काठमाडौं । नेपाली चलचित्र ‘दुई नम्बरी’ अब युएई, कतार, बहराइन र ओमानका विभिन्न सिनेमा हलहरूमा पनि प्रदर्शन हुने भएको छ । हाल नेपालमा प्रदर्शन भइरहेको चलचित्र आगामी अक्टोबर २० देखि युएई, कतार, बहराइन र ओमानका विभिन्न सहरमा रहेका करिब पाँच दर्जन पर्दामा ‘दुई नम्बरी’ एकसाथ प्रदर्शन गर्न लागिएको हो ।
रोजगारीको सिलसिलामा मध्यपूर्वमा रहेका नेपालीलाई लक्षित गर्दै मुख्य–मुख्य सहरमा चलचित्र एकैसाथ प्रदर्शन गर्न लागिएको रमेश ढकालले जानकारी दिए । ढकालले मध्यपूर्वका देशमा चलचित्र वितरण गरिरहेका छन् ।
निर्देशक दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको ‘दुई नम्बरी’मा दयाहाङ राई र सौगात मल्लका साथै अभिनेत्री उपासनासिंह ठकुरी, भुटानी अभिनेत्री उगेन छोदेन, अभिनेता बुद्धि तामाङ मुख्य भूमिकामा छन् ।
किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माता छन् । मिठु तामाङ्नी सहनिर्माताको रूपमा रहेको चलचित्रको निर्माता दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठ हुन् । चलचित्रलाई सुशन प्रजापतिले छायांकन एवं निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । चलचित्रको वितरणको जिम्मा नेपालमा आरआर फिल्म्सले लिएको छ ।





















प्रतिक्रिया