प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जेलमा रहेका रेशम चौधरीलाई दुई महिनाभित्रमा रिहा गर्ने आश्वासन दिएका छन् । प्रधानमन्त्री दाहालले यही पुष २६ गते विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको समर्थन लिन दाहालले यस्तो प्रस्ताव गरेका हुन् ।
उनीहरुबीच आज टेलिफोन वार्ता भएको जनाईएको छ । सो क्रममा सुदुरपश्चिम प्रदेशमा नेतृत्व दिनेबारे पनि दाहाल सकारात्मक बनेको सो दलका नेताहरुको दाबी छ । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाईको माग राखेको छ । चौधरीको रिहाई नभए विश्वासको मत पनि नदिने उसको अडान छ । तर, दाहालले भने दुई महिनाको समय माग गरेका छन् ।
सरकार बनाउनुअघि पनि दाहालले चौधरीसँग भेटवार्ता गरेका थिए । नागरिक उन्मुक्ति पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको छ । तर, सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रममा आफ्ना मागहरु समावेश नगरेको भन्दै सो दलले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ । उक्त दलले यस्तो निर्णय गरेपछि प्रधानमन्त्री दाहालले रेशमसँग फोनवार्ता गरेको बुझिएको छ ।




















प्रतिक्रिया