Logo

टिप्पणी

ज्योतिषलाई नसोधी पाइलो नचाल्ने देउवा र टीका समेत नलाउँने प्रचण्डबीच कस्तो गठबन्धन !



स्थानीय तहको निर्वाचनको लागि सरकारले तोकेको मिति नजिक आइरहेको छ । शहरबजार देखि दूरदराजसम्म सबैलाई चुनावी चटारोले छपक्कै छोपेको छ । अझै पनि तोकिएको मितिमा निर्वाचन हुँदैन की भन्ने छिटपुट आशंका बाहेक आमरुपमा सबैलाई चुनाव लागेकै छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन एकजुट भएका दलहरु आसन्न सबै तहका निर्वाचनहरुमा गठबन्धन गरेरै जाने र नेकपा एमालेलाई पत्तासाफ बनाउँने हुँकार दिइरहेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सबै मिलेर आए पनि सामना गर्न तयार रहेको बताएको छ ।

२०७४ सालको संघीय निर्वाचनमा मध्ये दशैँकाबीचमा हठात बनेको बाम गठबन्धन छिन्नभिन्न बनेको छ । झण्डै दुई तिहाइ मत सहितको सुविधाजनक बहूमतको सरकार चलाएको कम्युनिष्ट पार्टी अहिले विभाजनको दुर्दशामा फसेको छ भने फेरि पनि नयाँ खालको गठबन्धनको कसरत भइरहेको छ ।

एमाले बिरुद्ध एकजुट भएका दलहरुको चरित्र र विचार हेर्दा हेर्नेहरुनै दंग पर्ने अवस्था देखिन्छ । देखिपन्थी पार्टीको आरोप लाग्ने कांग्रेस देखी उग्रवामपन्थीको आरोप लाग्ने माओवादी केन्द्र सम्म अनी संघीयताको नामै सुन्न नचाहने चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा देखी जातीय आधारमा १४ राज्य बनाउँनुपर्छ भन्ने बावुराम भट्टराई र उपेन्द्र यादवको जसपासम्म एउटै गठबन्धनमा आवद्ध हुनु आफैँमा अनौठो बिषय रहेको बिश्लेषण हुने गरेको छ ।

नेकपा एमाले विभाजन गराएर पार्टीको नाम नै एकिकृत समाजवादी राखेका माधव कुमार नेपाललाई झनै गठबन्धनको आवश्यकता परेको छ । बेलाबेला कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल (प्रचण्ड)ले एक्लै चुनाव लड्न तयार छौँ भन्ने गरेका भएपनि माधव कुमार नेपालले गठबन्धन बाहेक एक्लै चुनाव लड्ने कुरा गरेका छैनन् यद्यपी उनले आगामी चुनावमा एमालेलाई पत्तासाफ बनाउँने र टर्च बालेर खोज्नुपर्ने ठाउँमा पुर्याउँने भन्न भने छोडेका छैनन् ।

कुनै पनि कोणबाट विचार र सिद्धान्त नमिल्ने दलहरुकाबीचमा हुन लागेको गठबन्धनको औचित्यबारे विभिन्न कोणबाट बहसहरु उठिरहेका छन् । एमाले हराउँने र सत्तामा पुग्ने भन्दा बाँकी तर्क गर्नैै नसकिने अवस्थामा उनिहरु रहेका छन् । एमाले अध्यक्ष केपी ओलीले गरेको संसद विघठनलाई प्रतिगमन भन्दै फेरि पनि प्रतिगमनको खतरा कामय रहेकाले परिवर्तनका लागि लडेका शक्तिहरु मिल्नुपर्ने तर्क उनीहरुले गरिरहेका छन् तर सुन्नेहरु यो तर्क पत्याउँन तयार छैनन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि छिटफुट ठाउँमा कांग्रेस र माओवादी केन्द्रको बीचमा गठबन्धन भएको थियो तर उक्त गठबन्धन निकै प्रत्युत्तपादक भएको निष्कर्ष निकालिएको थियो । घुम्दै फिर्दै रम्जाटार भनेको जस्तो फेरि पनि कांग्रेस, माओवादी एकहुने ठाउँमा आइपुगेका छन् । मिसिएका छन् माधव नेपाल देखी चित्रबहादुर के.सी पनि !

देउवा प्रचण्डको गठबन्धनको चर्चा चलिरहँदा वर्तमान सन्दर्भमा मात्रै नहेरेर पृष्ठभूमिका सन्दर्भ देखी नै व्याख्या बिश्लेषण हुने गरेको छ । प्रचण्डको नेतृत्वमा तत्कालिन माओवादीले जनयुद्ध सुरु गर्दा देउवानै देशका प्रधानमन्त्री थिए । देउवालाई ४० बुँदै मागपत्र बुझाएर माग सम्बोधन नभएपछि माओवादी युद्धमा होमिएको थियो । अहिले उनै प्रचण्ड देउवालाई सरकारको चाबी बुझाउँने मात्रै होइन उनी नभए राजनीतिक अस्तित्व रक्षा गर्न नसक्ने अवस्थामा आइपुगेका छन् ।

केहिदिन अघि मात्रै एक टेलिभिजनलाई दिएको अन्तर्वामा प्रचण्डले देउवालाई बढो व्यवहार कुसल नेता भनेर रिभ्यु गरेका थिए भने उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई खलनायक भनेका थिए । नामका अघि कम्युनिष्ट लेख्ने प्रचण्डलले देउवालाई व्यवहार कुसल नेता र ओलीलाई खलनायको संज्ञा दिएका थिए ।

पुजिँवादी स्कुलका उत्पादन देउवा र मार्सवादी अझ माओवादी स्कुलका प्रचण्डकाबीचको गठबन्धनका बारेमा पर्याप्त बहस उठेको छ । बहस, विवेचना गर्नेहरुले सत्ता मोहले नै उनीहरु एक ठाउँमा रहेको निष्कर्ष निकालेका छन् । सत्ताका लागि जे पनि गर्न तयार भएका कारण नै यो सम्भव भएको नत्र अरु कारणले सम्भवनै नहुने धेरै जना राजनीतिक विश्लेषकहरुले जिकिर गरेका छन् ।

अझै रोचक कुरा त के छ भने ज्योतिषीले सात पटक प्रधानमन्त्री हुने भविश्यवाणी गरेका शेरबहादुर देउवा ज्योतिषको परामर्श बीना एक पाइलो पनि चाल्दैनन् तर ती सबै मान्यताहरुलाई अन्धविश्वास र रुढिबादी मान्ने प्रचण्ड आफूलाई क्रान्तिकारी कम्युनिष्ट देखाउँन बहूसंख्यक जनताले मान्ने पर्व दशै पनि नमनाइ टीका समेत लगाउँदैनन् तर पनि सरकार र सत्ताका लागि भने दुई थरि चिन्तनबाट चलेका देउवा र प्रचण्ड एक ठाउँ छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार १४:१३   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।