२६ करोड लागतमा सिन्धुलीमा निर्माण गरिएको बाटोको पिच सुक्न नपाउँदै भत्किएपछि खेलाबैला भएको छ । जिल्लाको दुधौली नगरपालिकाको वडा नं. १० लखिमाबाट वडा नं. १३ ठाकुर दमारसम्म गरिएको कालोपत्रे नसुक्दै उप्किएपछि त्यहाँको बारेमा विभिन्न व्यक्तिहरुले चासो देखाएका छन् ।
१२.५ किलोमिटरको लम्बाइमा रहेको यस सडकमा ३ किलोमिटर सडकको कालोपत्रे पुरै उप्किएको छ । वार्षिक रुपमा छुट्याईएको बजेट सक्ने हतारोमा कमसल पदार्थ प्रयोग गरि सडक कालोपत्रे गरिएकोले उप्किएको पाइएको छ ।
ठेकेदार कम्पनी इसिआई कन्काई जेभीको रोहवरमा रहेको सडक निर्माण कार्यको पछिल्लो जिम्मेवारी भने सिन्धुलीकै इमानुवल निर्माण कम्पनीले लिएको थियो । सडकको कालोपत्रे तीन सेन्टिमिटर हुनु पर्ने सम्झौता भएपनि त्यो भन्दा पातलो विछ्याईएपछि कालोपत्रे उप्किएको हो ।
कालोपत्रे नसुक्दै उप्किएको बारेमा ठेकेदार कम्पनीका सञ्चालक छत्र बम्जनसँग जिज्ञासा लिदा असार १६ गते राति ठूलो पानी परेर खोल्सा थुनिएकोले त्यसको असर सडकमा परेको बताए । सडक निर्माणको गुणस्तरमा कुनै सम्झौता नगरेको दाबी गर्दै बम्जनले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सडक भत्किएको तस्बिर भाइरल गरेर तिललाई पहाड बनाएको आरोप लगाए ।
राज्यको रकम एकसुक्का पनि नलिई तीन वर्षसम्म बाटो निर्माणलाई निरन्तरता दिने उनले बताए । अबको निर्माण कमजोर नहुने समेत उनको प्रतिक्रिया छ ।
गल्ती लुकाउन पत्रकारलाई जाँडपाटी

आफूले गरेको गल्ती ढाकछोप गर्न ठेकेदार बम्जनले पत्रकारहरुलाई नै प्रलोभनमा पारेका छन् । आफू काठमाडौंमै रहेका बम्जनले पत्रकारहरुलाई रक्सीपाटी गराउने आस्वासन दिएर सिन्धुलीको दुधौली पठाएका छन् । त्यहाँ पत्रकारहरुको व्यवस्थापनको जिम्मेवारी उनका भाइ विष्णु बम्जनले लिएका छन् ।
ठेकेदार बम्जनको रक्सीपाटीमा सहभागी हुन यतिबेला एक दर्जन जति पत्रकारहरु दुधौली पुगेका छन् । यसरी सहभागी हुने पत्रकारहरुमा स्थापित सञ्चार संस्थादेखि सरकारी सञ्चार संस्थामा आवद्धसम्म रहेका छन् ।
पत्रकारलाई रक्सी खुवाउने आस्वासन सहित सिन्धुली लगिएको बारेमा ठेकेदार बम्जनसँग प्रतिक्रिया माग्दा कुनै पाहुना आएमा चिसो तातो के खाउँ भनेर सत्कार गर्नु नौलो नभएको भन्दै घुमाउरो बाटोबाट स्वीकार गरे । पत्रकारहरु चाहिँ आफूले पठाएको नभई स्वतस्फूर्त रुपमा गएको दाबी गरे ।
पत्रकारहरु रक्सीपाटी भनेपछि हुरुक्क हुन्छन् भन्नेतर्फ संकेत गर्दै ठेकेदार बम्जनले आफूलाई फोन गरेर बुझ्न चाहने पत्रकारहरु आफैं सिन्धुली पुगेको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका व्यक्तिहरु समेत सडकको अवलोकन गर्न दुधौली पुगेको भनाई बम्जनको छ ।























प्रतिक्रिया