क्रिकेटर सन्दीप लामिछाने आज धरौटीमा रिहा हुँदैछन् । उच्च अदालत पाटनले विहिबार लामिछानेलाई सर्तसहित धरौटीमा छाड्न आदेश दिएको हो ।
लामिछानेलाई पुर्पक्षका लागि जेल पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै उच्च अदालत पाटनले विभिन्न सर्तसहित २० लाख धरौटीमा थुनाबाट छाड्न आदेश दिएको हो ।
न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको बिहीबारको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । इजलासले मुद्दाका सन्दर्भमा पीडितको बकपत्र भइसकेको, प्रमाणहरू बुझिसकेको लगायतका कारण लामिछानेलाई थुनामा राख्नु नहुने व्याख्या उच्च अदालतले गरेको छ ।
इजलासको आदेशमा भनिएको छ, ‘‘ यी प्रतिवादीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्न उपयुक्त नदेखिएकोले तहाँ अदालतबाट मिति २०७९र७र १८ मा भएको आदेशलाई बदर गरिएको छ ।’ मुद्दाको फैसला हुँदाका बखत ठहरिएबमोजिम हुनेगरी हालको अवस्थामा फौजदारी कार्यविधि संहिताको दफा ७२ मा उल्लिखित मापदण्डअनुसार २० लाख धरौटी लिएर लामिछानेलाई जेलबाट छाड्न आदेश भएको छ ।
धरौटीमा रिहा भए पनि लामिछाने केही सर्तको अधीनमा बस्नुपर्ने उच्च अदालतको आदेश छ । जसमा मुद्दाको फैसला नभएसम्म लामिछाने नेपालबाहिर जान पाउने छैनन् ।
इजलासले लामिछानेका नाममा जारी भएको राहदानी रोक्का गर्न र विदेश जानबाट रोक लगाइएको आदेश कार्यान्वयन गर्न यथाशीघ्र नेपाल सरकार गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयमा लेखी पठाउन आदेश गरेकाले उनले देश बाहिर जान पाउनेछैनन् । त्यस्तै उनले काठमाडौं उपत्यका छाड्न पनि प्रशासनको अनुमती लिनुपर्नेछ ।




















प्रतिक्रिया