Logo

प्रमुख समाचार

लोकसेवा विषेशः प्रश्नोत्तर कार्यक्रम (अङ्क–७६)



वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ ।

आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागका अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।

आजको लागि प्रश्नोत्तर यसप्रकार रहेको छ ।

१. प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन (२०७९)का लागि तोकिएको मिति कुन हो ?

उत्तर– वि.सं. २०७९ मङ्सिर ४

– मन्त्रिपरिषद्को २०७९ साउन १९ को बैठकले दुवै तहको विधायिकी निर्वाचन सो मितिमा गर्ने निर्णय गरेको ।

– आमनिर्वाचनबाट २७५ प्रतिनिधि सभा (१६५ प्रत्यक्ष र ११० समानुपातिक) सदस्य निर्वाचित हुनेछन् । त्यसैगरी प्रदेश सभातर्फ सातवटा प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी ५३० सदस्य निर्वाचित हुनेछन् ।

– निर्वाचनको मिति घोषणासँगै आयोगले साउन १९ गतेसम्म नामावली सूचीकृत गराएका नागरिकलाई मात्रै मतदाता नामावलीमा सूचीकृत गर्नेछ। निर्वाचन मिति घोषणापश्चात् साउन २० देखि नामावली सङ्कलन स्थगित भएको छ ।

– निर्वाचन आयोगले काठमाडौँ उपत्यकाका अतिरिक्त पाँच जिल्लामा अनलाइन नामावली दर्ता पहिलो पटक सुरु गरेको ।

२. गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आ.व. २०७८÷७९ का लागि भएको कार्यसम्पादन सम्झौताको मूल्याङ्कन प्रतिवेदनअनुसार कुन जिल्ला प्रशासन कार्यालय सर्वोत्कृष्ट बनेको छ ?

उत्तर– गुल्मी

– गुल्मी जिल्ला प्रशासन कार्यालय ९७.७५ प्रतिशत अङ्कका साथ पहिलो स्थान हासिल गर्न सफल भएको ।

– कार्यासम्पादन सम्झौताका छवटा विषयगत क्षेत्र शान्तिसुरक्षा र अपराध मूल्याङ्कन, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन रहेका ।

– कार्यसम्पादन मूल्याङ्कनमा प्रथम पाँच स्थानमा रहन

सफल जिल्ला ।

गुल्मी – ९७.७५ प्रतिशत

अर्घाखाँची – ९७ प्रतिशत

नवलपरासी पूर्व – ९६.७५ प्रतिशत

रुकुम पश्चिम – ९६ प्रतिशत

डडेलधुरा र हुम्ला – ९५ प्रतिशत

३. उदयपुर, सप्तरीलगायत जिल्लाका एक हजारभन्दा बढी घर डुबानमा पर्ने गरी कोसी नदीमा बाढी कहिले आएको हो ?

उत्तर– वि.सं. २०७९ साउन (झन्डै साढे तीन दशकपश्चात् बाढीका कारण कोसी नदीले धार परिवर्तन गरिबहँदा थुप्रै बस्ती डुबानमा परेका।)

४. सरकारले ४० माइक्रोभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगलाई कहिलेदेखि देशभरि नै कडाइका साथ लागू गर्ने निर्णय गरेको हो ?

उत्तर– वि.सं. २०७९ भदौ ७ (यससम्बन्धमा यसअघि पनि विभिन्न प्रयास हुँदै आएका।)

५. सन् २०२२ जुलाई ८–३१ सम्म सञ्चालित कोपा अमेरिका फेमेनिना च्याम्पियनको उपाधि जित्न सफल राष्ट्र कुन हो ?

उत्तर– ब्राजिल

– सन् २०२२ जुलाई ३१ मा भएको फाइनल खेलमा घरेलु टोली कोलम्बियालाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिलको महिला फुटबल टिम आठौँ पटक कोपा अमेरिका फेमेनिना च्याम्पियन बनेको । योसमेत ब्राजिलले लगातार चौथो पटक कोपा अमेरिका फेमेनिनाको उपाधि उचालेको ।

– प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको।

६. होलसेल बैङ्किङ अवार्ड तथा नेपाल डोमेस्टिक इनिसिएटिभ अफ द इयर अवार्डबाट सम्मानित हुने बैङ्क कुन हो ?

उत्तर– एसबीआई बैङ्क

– सिङ्गापुरको एसियन बैङ्किङ एन्ड फाइनान्सले होलसेल बैङ्किङ अवार्डअन्तर्गत सो अवार्ड प्रदान गरेको।

– एबीएफ होलसेल बैङ्किङ अवार्ड उत्कृष्ट एवं भरपर्दो

बैङ्किङ सेवा तथा सुविधा प्रदान गर्ने बैङ्कलाई प्रदान गरिने सो संस्थाले जनाएको।

७. हालै खोटाङको मात्तिमविर्ता केन्द्रबिन्दु भएर छ रेक्टर स्केलको भूकम्प कहिले गयो ?

उत्तर– वि.सं. २०७९ साउन १५

– खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प जाँदा केही घरमा क्षति पुगेको।

– खोटाङसँगै आसपासका जिल्ला भोजपुर, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गालगायत काडमाडौँ उपत्यकासम्म भूकम्पको धक्का महसुस भएको थियो।

– भूकम्पका कारण कुनै मानवीय क्षति एवं पशु चौपायाको क्षति नभएको।

८. वि.सं. २०७९ मा महानगर प्रमुखहरूको सम्मेलन कहाँ सम्पन्न भयो ?

उत्तर– पोखरा

– सम्मेलन वि.सं. २०७९ साउन १४–१५ सम्म सञ्चालन भई सम्पन्न भएको।

– सम्मेलनले सात बुँदे ‘पोखरा घोषणापत्र’ जारी गरेको।

– २०८० सालको सम्मेलन भरतपुर महानगरपालिकाले आयोजना गर्ने सहमति भएको।

– सम्मेलनले महानगरहरूबीच पारस्परिक सम्पर्क–सञ्जाल प्रवद्र्धन गरी आपसी सहयोग र सहकार्यका लागि ‘महानगर मञ्च नेपाल’ गठन गरेको ।

– मञ्चद्वारा प्रत्येक वर्ष पालैपालो महानगर सम्मेलन आयोजनासँगै यसका प्रतिबद्धता कार्यान्वयनमा सहजीकरण गर्न आयोजक महानगरपालिकाले सम्मेलनको अध्यक्षता ग्रहण गरी सचिवालयसमेतको आवश्यक प्रबन्ध गर्ने सहमति भएको ।

९. सरकारले २०७९ साउनमा प्रकाशित तथ्याङ्कअनुसार आ.व. २०७८÷७९ मा नेपालको आर्थिक वृद्धिदर कति कायम भएको जनाएको छ ?

उत्तर– ४.१ प्रतिशत

– आर्थिक वृद्धिको अघिल्लो लक्ष्यमा संशोधन गर्दै अर्थ मन्त्रालयले वृद्धिदर ४.१ प्रतिशतमा मात्र भएको जनाइएको।

– यसअघि वैशाखमा केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो।

– सरकारले पछिल्लो पटक गरेको संशोधन नेपालका दातृ निकायले गरेको प्रक्षेपणकै बराबर रहेको छ।

१०. नेपाली स्याटेलाइट नेपाली स्याट–१ अन्तरिक्षमा कति दिन रहेर खस्यो ?

उत्तर– ८४१ दिन

११. सन् २०२६ को विश्वकप फुटबल प्रतियोगितामा फिफाले एसियाबाट कति टोलीको कोटा निर्धारण गरेको छ ?

उत्तर– आठ

१२. अनौपचारिक सेवा केन्द्रद्वारा २८औँ प्रकाश मानव अधिकार पुरस्कार (२०७९ साउनमा) कसलाई प्रदान गरियो ?

उत्तर– दलिया मुक्ति अभियन्ता राजुराम भुल (पुरस्कार राशि ः रु. ५० हजार)

– राजुराम भुल वि.सं. २०६४ मा सम्पन्न हलियाको प्रथम सम्मेलनबाट गठित राष्ट्रिय हलिया मुक्त महासङ्घ नेपालको केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो ।

– उहाँको अगुवाइमा देशव्यापी रूपमा सञ्चालन गरिएको आन्दोलनको प्रभावस्वरूप २०६५ भदौ २१ गते सरकारले हलियाका माग सम्बोधन गर्दै हलिया प्रथा अन्त्यको घोषणा गरेको थियो ।

१३. यूएनओले अन्तर्राष्ट्रिय पोषण दशकका रूपमा घोषणा गरेको अवधि कुन हो ?

उत्तर– सन् २०१६–२०२५

१४. भैरहवामा निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कुन हुने भएको छ ?

उत्तर– हङ्गेरीको ‘विज एयर’

– सन् २०२२ अक्टोबर ३० देखि अवुधावी–भैरहवा (सातामा तीन दिन) उडान गर्न विज एयरले अनुमति मागेको।

– युरोपेली देश हङ्गेरीको ‘अल्ट्रा लो कस्ट’ एयरलायन्स विज एयरले मध्यपूर्व एसियाको दुवईलाई हव (आधार) बनाएर उडान गर्दै आएको।

– २०७९ जेठ २ देखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले दैनिक तीनवटा उडान गर्दै आइरहेको छ।

– यात्रुको चाप राम्रो भएपछि जजिराले सन् २०२२ सेप्टेम्बर १५ देखि दैनिक एक उडान गर्ने भएको।

१५. नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले उत्कृष्ट इन्जा खोजी पत्रकारिता पुरस्कार कसलाई प्रदान ग–यो ?

उत्तर– पत्रकार गजेन्द्र बुढाथोकी (सन् २०२२ जुलाईमा)

– अन्तर्राष्ट्रिय कम्पनी कोकाकोलाले नेपालमा कर छली गरेको विषयलाई पत्रकारिताको माध्यमबाट सूचना सम्प्रेषण गरी राज्यलाई करिब सात अर्ब राजस्व असुल गर्न सहयोगी भूमिका निर्वाह गरेकाले उनलाई सो पुरस्कार प्रदान गरिएको जनाइएको ।

– त्यस्तै बौद्धिक पत्रकारिता पुरस्कार नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्लेलाई प्रदान गरिएको।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार ०५:३०   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।