मुलुक कोरोना महामारीले आक्रान्त छ । दिनहुँ सयौं जनता अकालमै ज्यान गुमाइरहेका छन् । अस्पताल संक्रमितले भरिभराउ छन् । आइसीयू र भेन्टिलेटर अभावमा मानिस छट्पटाइरहेका छन् । आर्यघाटमा धुवाको मुस्लो फुस्फुसाइ रहेको छ। आज कति जना मानिसको मृत्यु भयो भनेर गनेर बस्नुपर्ने अवस्था आएको छ। आर्यघाटमा लास जलाउनलाई पनि पालो कुरेर बस्नु परिरहेको छ। देशको यो कहालिलाग्दो र पीडादायी अवस्थाले मन नहुनेहरुको मन पनि रुन्छ होला पक्कै।
यो विषम परिस्थितिमा एउटा प्रश्न उठ्छ राज्य, सरकार र अन्य जिम्मेवार निकायाहरु कहाँ हराइरहेको होलान यति बेला ? नागरिकलाई अप्ठ्यारो पर्दा समस्या पर्दा एउटा सहयोगी र अभिभावकीय भूमिका खेलोस् भनेर राज्य अनि सरकारको परिकल्पना गरिएको होला । तर आज हाम्रो देशमा जनताहरु अस्पतालको बेडमा छटपटाइ रहेको बेला सरकार हराएको छ । टेलिभिजनमा सरकार हराएको सूचना जारि गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
जनतालाई दु:खमा नचाहिने सरकार अब फेरि किन कति बेला चाहीँ चाहिन्छ होला र ? अहिलेको विकराल परिस्थितिलाइ हेर्ने हो भने सरकार पूर्णत: असफल भएको छ । कोरोना संक्रमितहरुलाई न बेड, न अक्सिजन, न भ्यान्टिलेटर, न राम्रो उपचार को व्यवस्था छ । कोरोना रोकथामको लागि आवश्यक पर्ने खोपको अवस्था पनि उस्तै छ । अझै कहिले नेपालीहरुले खोप लगाउन पाउने हुन्, कुनै ठेगान छैन । आजको यो अवस्था हेर्दा जनताको आँखाबाट आँशु बर्सिरहेको छ ।
तर, सरकार लाचार बनेर रमिता हेरिरहेको छ । सरकार मात्रै होइन महामारीको बेला विपक्षी दलहरु, नागरिक समाज, राजनीतिक समाजिक संघसंगठनहरु सबैको साझा दायित्व हुन्छ । तर दुर्भाग्यपूर्ण ! आज कसैलाई पनि कोरोना महामारी नियन्त्रण गर्ने गम्भीर चिन्ता देखिन्न । नेपाली राजनीतिको पहिलो प्रथामिकतामा आज पनि कोरोना संक्रमित जनताको पीडा, रोदन, दु:ख र समस्या पर्न सकेको छैन । महामारी भनेको एउटा गम्भीर अवस्था हो । यस्तो बेला राजनीतिक आग्रह पूर्वाग्रह सबै भुलेर सत्ता स्वार्थाबाट माथि उठेर जनता जोगाउन लाग्नपर्ने हो । तर, नेपालमा सत्ता र शक्तिको राजनीतिक खिचातानी बढ्दो छ ।
राजनीति गर्ने भनेको नै देश र जनताको भलाइका लागि हो । देश र जनता नै नरहे कसका लागि राजनीति गर्ने ? कुर्सी गौण कुरा हो । महामारीको बेला नेतामा कुर्सी मोह हुनु हुँदैन । नेता जनताप्रेमी हुनुपर्छ । समय आएपछि जनताले आफै नेता को हिसाब किताब गर्छन। महामारीलाई निस्तेज पार्न सबैको उत्तिकै साथ सहयोग र भूमिका आवश्यक छ । तर, नेपालमा त्यो देखिएको छैन । २०७७ साल कोरोना महामारीले आक्रान्त पार्यो ।
२०७७ को अन्त्य तिर अव त अवस्था सहज होला भनेको २०७८ को सुरुमा नै फेरि उहि अवस्था दोहोरियो । जहिले मुलुकमा लकडाउन जारी छ । निषेधाज्ञा लकडाउनले थुप्रै जनता घरभित्रै थुनिन बाध्य भएका छन् । दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने मजदुरहरूलाई चुल्हो बाल्न धौं-धौं भइरहेको छ । यस्तो बेला सबै दल एक ठाउँमा उभिर जनतालाई साथ दिनुपर्ने हो । जनताका भोका पेट भर्नुपर्ने हो । तर, नेपालमा त्यसो हुन सकिरहेको छैन ।
मुलुक दोस्रो भेरियन्टको चपेटामा छ । तर, वर्तमान सरकार महामारी नियन्त्रणमा भन्दा सत्ताको खेलमा लागेको छ । जनताको आयु कसरि लम्ब्याउने होइन आफ्नो सत्ता कसरि लम्ब्याउने अनि जनताको जीवन कसरी बचाउने होइन । आफ्नो कुर्सी कसरि बचाउने यहि चिन्ता मात्रै देखिन्छ । यसैगरि अन्य पक्षहरु पनि कोरोना महामारी नियन्त्रण कसरी गर्ने ? अक्सिजनको अभावमा छटपटाइ रहेकाहरुलाई कसरी बचाउने भन्ने भन्दा पनि सत्ताको खेलमा नै रुमल्लि रहेका छन् । यो विडम्बनापूर्ण र दु:खद अवस्थामा आम नागरिकलाई कोरोना महामारीबाट कसरी बचाउने, कसरी जोगाउने भन्ने मुल चिन्ता र चासो हुन पर्नेमा नेपालको राजनीति आफ्नो मुल बाटो, पहिलो प्रथामिक्ता र राष्ट्रिय जिम्मावारी भुलेर यो महामारीमा कुर्सीको सवारीतर्फ केन्द्रित भएको छ ।
(लेखक नेपाल तरुण दलका निवर्तमान महासचिव हुन् ।)















प्रतिक्रिया