Logo

टिप्पणी

टिकट नपाएपछि माओवादी केन्द्र छोड्ने तयारीमा हरिबोल गजुरेल



मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनमा माओवादी केन्द्रले प्रतिनिधीसभा सदस्यको टिकट नदिएपछि पार्टी उपमहासचिव हरिबोल गजुरेल असन्तुष्ट बनेका छन् ।

क्षेत्र र जिल्लाबाट आफ्नो नाम सिफारिस भएर आउदा पनि पार्टी अध्यक्ष प्रचण्डले नियतवस टिकट नदिएको भन्दै गजुरेल फायर बनेका छन् । आफूसँग प्रतिशोध साध्नैका लागि प्रचण्डले यसो गरेको निष्कर्ष उनले निकालेका छन् ।

तत्कालिन समयमा नेकपामा समस्या आउदा एमालेतिर झुकाव देखाएका गजुरेलाई त्यहि बेलाको बदला प्रचण्डले लिएको बताइन्छ । प्रचण्डले बदलाको भावना राखेर टिकट नदिएको भन्ने बुझेका उनले पार्टीनै छोड्ने सम्मको तयारी गरेको बताइन्छ ।

प्रतिनिधिसभा उम्मेदवार बन्न नपाएपछि नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले असहमति पत्र दर्ता गराएका छन् । माओवादी स्रोतका अनुसार गजुरेलले आफ्ना सहयोगीमार्फत पार्टी कार्यालय पेरिसडाँडा र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को निवास खुमलटारमा शुक्रबार असहमति पत्र पठाएका हुन् ।

पत्रमा गजुरेलले आफूलाई टिकट नदिनुको कारणबारे पदाधिकारीबीच छलफल गर्नुपर्ने माग गरेका छन् । दुई पटक सिन्धुलीबाट चुनाव जितेका गजुरेल यसपटक पनि सिन्धुली–२ बाट चुनाव लड्न चाहन्थे । तर माओवादी केन्द्रले जिल्ला इन्चार्ज लेखनाथ दाहाललाई टिकट दिएको छ ।

निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीले आफ्नो नाम सिफारिस गरे पनि टिकट नदिएको भन्दै गजुरेल असन्तुष्ट छन् । यो बिषयलाई उनले गम्भिर रुपमा लिएको र यस्तै पाराले पार्टीमै बस्ने की नबस्ने भनेर पनि सोच्न बाध्य हुने निकटहरुलाई बताउने गरेका छन् ।

मन्त्री पदका लागि मरिहत्ते गर्ने गरेको आरोप पनि गजुरेललाई लाग्ने गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि आफूलाई मन्त्री नबनाए ज्यानै फाल्छुसम्म भनेर उनले भनेको चर्चा माओवादी वृतमा व्यापक रुपमा चल्ने गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार १५:४७   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।