Logo

विचार / ब्लग

‘यथास्थितिवादी चिन्तनविरुद्ध उभिन आँट गर्ने गगन दाइलाई बधाई !’



झापा । परिवर्तनको चाहना स्वभाविक थियो । र पुस्ताण्तरणको सन्देशले राजनीतिमा नवीन आशा जागृत गर्ने सम्भाव्यताकै कारण हामीले आफ्नो पुस्ताको नेतालाई संसदीय दलको नेताका रुपमा देख्ने अपेक्षा राखेका थियाैं । राजनीति सम्भावनाको खेल भएकै कारण एउटा असामान्य सम्भाव्यताले जन्म लिने झिनाे आशालाई प्राप्त मत परिणामले निराशामा परिणत गरिसकेको छ ।

युगले माग्नु र दिनेले दिन नचाहनु दुई फरक बिषय हुन् । यी दुई कुराको तादम्यता मिल्न नसक्नुको पछाडि हाम्रो यथास्थितीवादी मानसिकतासँगैको हाम्रो हुर्काइ र सिकाई हो । लोकतन्त्रको सुन्दरता भनेकै निर्वाचित गराउन पाउने अधिकार हो । लोकतान्त्रिक विधिबाट स्थापित नतिजा नै अन्तत्वगत्वा सर्वस्वीकार्य हुन्छ ।

पक्ष र विपक्षको प्रतिस्पर्धात्मक पाटोले पूर्णविराम लिइसकेको छ । यस आन्तरिक प्रतिस्पर्धामा एक पक्षको गुण देखाउँदै गर्दा हामीले अर्को पक्षको अवगुणहरु केलाउनै पर्ने अथवा घुमाईफिराई अवगुणी कहल्याउनु पर्ने पूरातनवादी सोचलाई निकै नै हाबी गरायौं । पक्ष र विपक्षको दुई अलग-अलग धारमा रहेर कतिले आफ्नै नेतालाई निकृष्ट तहको कपोलकल्पित लान्छना लगाउन र विरोधका लागि विरोध गरेर विरोधी हुनुको धर्म निभाउन पछि परेनाैं ।

संसारभरकै राजनैतिक प्राणीमा सानो-तिनो दबाब-प्रभावमा तत्काल उत्तेजित, हतोत्साहित, असंयमित र अनियन्त्रित हुने, अतिरन्जना, अतिभावुकतामा केही नसम्झि बहकिने हामी नेपाली कांग्रेसका कार्यकर्ता पर्दछौं होला सायद ! सायद लामो समय सांगठनिक प्रशिक्षणको अभ्यास नगरेका कारण हामीमा यस्तो दूर्गुणहरु मौलाइरहेका छन् । त्यसको समाधान र निराकरण समीक्षाको फरक पाटो भएतापनि यसको अपरिहार्यता भने पक्कै छ ।

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि भएको निर्वाचनले पार्टी सभापति श्रद्धे नेतालाई दलकाे नेताका रुपमा पुर्नस्थापन गरेको छ । योसँगै आफ्नो जीवनकालको छेटौं पटक प्रधानमन्त्री बन्ने ढोका निर्वाचनमा सामेल सांसदहरुले उहाँका लागी खोलिदिनु भएको छ।

मुलुकमा लामो समय व्याप्त राजनैतिक संक्रमणकालिन परिस्थितिहरुको नेतृत्व अनुभव समेटेर जीवन यात्राको साढे सात दशकमा लम्किँदै गर्नुभएका सभापतिले आफ्नो लामो राजनैतिक अनुभव र प्रधानमन्त्रीकै रुपमा देश चलाएका थुप्रै तितामिठा अनुभव र ज्ञानका आधारमा मुलुकको समृद्धि, समुन्नतिदेखि सहज जीवनयापनसम्मका मद्दाहरुमा आफूलाई केन्द्रित गरी विगतका दिनहरुमा भन्दा बढी कौशलतासहित सफल र उदाहरणीय नेतृत्व दिनुहुनेछ भन्ने विश्वस्तता व्यक्त गर्दै, उहाँलाई हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु ।

साथै; कठोर चुनौतीका बाबजुद देशको प्रमुख कार्यकारी बागडोर सम्हाल्न र नेपाली कांग्रेसकाे अस्तित्व रक्षा तथा मुलकको विकराल अवस्था बदल्ने जिम्मेवारी लिन हाम्रो पुस्ता पनि सक्षम छ भन्ने सन्देश दिने आदरणीय गगन दाइका आत्मविश्वासपूर्ण सहभागीताले राजनीतिमा नवीन आशाहरुको विजारोपण गर्न सफल भएको छ । युवा पुस्ताको प्रतिनिधित्व गर्दै यथास्थितिवादी चिन्तनविरुद्ध उभिन सफल हुनुभएकोमा उहाँलाई पनि हार्दिक बधाई ! साथै, आगामी दिनमा थप सफलता र ‍नवीन उचाइको कामना गर्दछु । जय नेपाल !

प्रकाशित मिति : ६ पुष २०७९, बुधबार २०:२५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।