Logo

विविध

जनताका लागि जहर बन्दै कोरोना कहर  



सुजता अम्गाई

विश्‍व अंग्रेजी नयाँ वर्ष २०२० लाई स्वागत गर्न तयार रहँदा चीनको वुहानबाट सुरु भएको कोरोना नामको विषाणुको संक्रमण देखिएको करिब डेढ वर्ष बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । नेपालमा २०७६ माघमा पहिलो पटक संक्रमण पुष्टि भएको थियो । संक्रमण बढ्नसक्ने भन्दै सरकारले २०७६ चैत ११ बाट लकडाउन गरेको थियो । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना संक्रमणको असर नेपालमा क्रमशः महामारीको रूपमा फैलिँदै गयो ।

हाल मुलुक कोरोना महामारीको दोस्रो लहरको चपेटामा परेको छ । कोरोना नियन्त्रणका लागि लकडाउन भन्दै वैशाख १६ गतेदेखि सरकारले जनतालाई घरभित्रै थुनेर राखेको छ । तर, संक्रमणका कारण अक्सिजन अभाव, समयमा उपचार र बेडको खोजी गर्दागर्दै झिंगा मरेझैंको अवस्था देखिएको छ । हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या चार लाख ८ हजार ४१८ पुगेको छ भने पाँच हजार ६५७ जनाको मृत्यु भएको छ । तीन लाख ६० हजार ४०३ जना संक्रमणमुक्त भए पनि एक लाख ४३ हजार ५०८ जना आइसोलेसनमा छन् र क्वारेनटाइनमा छन् । 

मुलुकका जनताको समस्या बुझ्‍ने सरकार हुने थियो भने नागरिकले झिंगा मरेझैँ मर्नुपर्ने अहिलेको अवस्था पक्कै आउने थिएन । बाँचेकाहरुको जीवन पनि अस्तव्यस्त भएको छ । हालसम्म रोगले मर्नेहरुको संख्या गणना गरिरहेको सरकारले लकडाउन जारी नै राख्यो भोकले मर्नेहरुको संख्या गणना गर्ने दिन आउनेछ ।

कोरोना संक्रमण बढ्दै जानुका साथै यसले रुप पनि फर्दै गएको छ । कोरोना खोप ल्याउनु आफ्नो सफलता मान्‍ने सरकारले पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज खोपको व्यवस्था गर्न सकेको छैन । मुलुकको आर्थिक क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ भने सामाजिक जनजीवन कष्टकर बन्दै गएको छ । वास्तवमा भन्‍ने हो भने कोरोना कहर नागरिकका लागि जहरजस्तै बनेको छ । भूकम्प र नाकाबन्दीले थला पारेको अर्थतन्त्रलाई कोरोनाको कहरले झन ठूलो खाडलमा पुर्‍याउने जोखिम हाम्रै अगाडि छ ।

कोरोना संक्रमणकै कारण सार्वजनिक सेवाहरु अवरुद्ध भएका छन् । सेवाग्राहीहरूले सास्ती भोगिरहेका छन् । दैनिक सेवा दिने सरकारी निकायहरू लगायत सेवा लिने र दिने दुवै पक्ष मारमा परेका छन् ।
कोरोना संक्रमणकै कारण गरिएको लकडाउनले नेपालको कृषि क्षेत्रमा नकारात्मक असर परेको छ । मानिसहरूको आवतजावत ढुवानी व्यवस्थामा भएको असहजता र आवश्यक मात्रम सहजरुपमा पाउनु पर्ने कृषि औजार, मल, बिउ ट्याट्ररलाई चाहिने इन्धन पशुपक्षीको लागि आवश्यक आहारको ढुवानी र सहज आपूर्ति हुन नसक्दा समग्र कृषि क्षेत्रलाई नकारात्मक असर परी कृषि उत्पादन घट्न सक्ने चिन्ताले पनि किसाहरुलाई पोलिरहेको छ ।

प्राय: मानिसहरूलाई लकडाउन खुलेपछि पनि ज्यानलाई जोखिममा राखेर कसरी काम गर्ने भन्‍ने चिन्ता बढेको छ । शिक्षा क्षेत्रमा लकडाउन गर्दा परेको असर त्यस्तै छ,  शैक्षिक संस्थाहरू सुचारु हुन सकिरहेका छैनन् । यसले गर्दा  विद्यार्थीको पढाइ अस्तव्यस्त नै बनेको छ । कोरोनाको कारण रोजगारीको क्षेत्रमा पनि असर परेको छ । संक्रमणको कारण रोजगारी कटौती भइरहेको छ । उद्योगधन्दा, कल कारखाना, एयरलाइन्स, यातायात पर्यटनलगायत समग्र क्षेत्रहरूमा परेको प्रभावको कारण श्रम बजारमा रोजगारीको अवसर गुमिरहेको छ । 

यति मात्र होइन कोरोनाले यसरी थिचेको बेला आम्दानीको स्रोत नहुँदा खाद्य सामाग्रीहरू पनि किन्न नसक्ने अवस्थामा झनै मूल्यवृद्धि, कालोबजारीलगायतका समस्या सृजना हुन थालेका छन् । यसले गर्दा रोगले भन्दा पनि भोकले मर्नुपर्ने अवस्था सिर्जना भइसकेको छ । आज लकडाउन सुरु भएको १९ दिन पुगेको छ । बिहान उठेर दिनभरि काम गरेर बेलुकी खानाको जोहो गर्नेहरुको जिन्दगी अहिले बाटोबाटमा कहिले-कसले खाना देला भनेर प्रतीक्षा गरिरहेका छन् । आए त खाएका छन्, नत्र भोकै बस्‍न बाध्य भएका छन् ।

सरकारले केही दिनअघि मुलुकमा नयाँ भेरियन्ट देखिएको बताएका थिए । कोरोना भाइरसको नयाँ रूप पहिलेभन्दा निकै घातक हुने वैज्ञानिकहरूले चेतावनी समेत दिएका छन् । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जान थाले पछि मुलुकको मौज्दात क्षमताले उपचार प्रक्रिया थाम्‍न नसक्‍ने भन्दै सरकारले हात उठाइसकेको छ । यस्तो अवस्थामा सरकार गम्भीर र थप बढी जिम्मेवार बन्‍न आवश्यक छ । 
 

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार ०९:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।