काठमाडौं । बैंकहरुको ब्याजदर वृद्धिविरुद्ध अर्थमन्त्री जनार्दन शर्मा एक्सनमा उत्रिएका छन् । असोज महिनाका लागि बैंकहरुले आफू खुशी १० प्रतिशतसम्मले ब्याजदर वृद्धि गरेसँगै चौतर्फी विरोध भइरहेको बेला आइतबार अर्थमन्त्री शर्माले ७ सदस्यीय ब्याजदर अध्ययन समिति गठन गराएका छन् ।
आइतबार दिउँसो अर्थमन्त्रालयमा राष्ट्र बैंकका प्रतिनिधि, बैंकर्स संघ, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कर्मशका प्रतिनिधिहरूलाई बोलाएर मन्त्री शर्माले छलफल गरेका छन् । सोही छलफलमार्फत मन्त्री शर्माले अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा ७ सदस्यीय ब्याजदर अध्ययन समिति गठन गरेका हुन् ।
उक्त समितिलाई ब्याजदर वृद्धि सम्बन्धि अध्ययन गरी ५ दिन भित्रै अध्ययन प्रतिवेदन बुझाउन समेत मन्त्री शर्माले निर्देशन दिएका हुन् । समितिमा राष्ट्र बैंकबाट १ जना, बैंकर्स संघबाट २ जना, आपूर्ति मन्त्रालयबाट १ जना तीन वटै व्यवसायिक संगठनहरुबाट १र१ जना गरी ७ जना रहने छन् ।
सदस्य सचिवमा अर्थमन्त्रालयका उपसचिव रहेका छन् । यस समितिमार्फत प्राप्त अध्ययन प्रतिवेदनले औंल्याएको विषयमा थप छलफल गरी ब्याजदर संशोधनको लागि राष्ट्र बैंकमार्फत बैंकहरुलाई निर्देशन दिइने अर्थमन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया