Logo

विविध

भारतमा पाएको दुःखबाट यसरी छुटकारा पाइरहेका छन् अछामका लोकेन्द्रले



काठमाडौ । अछामको मंगलसेन नगरपालिका वडा नम्बर ९ ओलीगाँउका २२ वर्षका लोकेन्द्र रावल पछिलो दुई वर्षदेखि बाख्रा पालन र खेतीपाती गर्दै आइरहेका छन् ।

गाउँमा केही गर्न सकिन्न भन्ने मनसाय बनाएर लोकन्द्र २ वर्ष पहिले रोजगारिका लागि भारत गएका थिए । भारतमा दुःख गर्दै काम गरिरेका लोकेन्द्र विश्वव्यापी कोरोनाको कहरमा परे । एक त पराइको देश अर्को काम खोज्दै भारतमा गएका लोकेन्द्रले भारतमा दुःख पाए । कोरोनाका कारण लकडाउन भएर कोठामा बसिरहेका बेला उनले अर्काको देशको दुःख र गाउँमा भएको बाँझो जग्गा सम्झिए । गाउँमै केही गर्नुपर्छ भनेर लोकेन्द्र भारत सधैँका लागि छोडेर घर फर्किए ।

उनको फर्ममा अहिले २५ बढी बाख्रा र २ वटा भैंसी छन् । उनले आफ्नै लगानीमा दुई वटा फर्म संचालन गरेका छन् । धुम्रलोचनी पशु पंक्षी फर्म र अर्को धुम्रलोचनी कृर्षी फर्म उनले दर्ता गराएर व्यवसायीक रूपमा लागि परेका छन् ।

लोकेन्द्रको घर परिवारमा १४ जना सदस्य छन् । आमा बुवाको लालन पालन र छोराछोरीको पढाइ खर्च उनले यहीँबाट जुटाउने गरेका छन् ।
सुरू सुरूमा उनलाई समस्या नपरेको होइन, ५ लाख लगानी गरेर ३० वटा बाख्रा खरिद गरे तर बाख्रा खोरमा राखेको केही दिनमै २० बाख्रा मरेका थिए । उनले स्थानीय सरकारले पनि गाउँमै रहेका बेरोजगार युवालाई सहयोग गर्छ भन्ने सुनेका थिए । केही आशाका किरण बोकेर उनी मंगलसैन नगरपालिकामा सहयोगको अपिल गर्न गए ।

नगरप्रमुख र केही कर्मचारीले केही सहयोग गर्ने आश्वासन त दिए, तर दिएको आश्वासन अझै पूरा गर्न सकेका छैनन् । अहिले उनलाई स्थानीय सरकार भएको र नभएको कुनै प्रवाह छैन । तर गुनासो भने यथावत नै छ । स्थानीय सरकार र अन्य सम्बन्धित निकायको सहयोग पाइएमा गाउँमा रहेको बाँझो जग्गाको पनि सदुपयोग गर्ने उनले बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलवार १५:१८   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।