काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बन्नका लागि नेकपा एमालेले काठमाडौं नगर कमिटीले ५ जनाको नाम सिफारिस गरेको छ ।
सिफारिस भएकामा काठमाडौं महानगरका वर्तमान मेयर विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित छन् । त्यस्तै नगर कमिटीका अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्त पनि उम्मेदवारको सिफारिसमा परेका छन् ।
कमिटीका अध्यक्ष देउलाले नगर कमिटीबाट सिफारिस भएपछि सोही आधारमा जिल्लाले सिफारिस गर्ने जानकारी दिए । उनले जिल्ला कमिटीले आफूलाई लागेको रायसहित प्रदेश र प्रदेशबाट केन्द्र जाने बताए ।
केन्द्रले तल्ला कमिटीका सुझावका आधारमा निर्णय गर्ने उनले बताए । उपप्रमुखको उम्मेदवारका विषयमा छलफल जारी छ ।
नगरका १६ वडामा अध्यक्षको उम्मेदवार सर्वसम्मत भइसकेको र अरु वडामा छलफलका क्रममा रहेको देउलाले उल्लेख गरे ।
उता नेकपा एमाले पोखरा महानगर कमिटीले आन्तरिक मतदानबाट मेयर र उपमेयरको उम्मेदवार खोज्ने भएको छ । लामो छलफलमा समेत सहमति नभएपछि शुक्रबार मतदानको तयारी गरिएको हो । मनोनयन समेत शुक्रबार नै हुनेछ ।
यसअघि आकांक्षाका रुपमा नाम टिपाएकाहरु बाहेकले समेत मनोनयन गर्न पाउने छन् । सचिवालय बैठकले निर्वाचन मण्डल गठन गरेको छ । एमाले निकट अधिवक्ताहरू कमल अर्याल, जुना गुरुङ, भगवती पहारी र यामबहादुर खत्री सम्मिलित निर्वाचन मण्डल बनाइएको हो । निर्वाचन मण्डलले निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिसकेको छ भने शुक्रबार बिहान मनोनयनको कार्यक्रम छ । यसअघि मंगलबार आकांक्षीको नाम टिपिए पनि पुनः नयाँ प्रक्रियाबाट मनोनयन गर्न लागिएको हो ।





















प्रतिक्रिया