Logo

कर्णाली प्रदेश

रुकुम पूर्वमा जिउँदै कम्युनिस्टहरूको सालिक निर्माण



कुनै पनि व्यक्तिले आफ्नो जीवनलाई देश र जनताको लागि त्याग्छ भने त्यसको सालिक निर्माण गरिने प्रचलन छ । देशको विकास र सकारात्मक परिवर्तनमा अहम भूमिका खेल्ने व्यक्तिहरूको अन्त्यष्टि पश्चात् सधैँ सम्झना रहोस भन्ने उदेश्यले सालिक बनाउने परिपाटी रहिआएको छ ।

तर रुकुम पूर्वको भूमे गाउँपालिकामा एउटा नौलो अभ्यास भएको छ । त्यहाँ जिउँदो मानिसहरूको सालिक निर्माण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६, महतस्थित ठूलो स्यामाङपोमा ६ वटा ज्यूँदा मानिसका सालिक निर्माण सम्पन्न भएको छ ।

सालिकमध्ये एउटा भने माओवादी युद्धको क्रममा सहिद भएका तत्कालिन लडाकु किशोर घर्तीको हो भने बाँकी ५ जना जिउँदा कम्युनिस्टहरूको बनाइएको छ । जसमा जिवीतमध्ये एक जना उप राष्ट्रपति नन्दबहादुर पुनको पनि सालिक बनाइएको छ ।

त्यसैगरी नन्दबहादुर पुनसहित रोल्पाका हरिबहादुर पुन, रुकुम पूर्वका होमप्रकाश श्रेष्ठ, कृष्ण रेग्मी, जितबहादुर बूढाको सालिक बनाइएको हो । यस्तै माओवादीका सहिद रुकुम पश्चिमका किशोर घर्तीमगरको पनि सालिक बनाइएको हो ।

किशोर दश वर्षे सशस्त्र युद्धको क्रममा मारिएका थिए । भूमे गाउँपालिकाले तत्कालीन माओवादी युद्ध स्मरणका लागि सालिक बनाइएको हो । २०५६ सालको असोज ६ गते महत प्रहरी चौकी तत्कालीन माओवादीका लडाकुले कब्जा गरेका थिए । नेपाल प्रहरीका तत्कालीन डिएसपी ठूले राई अपहरणमा परेको घटना यही थियो ।

सोही घटनामा आधारित युद्ध स्मारक बनाइएको हो । महत प्रहरी चौकी कब्जा गर्ने क्रममा प्रमुख भूमिकामा रहेका तत्कालीन माओवादी योद्धाहरूको सालिक बनाइएको हो । युद्ध स्मारक निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल बुढा मगरका अनुसार प्रहरी चौकी कब्जाको क्रममा भूमिका निर्वाह गरेकाहरूको सालिक निर्माण गरिएको हो । युद्ध स्मारकले समग्र युद्ध र त्यसमा त्याग, योगदान गरेकाहरूको प्रतिनिधित्व गर्ने उनले बताए । युद्ध स्मारक भौतिक संरचनाको संग्रह मात्रै नभएर इतिहासको संरक्षण र सुरक्षित राख्ने प्रयास भएको उनको दाबी थियो । उक्त घटनाको कमाण्डर तत्कालीन माओवादी कमाण्डर नन्दबहादुर पुनको नेतृत्वमा थियो ।

महत गाउँलाई युद्ध फिचर सहितको युद्ध पर्यटकीय क्षेत्र बनाउने लक्ष्ले सालिक बनाइएको गाउँपालिकाले बताएको छ । सो कार्यक्रममा हालसम्म गाउँपालिकाले रू ६८ लाख ५० हजार खर्च गरिसकेको जानकारी दिएको छ । आर्थिक वर्ष २०७४÷०७५ देखि नै भूमेले यहाँ लगानी गर्न लागेको हो ।

उक्त आर्थिक वर्षमा २० लाख रुपैयाँ खर्च भएको थियो । आर्थिक वर्ष २०७५÷०७६ मा १५ लाख, आर्थिक वर्ष २०७७÷०७८ मा ३३ लाख ५० हजार रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । बृहत योजना अनुसार केही काम भएको र अरु काम पनि विस्तारै गर्दै जाने गाउँपालिकाले योजना बनाएको छ ।

विशेषगरी विगतको इतिहासलाई जोगाएर भावी पुस्तालाई यसबारे जानकारी गराउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो स्मारक निर्माण गरेको बताइएको छ । यछिल्लो समय जिउँदा मानिसको सालिक बनाउने कथित कम्युनिस्टहरूले देश विकास गर्न नसक्ने भन्दै यो कार्यको चौतर्फी आलोचना सुरू भएको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलवार १६:१९   :  बजे

309
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।