Logo

कोशी प्रदेश

लिखु गाउँपालिकामा कांग्रेस–एमालेका आकांक्षी बढी, गठबन्धन भए माओवादी पनि तयार



ओखलढुंगा । स्थानीय तहको निर्वाचन आउन ३७ दिन मात्र बाँकी छ । देशका हरेक गाउँबस्तीहरुमा चुनावी माहोल तातेको छ । प्रायः सबै राजनीतिक दलका शीर्ष नेताहरु गाउँ गाउँ पुेगर जनतामाझ आफ्ना एजेण्डाहरु पस्कदै छन् भने टिकट व्यवस्थापनको चटारो पनि उत्तिकै छ । जिल्ला देखि पालिकास्तर सम्म पार्टीका बैठकहरू बस्ने र योजना बनाउनमा दलहरु व्यस्त छन् ।

ओखलढुंगाको लिखु गाउँपालिका इतिहासदेखि नै कम्युनिष्टको गढ मानिन्छ । यो गाउँपालिकामा गत निर्वाचनमा अध्यक्ष–उपाध्यक्ष सहित बहुमत एमालेको थियो। यसलाई जोगाउन यस पटक एमालेलाई हम्मे हम्मे छ ।

एमालेले शाख जोगाउन लागिरहदा नेपाली कांग्ररेस नेतृत्व खोस्ने योजनामा छ । खासगरी वर्तमान सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच चुनावी तालमेल हुने करिव पक्का जस्तै भएपछि गाउँपालिकामा एमालेलाई निकै चुनौति थपिएको एमालेकै नेताहरु बताउँछन् ।

गत चुनावमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस पनि यस पटक संगठन सुदृढीकरण भएको र चुनाव जित्न सक्ने आँकलनमा छ । तर चुनावी तालमेल भयो भने कांग्रेसले अरु दललाई छाड्नुपर्ने पनि हुनसक्छ । यसो हुँदा नेतृत्व फेरी कम्युनिष्टकै पोल्टामा पर्ने र कांग्रेसलाई आगामी चुनावमा समेत चुनौति कायमै रहने नेताहरुको बुझाइ छ ।

लिखु गाउँपालिमा प्रमुखको दावी गर्दै नेपाली कांग्रेसबाट अशोक कार्की, राजन सुवेदी,शान्तिराज खड्का,भुवन भट्टराई,कुमार सुवेदी र देवेन्द्र पौडेल मैदानमा छन् । गठबन्धन नभए उनीहरु मध्य एकजनाले टिकट पाउने पक्का छ ।

यदी गठबन्धन भएर लिखु गाउँपालिका कांग्रेसको भागमा आउदा पनि टिकट लिने यीनै मध्यका अनुहार हुन् । पुराना नेता अशोक कार्की गत निर्वाचनमा ७५ भोटले एमालेका गोविन्द पौडेलसँग हारेका कारण एक पटक टिकट लिने दाउमा छन् । उनी भूमि आयोगको जिल्ला अध्यक्ष समेत भइसकेकाले कार्कीलाई छाडेर नयाँ पुस्ताका नेता राजन सुवेदीलाई अघि सार्ने बसह पनि चलेको छ ।

सुवेदीसँगै शान्तिराज खड्का,भुवन भट्टराई,कुमार सुवेदी र देवेन्द्र पौडेलको पनि चर्चा उत्तिकै छ । त्यस्तै नेकपा एमालेले आफ्नो शाख बचाइ राख्न जसरी पनि जित्ने उम्मेदवारलाई टिकट दिने पक्षमा छ ।

यसका लागि राजनीतिक लगानी भन्दापनि आर्थिक लगानी गर्नेहरु प्राथमिकतामा पर्न सक्ने एमालेका एक नेताले बताए । एमालेबाट शेखर भट्टराई, शान्ता ढुंगेल,मिलन विष्ट, गोविन्द पौडेल,प्रेम प्रसाद भट्टराई, रामकुमार मगर र सुरेन्द्र बोगटीको चर्चा छ ।

वर्तमान अध्यक्ष गोविन्द पाडेल एक पटक दोहोर्याउन चान्छन् भने पुराना र बैचारिक नेता शेखर भट्टराई पनि एक पटक पालिका अध्यक्ष भएर जनताको सेवा गर्ने बताउँदै आएका छन् । तर पार्टीले आर्थिक अवस्थाका आधारमा टिकट वितरण गर्यो भने आफू नपर्न सक्ने उनको भनाइ छ ।

माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका पूर्व सांसद बालकृष्ण ढुंगलेलले मिलन विष्टलाई अघि सारेका छन् । उनीसँग राजनीतिक लगानी संगै पर्याप्त आर्थिक श्रोत पनि भएकाले विष्टलाई एमाले भित्रैबाट सम्भावित बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।

माओवादीका तर्फबाट अनिल योगि, जीवन परियार, नविन पौडेल लगायतका नेताहरुले दावी गरेको बताउँछन् । उनीहरुको सांगठनिक अवस्था कमजोर भएपनि कांग्रेस सहितको गठबन्धन हुँदा गाउँपालिकामा दावी नछोड्ने मनस्थितिमा माओवादी लागेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार ११:५३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।