विराटनगर । मोरङको कानेपोखरी–२ (दर्बेसा र केराउन) मा रहेको गेउरिया खोलाको पुल निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ ।
गेउरिया खोलाको पुल निर्माण २ वर्षमा सम्पन्न गर्ने गरी २०७१ साल कार्तिकमा सम्झौता भएको थियो । तर, अहिलेसम्म पुल सम्पन्न भएको छैन । हाल ७० प्रतिशत काम भएपछि निर्माण कम्पनीले बिना कारण काम रोकेको छ । निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने माग गर्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन दिएको स्थानीयले बताएका छन् ।
उक्त स्थानमा गत बुधबार राती आगो निभाउन हिंडेको दमकल खोला तर्ने क्रममा त्यहीँ पल्टिएको थियो । सो स्थानमा यसखालका सवारी साधन पल्टिने, दुर्घटना हुने क्रम लामो समयदेखि निरन्तर जारी छ । यसको सम्पूर्ण कारण पुल नहुनु नै निबेदनमा बताइएको छ ।

सो क्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले निर्माण कम्पनीका संचालक सराजुद्धिन अन्सारीलाई बोलाएर जवाफ माग गर्ने बताएका छन् । पुल निर्माण नहुँदा सर्वसाधारणलाई आवत जावत सहज बनाउन निर्माण कम्पनीलाई तुरुन्त निर्देशन दिइने पनि तिम्सिनाले बताए ।
पुल निर्माणको लागि भुटाहा सुनसरीको फ्युचर र सराउद्धिन निर्माण सेवाले संयुक्त रुपमा ठेक्का पाएका थिए । १ करोड १८ लाखमा पुल निर्माणको सम्झौता भएर ५७ लाख रुपैयाँ भुक्तानी पनि लगिसकेको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरी अन्तर्गतको सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ ।
निर्माण कम्पनीका संचालक सराजुद्धिन अन्सारीलाई पटकपटक ताकेदा गर्दा पनि काम नभएको सडक डिभिजन कार्यालयको भनाइ छ । ‘विश्वास गर्नै गाह्रो भइसक्यो, दशैं अगाडिदेखि नै काम गर्न भन्दा पनि दशैंपछि, तिहार पछि, छैठ पछि, एक हप्ता पछि भन्दै ढाँट्दै आएको सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख इन्जिनियर सुदर्शन कार्कीले बताए ।
उनलाई कार्यालयमा बोलाएर कारबाहीको चेतावनी समेत दिइएको रआउँदो आइतबार, सोमबारदेखि काम गर्छु भनेका कारण काम हुने आशामा आफूहरु रहेको उनले बताए ।
यता, निर्माण कम्पनीका संचालक अन्सारीले आफूले पुल निर्माणको लागि अढाइ करोड खर्च गरिसकेको बताएका छन् । पुल ढिलो निर्माण हुनुमा बेस निर्माण गर्ने क्रममा अत्याधिक पानी रहेको कारण खर्च बढेको कारण प्रष्ट पारे । यद्यपि आफूले काम सम्पन्न गर्ने उनले बताए ।




















प्रतिक्रिया