अमेरिकाले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १५ लाख ३४ हजार ८५० डोज खोप काठमाडौं आइपुगेको छ।
सोमबार बिहान काठमाडौं आइपुगेको उक्त खोप कतार एयरवेज मार्फत ल्याइएको हो । खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
जोन्सनको यो खोप एक डोज मात्रै लगाउँदा हुन्छ । चाइनिज खोप भेरोसेल र इन्डियन कोभिसिल्ड जस्तो दुई डोज लगाइरहनु पर्दैन ।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप दिने घोषणा गरेका थिए । सोही घोषणाअनुसार कोभ्याक्स सुविधामार्फत जोन्सन एण्ड जोन्सन खोप आएको हो ।
हालसम्म नेपालमा भारतको सिरम कम्पनीको कोभिसिल्ड खोप, चीनको भेरोसेल खोप आएको छ । जोन्सन एण्ड जोन्सन खोप ८८ प्रतिशत प्रभावकारी देखिएको कम्पनीले जनाएको छ । हाल नेपालमा कोभिशिल्ड खोप सकिएको छ भने भेरोसेल खोप लगाउने अभियान चलिरहेको छ ।
कोभिशिल्ड खोपको पहिलो डोज लगाएका करिब १५ लाख मानिसहरू दोस्रो डोजको पर्खाइमा रहेका छन् ।




















प्रतिक्रिया