Logo

अर्थ

खसी बोकाको माग घट्दै: व्यापारी चिन्तित



काठमाडौं । कैलालीको चुरे गाउँपालिकाका मानबहादुर मगर सहितका किसानलाई चाडपर्वको समयमा पनि खसी–बोकाको सोचे अनुसारको व्यापार नहुँदा चिन्ता छ । धनगढीको हसनपुरमा खसी बोकाको घुम्ती व्यापार गरिरहेको भेटिएका मानबहादुरले भने, ‘पहिलेको जस्तो जुगजमाना अब रहेन, मान्छेले बोकाको बली दिन छाड्दा यसको माग पनि घट्न थाल्यो ।’

पहाडी क्षेत्रको चुरे गाउँपालिका वासिन्दाको मुख्य पेशा नै बाख्रापालन रहेको छ । यो क्षेत्र बाख्रापालनका लागि पकेट क्षेत्रका रूपमा रहेको छ । यसबाहेक चुरेका किसानको अर्को आयस्रोतका रूपमा फलफूल, अदुवा र बेसारको खेती पनि छ ।

उनले थपे, ‘पहिलेको भन्दा महंगी बढेको भएर पनि अपेक्षा गरे अनुसारको बिक्री हुन नसक्ने समस्या देखिएको हुनसक्छ ।’ उनी सहितको समूहले ३ दिनदेखि धनगढीका चोक र गल्लीमा पुगेर खसी बोकाको घुम्ती व्यापार गरिरहेको छ ।

अर्का किसान दानबहादुर बुढाले दशैंको समयमा चुरे गाउँपालिकामा पालिएका खसी बोका बिक्रीका लागि काठमाडौं र पोखरासम्म पुर्‍याउने गरिएको बताए । उनले भने, ‘यहाँका खसी बोकाको बिक्रीबाट मुनाफा बढी लिने सोचले जिल्ला बाहिर लग्ने गरिए पनि सोचे अनुसारको फाइदा लिन सकिएको छैन ।’

चुरे गाउँपालिकाका कतिपय किसान परिवारले एउटै खोरबाट कम्तीमा पनि ३५र४० वटा बाख्रा पाल्ने गरेका छन् ।

व्यापारी लोकबहादुर बोहराले पनि बलि दिने परम्परामा कमी आउँदा खसीबोकाको स्थानीय क्षेत्रमा माग पहिलेको जस्तो नभएको अनुभव सुनाए । ‘स्थानीय क्षेत्रमा जिउँदो खसी मुस्किलले प्रति किलो ५५० मा खरिद बिक्री भइरहेको छ,’ बोहराले भने, ‘पहिलेको भन्दा माग निकै घट्दा समस्या भइरहेको छ ।’

यहाँका खसीबोका पोखरा काठमाडौं पुर्‍याएर बेच्दा प्रतिकिलो ७०० देखि ८०० सम्ममा बिक्री हुने गरेको व्यापारीले बताएका छन् । बाख्रापालन व्यवसायका लागि सरकारबाट सहयोग नपुगेको गुनासो कृषकको छ । उनीहरूले भने, ‘सरकारले बाख्रापालनका लागि पकेट क्षेत्र घोषणा गर्छ तर पकेट क्षेत्रमा गर्नुपर्ने सहयोग किसानलाई उपलब्ध गराउँदैन ।’

प्रकाशित मिति : १६ आश्विन २०७९, आईतवार १२:३७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।