काठमाडौँ । बागमती प्रदेशसभाको बैठक आज (शुक्रबार) बस्दैछ । सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउन पर्ने भएकाले हिउँदे अधिवेशन गएको चैत ९ गते राति १२ बजेदेखि अन्त्य गरेको थियो ।
करिब ६४ दिनपछि बागमती प्रदेशसभाको दशौं अधिवेशन बैठक बुधबार बस्ने तय भएको हो । प्रदेशसभामा बुधबार दुई वटा बैठकहरू संचालन हुने प्रदेशसभा सचिवालयका प्रवक्ता सुन्दर पन्तले जानकारी दिए । बैठकमा पेश हुने कार्य सूचीका बारेमा बिहिबार नै छलफल भइसकेको उनले बताए ।
उनका अनुसार आज बस्ने प्रदेशसभाको पहिलो बैठकमा शुभकामना दिने कार्य सूची रहेको छ । सोही बैठकमा नै संसद अवरुद्ध भएका बेला सरकारको काम संचालनको लागि ल्याएको ५ वटा अध्यादेश पेश हुनेछन् । सरकार संचालनको क्रममा ल्याएका अध्यादेशहरू संसदमा पेश गरेर पास गर्नुपर्ने व्यवस्था रहेको छ ।
बैठकमा प्रदेशसभामा आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्य मन्त्री नीमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेश गर्ने भएका छन् ।
त्यसैगरी, युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गर्ने भएका छन् । प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा ९गठन तथा सञ्चालन० अध्यादेश २०७८ पनि संसदमा पेश हुने भएको छ ।
त्यसैगरी प्रदेशसभाको आज बस्ने दोस्रो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० का लागि तयार गरेको प्रि बजेट पेश गर्ने कार्य सूची रहेको छ । बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले सरकारको नीति कार्यक्रम र बजेटका विषयहरु समेटेर तयार पारेको प्रि बजेटको प्रस्ताव पेश गर्ने छन् । त्यसमाथिको छलफल भने अर्को बैठकमा हुने जनाइएको छ ।
प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आगामी जेठ १६ गते हुने सदनमा पेश गर्ने तय गरेको छ ।





















प्रतिक्रिया