Logo

प्रमुख समाचार

जाँदा सबैको हाइहाइ, आउँदा कसैले भनेनन् बाइबाइ !

'फर्कने पनि व्यवस्था छ कि भनेर कुमारले पहिले फोन गर्ने मान्छेलाई फोन गरे,तर उनको प्रश्नमा उताबाट निकै लामो हाँसो मात्र आयो बस आएन ।'



चुनाव आयो गयो । मतपरिणाम आइरहेका छन् । फेरि पनि चुनाव आयो गयो तर चुनावमा मत दिन जानेहरु खै कता छन् ? उनीहरु सबै आइपुगे ? सबै आइपुगे कि आइपुगेनन् भन्ने उनीहरुले काम गर्ने कार्यलयको हाकिमलाई थाहा होला, उधारो खाइरहको पसलको साहुलाई थाहा होला । तर लैजानेलाई थाहा छैन कि उनीहरु फर्किए कि फकिएनन् भन्ने कुरा ।
चुनावको माहोलले देश राम्रैसँग तताएको थियो ।

सधैँ व्यस्त हुने काठमाडौँको सडकले केही दिनलाई राहत पायो । व्यस्त बजार सुस्तायो । तर चुनाव त काठमाडौँलाई पनि त लागेको थियो । केही चुनावहरू भट्टीमा भेटिए । केही चुनाव रेष्ट्रो र बारमा भेटिए ।

तर यसपटकको अधिकांश काठमाडौँको चुनाव फेसबुकमा भेटियो । फेसबुकमा भेटिनु मुख्य कारण भने मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन नै थिए ।

बसर्पाकमा लामा बसहरु लामो यात्रामा थिए । त्यहाँ गन्तव्यभन्दा लामो त उद्देश्य थियो, चुनावको । केही समय अगाडि हातमा टिकक चाहिँदैन थियो । यो मेरो सिट हो यति पो तिरेको छु त भन्ने शब्दहरु थिएनन् । सबै बस बुकिङका थिए । बसमा बस ! पार्टीको झण्डा थियो । आफूनिकट पार्टीको झण्डा भएको बसमा गएर बस्नुपर्ने थियो । यसरी नै बसे झापाका कुमार बराल । उनी चावहिल बस्छन् । पार्टीले लैजाने भएपछि घर जान बिदा मिलाए । बिदा पाए र उनी घर गए । उनले गाउँ गएर भोट हालेको उम्मेदवारले जित्यो पनि ।

जब काठमाडौँ फर्किने बेला भयो तब यहाँ गाडी छ भन्ने फोन आएन उनी सबेरै माइक्रोमा काठमाडौँ फर्किए जाँदा सित्तैमा गए पनि फर्कँदा उनको दुई हजार भन्दा माथि खर्च भयो । जुन खर्च उनको गोजीको हो । फर्कने पनि व्यवस्था छ कि भनेर कुमारले पहिले फोन गर्ने मान्छेलाई फोन गरे तर उनको प्रश्नमा उताबाट निकै लामो हाँसो मात्र आयो बस आएन ।

त्यसैगरी अक्षामका खकेन्द्र बूढाले केही पारिवारीक काम र चुनावी माहोलको लागि आफ्नो कार्यलयमा बिदा मागे तर आफ्नो गाउँको बसले उनलाई बसपार्कबाटै छाडेर गयो । पार्टीनिकट अर्कै गाउँको बसमा उनी गए । झापाका कुमार पुगेजस्तो अक्षामका खकेन्द्र बिहान हिँडेर बेलुका पुगेनन् । उनको घर पुग्न कम्तीमा तीन दिन लाग्छ । साफेँबगरसम्म मात्र पार्टीको बस पुग्यो । त्यहाँबाट उनले एक हजार थपेर आफ्नो गाउँ पुगे ।

चुनावमा भोट हाले उनले भोट हालेको उम्मेद्वारले जिते कि जितेनन् भनेर उनले खुलाउन चाहेनन् । काठमाडौँमा ठिकठाक तलबमा जिन्दगी गुजारिरहेका खकेन्द्र बूढाको काँधमा घरको जिम्मेवारी पनि रहेको छ ।

भोट हाल्न सबैसँग चुनावमा घर पुगेका खकेन्द्र फर्कँदा भने एक्लै परे, आफ्नो गाउँ ढकारीबाट धनगडी आइपुग्न उनलाई एक रात र दुई हजार खर्च गर्नुपर्यो । धनगडीबाट फेरि काठमाडौँ आइपुग्न उनले बसभाडा स्वरुप रु दुई हजार पाँचसय खर्च गरे । धनगडीमा एक रात र खाना गर्दा उनको जम्मा आठ हजार खर्च भयो । चुनावका भोट हाल्न पुगेका खकेन्द्र मतको कदर कत्तिको हुन्छ त्यो भने अबको पाँच वर्षमा आउँछ ।

यसरी नै धेरै गए चुनावमा भोट हाल्न । जाने व्यवस्था भयो तर आउने भएन । गाउँ, नगर वा क्षेत्र बनाउँछु भनेर जिम्मेवारी लिने उम्मेदवारले लगेपछि फर्काउन जान्दैनन् भने हामीले उनीहरुलाई कुन विश्वासले मत दिने भन्ने कुरा नै अन्योलमा रहेको छ । निर्वाचनमा मात्र याद आउने मतदाता पनि ठूला नै हृदयका छन् ।

धेरै पछिको पनि सम्झना गर्नु पर्दैन पहिलो लकडाउनलाई सम्झने हो भने हाम्रो भक्कानो फुटेर आउँछ । तर हामीले उक्त कुरा बिर्सियौँ त्यही प्रतिनिधिलाई जिताउन सास रोक्दै हामी फेरि गाउँ पुग्यौँ । त्यही साभार गरिएको घोषणापत्र पढेर वाह ! भन्यौँ । कतिले भोज पनि खायौँ होला । भोट हाल्यौँ अब के हुन्छ ? मतको परिणाम कहिले आउँछ हामीलाई थाहा छैन । तर यति थाहा छ कि परिणाम जस्तै आए पनि अर्को चुनावमा हामी उसैलाई भोट हाल्छौँ जसले सोचेअनुसारको काम गरेनन् ।

गएकाहरुले हालेको भोटलाई लानेहरुले मतको कदर गरुन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार १४:५०   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।