Logo

प्रमुख समाचार

भान्सामा आमा नहुँदा



म एक सामान्य परिवारमा जन्मेको व्यक्ति हुँ । म अहिले सयौं सपना पूरा गर्न र सफलता प्राप्तिको लागि संघर्ष गर्दैछु । जिन्दगी यात्रा हो, अहिले म यो यात्रामा अनवरत छु । म ३ बर्षको हुँदा मेरो आमाले संसार छोड्नु भयो । म ३ वर्ष, दिदी ५ बर्ष र बहिनी ७ महिनाकी थिइन् । दैवले हाम्रो आमालाई सानैमा हामीबाट खोसेर लाग्यो । हामी ३ भाइ बहिनीलाई जहिल्यै आमाको खाँचो छ । सानैदेखि आमाको माया र स्याहारसुसार नपाएका हामी अस्वस्थ थियौं । श्रीमती गुमाउनुको पीडा बुवालाइ थियो, आमा गुमाउनुको पीडा हामीलाई ।

म सानैदेखि अस्वस्थ थियो, घाँटीमा समस्या देखिएर मेरो घाँटी बाङ्गिएको थियो । औषधि र उपचार पछि भने म सन्चो भएँ । मलाई याद छ, त्यो दिन त्यो समय जुनदिन मलाई बाबाले अब तँ बाँच्दैनस् भन्नुभयो । आजको दिन मैले आफैँले सम्झेँ कनकि एक बुवा रूँदै “मेरो श्रीमतीलाई त लगिस्, लगिस ! अब मेरो छोरालाई पनि नछोड्ने भइस” भन्दै ईस्वरलाई सराप्नुभयो । सायद भगवानले त्यो कुरा सुनेछन् क्यार । आमाले हामीलाई छोडेदेखि हाम्रो जीवन सधैं दुख र अभावमै बित्यो । तर केही समयपछि बुवाले दोस्रो विवाह गर्ने निर्णय गर्नुभयो ।

बुवाले हाम्री आमाकी बहिनी हाम्री सानिमासँग दोस्रो विवाह गर्ने हुनुभयो । हाम्रो दयनीय अवस्था देखेर मामाले आफ्नो बहिनीसँग मेरो बुवाको दोस्रो विवाह गरिदिनु भयो । त्यो बेला माओवादीको ससत्र जनयुद्ध चलिरहेको थियोे । त्यही बेला हाम्रो सवपरिवार मामाको सहयताले रोजगारीको शिलशिलामा भारत पुग्यौँ । चरम आर्थिक अभाव खेपिरहेको मेरो परिवार करिव ४ बर्ष भारतमै बस्यो । त्यसपछि हामी जन्मभुमि अछामको ढकारी फर्कियौँ । गाउँ फर्केपछि म स्कुल जान थालेँ, गरिब परिवारमा जन्मेको मैले कक्षा १० सम्म गाउँमै अध्ययन गरेँ । स्कुल पढ्न पनि कहाँ सहज थियो र ? ३/४ महिना भारतमा काम गरेर केही आर्थिक कमाएर परीक्षा दिन्थेँ ।

जसोतसो कक्षा १० पास गरेँ । उच्च शिक्षा हाँसिल गर्न सक्ने अवस्था थिएन । मनमा पढ्ने इच्छा थियो, तर पढ्न सक्ने आर्थिक अवस्था थिएन । एसइइ पास गरेर एक जना साथीको सहयोगमा म अछामको सदरमुकाम मंगलसैन आउने मौका पाएँ । सदरमुकाममा पत्रिका बेच्ने काम पनि पाएँ र कक्षा १२ सम्म अध्ययन गरेँ । दुई वर्षमा सदरमुकाममा गरिएको दुःखको कुनै हिसाब छैन, कुनै दिन ती संघर्षको कथा लेखौँला ।

विकट क्षेत्रमा जन्मिएको म, न राम्रो बोल्न जान्थेँ न त राम्रो पढाइ थियो न त कुनै मान्छे चिनेको थिएँ । मंगलसैनको दुई वर्षको बसाइँले मलाई धेरै कुरा सिक्ने अवसर प्राप्त भयो । मान्छे चिने, साथी बनाएँ र जिन्दगीको परिचय थाहा पाएँ । अनि प्लस टु सकेर देशको संघीय राजधानी काठमाडौं जाने योजना बनाएँ । म र मेरो प्रिय साथी एकेन्द्रले सयौं सपना बोकेर काठमाडौं अध्ययन गर्न जाने योजना बनायौँ ।

र हामी काठमाडौं हानियौँ । सयौँ सपना बोकेको म र यो बिरानो सहर काठमाडौंको चिनजान भएको पनि ३ महिना भएछ । यहाँ आफ्नो कोही छैन, छ त केवल स्वार्थ र संघर्ष । काठमाडौं आएको केही समय साथि माधवको कोठामा बस्यौँ तर लामो समय साथीकैमा बस्न सक्ने अवस्था थिएन ।

अनि हामीले आफैँले कोठा भाडामा लिएर बस्न थाल्यौं । थोरै पैसा र सयौँ सपना बोकेर आएका हामीलाई घरबाट केही आर्थिक सहयोग हुन्न, होस् पनि कसरी गाउँमै एकछाक टार्न मुस्किल छ आमा बुवालाई ।

यहाँ कोठामै बसेर खान पुग्ने थिएन, छैन । मैले सानोतिनो काम त गर्नु नै थियो । काम खोज्नका लागि कति ठाउँ पुगेँ कतिलाई गुहारे याद छैन । बिस्तारै म आफैँमा कम्जोर हुन थालेँ, केही नजान्ने मलाई कसले काम दिन्छ र ? भन्ने डरले म निकै तनावमा थिएँ । तर गरिवलाई भगवानले हेर्छन् भन्ने चलन हाम्रो गाउँमा छ । हो त्यस्तै, एकदिन राति करिव १ बजेतिर एक जना नयाँ साथीसँग परिचय भयो । उनी थिए, अनलाइन पाना नामक एक अनलाइन पत्रिकामा कार्यरत रामनाथ कुँवर । उनले नै मलाई काम खोज्न सहयोग गरे । उनी आफैँ कार्यरत मिडियामा मलाई लिएर गए ।

मैले १ महिनासम्म यही अनलाइनमा काम सिकेँ । र अहिले म यही अनलाइन पानामा काम गर्न सक्ने भएको छु । हो, सबैलाई दुःख हुन्छ, समस्या पर्छ । यस्तो दुख र समस्याको समाधान गर्न सक्ने आत्मबल भएमा लक्ष्यमा पुग्न सकिने रहेछ भन्ने महसुस भएको छ । मलाई काठमाडौंमा टिक्न सिकाउने र बाँच्न सिकाउने यो अनलाइन पानाको उत्तरत्तोर प्रगतिको हार्दिक शुभकामना !

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार १३:००   :  बजे

5K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।