा बैशाखमा निर्वाचन गर्ने सहमती भएको उनले बताए । स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न निर्वाचन आयोग लगायत सरोकारवाला निकायसँग थप परामर्श भइरहेको समेत कार्कीले जानकारी दिए ।

निर्वाचन आयोगले वैशाख २२ भित्र स्थानीय निर्वाचन गरिसक्नुपर्ने प्रस्ताव गरिसकेको छ। गठबन्धनमा सहमति जुटेमा बिहीबार नै सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सक्ने बताइएको छ। यसअघि निर्वाचन आयोगले एकैचरणमा गर्ने भए आगामी वैशाख १४ र दुई चरणमा गर्ने भए वैशाख १४ तथा २२ गतेको मिति सिफारिस गरेको छ। तर, सरकारले निर्वाचनको मिति तोकेको छैन।

यससँगै आजको बैठकमा माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनको जीत कसरी सुनिश्चित गराउने भन्नेबारे छलफल भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलवार १२:२२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।