Logo

जनप्रतिनिधि

काठमाडौँलाई स्वस्थ सहर बनाउने चिकित्सकका छोरा बालेनको योजना



नयाँ संविधान जारी भएपछिको दोस्रो स्थानीय तह निर्वाच भर्खरै सम्पन्न भएको छ । जनताको नजिकको सरकार भनेर चिनिने स्थानीय सरकारमा पाँच वर्षे कार्यकालका लागि जनप्रतिनिधिहरु निर्वाचित भएका छन् । देशका केही उपमहानगर, नगर र गाउँपालिकामा स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुलाई केही हदसम्म सामान्य रुपमा लिइए पनि मुलुककै संघीय राजधानी समेत रहेको काठमाडौंमा समेत स्वतन्त्र उम्मेदवारले बाजी मार्नुलाई भने निकै चासोका साथ हेरिएको छ । जहाँ फरक पृष्ठभूमिबाट उदाएका व्यक्ति बालेन्द्र साह (बालेन) विजयी भए ।

काठमाडौंको गौरीगाउँमा जन्मिएका बालेन आयुर्वेदिक चिकित्सक डा. राम नारायण साह र ध्रुवदेवी साहका छोरा हुन् । उनी अहिले ३१ वर्षका भए । साह पेशाले इन्जिनियर हुन् भने नेपाली संगीत क्षेत्रमा र्याप गायकका रूपमा पनि चर्चित छन् । काठमाडौँ महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका साह ६१ हजार ७ सय ६६ मतसहित विजयी भएका हुन् ।

ललितपुर महानगरपालिका वडा नम्बर १० का तत्कालीन वडाध्यक्ष नरसिंह व्यञ्जनकारलाई बालेनले आफ्नो राजनीतिक गुरु मानेका छन् । १० औँ पटकसम्म स्वतन्त्रबाट वडाध्यक्ष जित्दै आएका व्यञ्जनकारबाट प्रभावित भएर काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताएका थिए । उनले स्थानीय तह निर्वाचन २०७४ मा भोट नहाल्ने पाँच वर्षपछि आफैँलाई भोट हाल्ने भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । काठमाडौँ मेयर स्वतन्त्रबाट उम्मेदवारी दिने सोच त्यहाँबाट नै सुरु गरेका हुन् ।

२०७२ सालको महाभूकम्पपछि साहले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको रुपमा पनि चिनिन्छन् । साहले काठमाडौं महानगरपालिकाको मेयरमा जित्नुमा प्रत्यक्षभन्दा भर्चुअल माध्यम र सामाजिक सञ्जालबाट धेरै साथ पाएका थिए । विजयी भएपछि साहले आफू सम्पत्ति कमाउन नभएर जनताको सेवा र महानगरको काम गर्ने लक्ष्यले मेयर बनेको बताएका छन् ।

शैक्षिक योग्यता
ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा उनले स्नातकोत्तर गरेका छन् । उनले पेशाको क्रममा देशका ६५ जिल्लामा पुगेको बताएका छन् ।

विकासका योजनाहरु
काठमाडौं महानगरपालिकामा मेयरको पदभार ग्रहण गरिसकेका साहले काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर प्रतिबद्धता जाहेर गरेका छन् ।

पूर्वाधार, बाटो, पुल, विद्यालय, अस्पताल बनाएर महानगर चलाउनलाई केही अनुभवहरु प्रत्यक्ष रुपमै लिइसकेको उनको बुझाई छ । नीति निर्माणमा संलग्न हुने, शिक्षा, स्वास्थ्यदेखि फोहोर व्यवस्थापन, इञ्जिनियरिङ जस्ता समग्र कुरामा सहभागी भैसकेको उनले बताए ।

मेयर साहले काठमाडौंको सडक व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेका छन् । सबैभन्दा पहिलो काम काठमाडौंको फोहोर व्यवस्थापन हो भनेर साह दिन रात लाली परेका छन् । भौतिक पूर्वाधार निर्माणको योजनाहरुमा पनि उनले समय अनुसारको योजना तयार पारेका छन् । विद्युतीय सवारी साधनलाई प्राथमिक्ता दिने योजना पनि साहले बताएका छन् ।

काठमाडौं उपत्यकालाई अब विस्तारै २४ घन्टा खोल्ने नीतिमा साह अगाडि बढेका छन् । सरकारी कार्यालयहरु पनि बेलुकीसम्म खोलेर सेवाग्राहीलाई सेवा दिने उनको योजना छ । काठमाडौंको विकासका लागि मेयर बालेनने महत्वाकांक्षी योजनाहरु अगाडि सारेका छन् । केही योजनाहरु बाहिर भन्दा हावादारी गफ जस्तो सुनिने भएकोले बाहिर नखुलाएको योजनाहरु पनि रहेको उनको भनाई छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार ०८:००   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।