पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नियम भए पनि मुख्यमन्त्री र मन्त्रीहरुले सार्वजनिक नगरेकोप्रति प्रश्न उठेपछि मुख्यमन्त्री अधिकारीले शुक्रबार विवरण सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री अधिकारी पुस २५ नियुक्त भएका हुन् ।
मुख्यमन्त्री अधिकारीसँग पोखरा–१२ शान्ति टोलमा पहिला ८० लाख किनेको २ करोड रुपैयाँ पर्ने ६ आना जग्गामा घर छ । मुख्यमन्त्री अधिकारीको श्रीमतीको नाममा जग्गा, रिसोर्ट भएको देखिएको छ । मुख्यमन्त्री अधिकारीले जन्मस्थान बेगनासमा पैतृक सम्पत्तीको रुपमा जग्गा रहेको बताएका छन् । अंशबण्डाबापछि प्राप्त भएको उक्त जग्गाको कित्ता र क्षेत्रफल स्पष्ट रुपमा अधिकारीले राखेका छैनन् ।
स्वआर्जनका रुपमा १५ लाख रुपैयाँ कमाएको अधिकारीले खुलाएका छन् । अंशबण्डाबाट ३ तोला सुन भागमा आएको देखाइएको छ। अधिकारीले बैंक तथा वित्तीय संस्थामा १० लाख रुपैयाँ मौज्दात देखाएका छन् । गण्डकी विकास बैंकमा २ लाख ४९ हजार ७ बराबरको अधिकारीको रहेको देखाइएको छ।
अधिकारीले व्यक्तिसँग ३५ लाख ऋण लिएर १० लाख रुपैयाँ तिरेको उल्लेख गरेका छन । गाडीको रुपमा अधिकारीसँग ५० लाख रुपैयाँको स्कोरपियो छ ।कृषिबाट वार्षिक ६ लाख रुपैयाँ आम्दानी हुने अधिकारीले बताएका छन् । अधिकारी पत्नी पाण्डेले काठमाडौंको चन्द्रागिरीमा बैंकबाट ८० लाख रुपैयाँ ऋण लिएर घडेरी खरिद गरेको अधिकारीले बुझाएको विवरणमा खुलाइएको छ । अग्रगामी कृषि फर्मको साढे १६ लाख सम्पत्ती श्रीमती पाण्डेको नाममा देखाइएको छ । चितवन फिस रिसोर्टमा २० लाख लगानी अधिकारीको रहेको छ ।
अधिकारी श्रीमती रमा पाण्डे प्रावि दरबन्दीको शिक्षक भएका अधिकारीले खुलाएका छन्। मुख्यमन्त्री अधिकारीले ९ गते विश्वासको मत लिँदै छन् । गत चैत १० गते माओवादीले सरकारबाट समर्थन फिर्ता दिँदै मन्त्री हरिबहादुर चुमान र रेमशबहादुर जुग्जालीले राजीनामा दिएका छन् ।
सरकार अल्पमतमा परे पनि मुख्यमन्त्री अधिकारीले २९ औं दिनमा संसदमा विश्वासको मत लिन अधिवेशन डाकिएको छ । मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने अवस्था छैन । ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सदस्यीय कांग्रेस र माओवादीको ७ सदस्य (सभामुखबाहेक) मिलेर सरकार बनाउन बहुमत पुग्छ ।
अहिले खगराज नेतृत्वको सरकारमा २ सदस्यीय राप्रपा पनि छ । खगराज सरकार ढलेसँगै कांग्रेसका सुरेन्द्रराज मुख्यमन्त्री बन्ने तयारी गरिरहेका छन् ।




















प्रतिक्रिया