Logo

कर्पोरेट टक

बैंकको कर्जा उत्पादनशील क्षेत्रमा जान सकेन : बैंकर ज्ञवाली



बैंकर मनोज ज्ञवालीले बैंक तथा वित्तीय क्षेत्रको कर्जा उत्पादनशील क्षेत्रमा जान नसकेको बताएका छन् । आर्थिक मिडिया सञ्चालक सङ्घ नेपाल (इमान) ले बुधबार काठमाडौँमा आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानका उपाय विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

दश वर्षअघि नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) सँग कर्जा प्रवाहको अनुपात ४६ प्रतिशत रहेकोमा अहिले त्यो बढेर ९६ प्रतिशत रहेको उल्लेख गर्दै ज्ञवालीले कर्जा प्रवाहको तुलनामा जीडीपीको आकार बढ्न नसक्नु चिन्तापूर्ण विषय रहेको बताए ।

“अहिले जुन गतिमा कर्जा प्रवाह भइरहेको छ त्यही अनुपातमा जीडीपी बढ्न सकेको छैन”,उहाँले भन्नुभयो, “यसमा व्यवसायी र बैंकिङ क्षेत्र दुवै जिम्मेवार छन् ।”

त्यस्तै, अहिले बैंक तथा वित्तीय संस्था तरलता अभावका कारण आफैं समस्यामा रहेका बताउँदै ज्ञवालीले उनीहरूले गरेको लगानीको तुलनामा प्रतिफल न्यून रहेको उल्लेख गरे ।

सरकारले पूँजीगत खर्च बढाउने, आन्तरिक उत्पादन बढाएर आयात घटाउने, मानव पूँजी विदेशिन रोकेर स्वदेशमै रोजगारीको सिर्जना गर्नेलगायतका विषयमा अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने पनि ज्ञवालीको भनाइ छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार ११:०५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।