Logo

अर्थ

निर्वाचन खर्चको सीमा बढाइँदै, प्रतिनिधिसभाका उम्मेदवारले कतिसम्म खर्च गर्न पाउँछन् ?



काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले गर्ने खर्च सीमा बढाउने तयारी निर्वाचन आयोगले गरेको छ । मंगलबार दलहरूसँग छलफल गरेपछि आयोगले वैज्ञानिक तवरले निर्वाचन खर्चको सीमा बढाउने तयारी गरेको हो ।

प्रतिनिधिसभाका उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने नयाँ प्रस्ताव गरिएकाे हाे । २०७४ को निर्वाचनमा प्रदेशसभातर्फ प्रति उम्मेदवार १५ लाख र प्रतिनिधिसभातर्फ २५ लाख रुपैयाँ खर्च सीमा तोकिएको थियो ।

निर्वाचन क्षेत्रको मतदाता संख्या, निर्वाचन क्षेत्रको भूगोलको क्षेत्रफल र ०७४ देखि ०७९ सालसम्म भएको मुद्रा स्फितिको दरलाई आधार बनाइएको छ । छलफलपछि कांग्रेसका नेता भीष्मराज आङ्दम्बेले यसअघिको खर्चको सीमालाई हेरफेर गर्ने विषयमा छलफल भएको बताए ।

छलफलमा स्थानीय निर्वाचनमा खर्चको विवरण नबुझाउनेलाई आयोगबाट भएको कारवाहीका विषयमा पनि ध्यानाकर्षण गराएको र आयोगले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताएको उनले बताए ।

नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले खर्चको सीमालाई वैज्ञानिक तवरले अन्तिम रूप दिनुपर्ने सुझाव दिएको बताए । निर्वाचन क्षेत्रको मतदाता संख्या र भूगोलका आधारमा छुट्टाइएका ५ वटा क्लष्टरमा छलफल भएको उनकाे भनाइ छ ।

त्यस्तै, छलफलपछि निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन खर्चलाई क्लष्टरका आधारमा वैज्ञानिक तवरले टुङ्गाउने छलफल भएको र दलहरूको सुझावका आधारमा खर्चको विषयमा सीमा निर्धारण गर्ने बताए ।

त्यस्तै, स्थानीय निर्वाचनको खर्च नबुझाउने विषयमा आयोगले कानुनसम्मत नै निर्णय गरेको र कानुनको पालना मात्रै गराएको उनकाे भनाइ छ । स्थानीय निर्वाचनको खर्च नबुझाउने विषयमा आयोगले गरेको निर्णयमा पनि दलहरूसँग पुन: छलफल गरी निकास खोज्ने प्रतिवद्धतासमेत जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलवार १६:५९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।