Logo

जनप्रतिनिधि

अव्यवस्थित तार व्यवस्थापन गर्न असहयोग गरियो : मेयर बालेन



काठमाडौं । महानगरका मेयर बालेन्द्र साह उर्फ बालेनले अव्यवस्थित इन्टरनेट, केबललगायतका तार व्यवस्थापन गर्न कुनै पनि निकायले सहयोग नगरेको भन्दै खेद व्यक्त गरेका छन् ।

उनले अव्यवस्थित तारकै कारण विभिन्न समयमा आगलागीका घटना बढेको भन्दै तार व्यवस्थापन गर्न सूचना समेत जारी गरेका थिए । तर उक्त सूचनाअनुसार सरकारी निकायहरुले समन्वय र सहयोग नगरेको भन्दै बालेनले खेद व्यक्त गरेका छन् । इन्टरनेट व्यवसायीहरु आफैँले तार व्यवस्थित गर्नुपर्ने भन्दै विभिन्न समयमा दबाब समेत भइरहेको छ । तर इन्टरनेट व्यवसायीहरुले समेत यसमा कुनै पहल गरेकाे पाइएको छैन ।

विद्युत प्राधिकरणले पनि एक वर्षअघिदेखि इन्टरनेटलगायत केबलका तारहरु बिजुलीको पोलमा अव्यवस्थित गरी राखेको भन्दै हटाउन निर्देशन दिएको थियो । तर इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले तार व्यवस्थापन गरेनन् । विद्युत प्राधिकरणले त्यसपछि तार आफ्नै जनशक्ति लगाएर काट्न सुरु गरेको थियो । इन्टरनेट प्रदायक कम्पनीहरुले अदालतमा रिट दायर गरेपछि विद्युत प्राधिकरण पनि यसमा पछि सरेको हो ।

अहिले मेयर बालेनले काठमाडौंका क्षेत्रमा अव्यवस्थित तार व्यवस्थापन गर्न १५ दिने सूचना जारी गरेका थिए । तार नहटाए नगर प्रहरी लगाएर तार काट्ने भन्दै उनले चेतावनीसहितको सूचना जारी गरेका थिए । तर उनको सूचनालाई पनि अदालतको आदेशले धक्का दिएको छ। अव्यवस्थित तारकै कारण विभिन्न समयमा आगलागीका घटनाहरु बढीरहे.का छन् ।

बालेनले लेखेका छन्, ‘शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले शहरलाई अव्यवस्थित बनाएका छन् भने आगलागीको जोखिम पनि बढाएका छन् । गतबर्षमात्रै अव्यवस्थित तारहरुको कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांक छ ।

यसलाई व्यवस्थित बनाउन, एकिकृत विकासका लागि सम्बन्धित कानुन बनाउन आग्रह गरेको धेरै भइसकेको थियो । त्यसतिर कुनै सुनुवाइ नभएर हामीले १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेका थियौँ । यसबिच पनि यो समस्या सुनुवाइ होला भन्ने आश थियो तर त्यसको विपरित त्यो तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भयो ।

समस्यालाई यथावत राखेर हामीले व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न सक्दैनौँ । आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाण्डौ महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर छ । शहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाको लागि हामी क्रियाशील छौँ । यसमा कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुगेमा हामी खेद प्रकट गर्दछौ ।’

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार ११:४६   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।