मतदाता सम्मान अभियानका क्रममा गाउँ घुमिरहेका नेपाली कांग्रेस महामन्त्री तथा झापा क्षेत्र न १ का नवनिर्वाचित सांसद विश्वप्रकाश शर्मालाई स्थानीयले कागती र खुर्सानीको माला लगाइदिएका छन् ।
मेचीनगर ९ लिलावस्तीबासीले शर्मालाई फूलको माला र खादासँगै कागती र खुर्सानीको माला लगाइदिएका हुन् ।
‘कसैको नजर नलागोस्’ भनेर कामना गर्नुपर्दा घरमा, गाडीमा या पसलमा कागती र खुर्सानीको माला झुण्ड्याउने चलन छ । यसो गर्दा कसैको पनि नकारात्मक दृस्टी निष्फल हुन्छ भन्ने जनविश्वास छ । अबको २५ वर्षसम्म कसैको नजर नलागोस् भनी स्थानीयले शर्मालाई माला लगाइदिएको उनको सचिवालयले जनाएको छ ।
कागती र खुर्सानीको माला लगाइदिएको लिलावस्ती शर्मालाई दुध खुवाएर बचाउने आमा देउकुमारी श्रेष्ठको गाउँ हो ।
विश्वप्रकाशलाई जन्म दिने आमा सावित्री शर्माको दुध सानो बच्चालाई अघाउने गरी नआएपछि छिमेकमा सुत्केरी रहेकी श्रेष्ठले डेढ वर्षसम्म उनलाई दूध खुवाएकी थिइन् । लिलावस्ती शर्मालाई शतप्रतिशत जस्तै मत हाल्ने गाउँका रूपमा चिनिन्छ ।




















प्रतिक्रिया